चुनावैपिच्छे बदर मतको प्रतिशत बढ्दो, घटाउन निर्वाचन आयोग यसपालि के गर्दै छ

तस्बिर स्रोत, RSS
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
आउँदो फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा बदर मतको प्रतिशत विगतभन्दा कम गर्न यस पटक डिजिटल मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी फरक ढङ्गले कार्यक्रम गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।
विगतका तीनवटा निर्वाचनमा बदर मतको प्रतिशत क्रमशः बढेकाले यस पटक डिजिटल मतदाता शिक्षालाई प्राथमिकता दिइने गरी सामग्री बनिरहेका आयोगले जानकारी दिएको छ।
सहरी क्षेत्रकै मतदाताले कतिपय अवस्थामा जानाजान मत बदर गरिदिने गरेको जानकारहरूले बताइरहँदा आयोगले त्यसलाई पनि मतदाता शिक्षा कार्यक्रममा ध्यान दिन लागिएको बताएको छ।
विगतमा भएका २०७०, २०७४ र २०७९ को चुनाव हेर्दा बदर हुने मतको प्रतिशत प्रत्येक पटक बढ्दै गएको आयोगको तथ्याङ्कले देखाउँछ।
चुनावमा आम मतदाताको सहभागिता बढाउन र बदर मतको सङ्ख्या कम गर्ने मतदाता शिक्षा विशेष कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोगले जनाएको छ।
आयोगले सोमवार मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेसँगै अब फागुन ३ गतेबाट यसका लागि घरघर जाने कार्यक्रम रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।
यो कार्यक्रमअन्तर्गत आयोगले देशभरिका नगरपालिका तथा गाउँपालिकाका ६,७४३ वडामा फागुन
३ गतेदेखि १७ गतेसम्म एक-एक मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने योजना बनाएको छ।
तथ्याङ्कले के देखाउँछ?

तस्बिर स्रोत, RSS
विसं २०४८ सालयता भएका निर्वाचनमा सबैभन्दा धेरै पछिल्लो पटकको २०७९ सालको चुनावमा ५.१९ प्रतिशत मत बदर भएको थियो। त्यस्तै सबैभन्दा कम भने २०५६ सालमा भएको निर्वाचनमा २.७५ प्रतिशत मात्रै भएको थियो।
विसं २०७० सालको चुनावमा ७८.३४ प्रतिशत मत खसेको थियो र त्यति बेला बदर मत जम्मा ४.९६ प्रतिशत थियो।
यसअघि २०७९ को चुनावमा भने जम्मा ६१.६३ प्रतिशत मत खस्दा ५.१९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।
त्यसअघि २०७४ सालमा भएको चुनावमा ६८.६७ प्रतिशत मत खस्दा ५.१६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।
"औसत रूपमा हेर्दा विगतका चुनावमा ६५ प्रतिशत मतदान खसेको र करिब ५ प्रतिशत बदर भएको देखिन्छ," निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए।
निर्वाचन आयोगका अनुसार धेरै मत बदर हुने जिल्लामा बाँके, रोल्पा, सल्यान र जाजरकोट रहेका थिए। ती जिल्लामा करिब ७ प्रतिशत देखि ९ प्रतिशतसम्म मत बदर भएका थिए।
त्यस्तै कम मत बदर भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला र भक्तपुर रहेका थिए। ती जिल्लामा ०.३९ प्रतिशतदेखि २.८५ प्रतिशतसम्म मद बदर भएको देखिन्छ।
मत खसाल्दा कस्ता गल्ती?

तस्बिर स्रोत, RSS
भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल विभिन्न कारणबाट मत बदर हुने गरेको देखिएको बताउँछन्।
विसं २०६४ साल ताका चुनावमा मतदाता शिक्षाका लागि खर्च बढाइरहँदा मत बदर पनि बढिरहनु अनौठो हुँदै गएको उनी बताउँछन्।
"एउटा ज्ञानको अभावमा पनि मत बदर भइरहेको छ। छाप ठाउँमा नपर्ने, दुईतिर पर्ने अथवा लतरपतर हुने जस्ता जानकारीका कारणले भएको छ," पोखरेलले भने।
"चुनावमा दलहरू गठबन्धन गरेर जाँदा पनि कतिपय ठाउँमा मतदाताले आफ्नो दलका उम्मेदवारलाई भोट नै दिन पाएनन् वा कतिपयलाई उम्मेदवार नै मन परेन भने पनि मत बिगारिदिन्छु भनेर त्यसो गरेको पनि हुन सक्छ।"
विगतका मतपत्र हेर्दा काठमाण्डूलगायत सहरी क्षेत्रमा पनि उल्लेख्य सङ्ख्यामा मत बदर हुने गरेको देखिन्छ।
निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार सहरी क्षेत्रमा सरदर ४ देखि ५ प्रतिशत मत विगतका चुनावमा बदर हुने गरेको थियो।
ती मतपत्र बदर हुनुमा मतपत्रमा छाप लगाउन नजान्नु मात्रै नभई आशययुक्त तरिकाले बदर गरेको हुन सक्ने निर्वाचनमा महिलाहरूको उम्मेदवारीबारे अध्ययनरत लैङ्गिक मामिला विज्ञ सरू जोशीले बताइन्।
"हालसालै भएको राष्ट्रिय सभा चुनावमा मेयर, उपमेयर र सांसदले मत खसाल्दा पनि करिब पाँच प्रतिशत मत बदर भएको छ।"
कतिपयले उम्मेदवार चित्त नबुझेका कारण वा विगतमा चुनावी गठबन्धन हुँदा आफूले चाहेको दलका उम्मेदवारलाई मत दिन नपाउँदा पनि मत बदर भएको देखिएको उनले बताइन्।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन के गर्नुपर्छ?

तस्बिर स्रोत, RSS
मत कम बदर हुने गरी मतदाता शिक्षा दिने काम केवल मतदानको बेला मात्रै नभई निरन्तर गरिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
"मतदाता शिक्षा भनेको नागरिक शिक्षासँग जोडिएको छ। चुनावको दुईतीन हप्ताअघि गरिने मतदाता शिक्षामात्रै पर्याप्त हुँदोरहेनछ। यो निर्वाचन आयोगको मात्रै होइन, राजनीतिक दलहरूको पनि जिम्मेवारी हो," भूतपूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले भने।
त्यसबाहेक स्थानीय भाषामा पनि मतदान शिक्षा पुर्याउनुपर्नेमा पोखरेलले जोड दिए।
यसपालि मतदान कसरी गर्ने भन्नेमा मात्रै सीमित नभई आशययुक्त रूपमा मद बदर नहोस् भन्ने हिसाबले मतदाता शिक्षा कार्यक्रम लगिने निर्वाचन आयोगले जनाएको छ।
"मतदान गर्दा यस्ता खालका गतिविधि नगरिदिनुहुन अनुरोध गर्ने खालका सन्देश र सामाग्रीहरूलाई हामी बनाउँदैछौँ," सूचना अधिकारी घिमिरेले बताए।
"विगतमा कागजमा बढी फोकस गर्थ्यौँ भने अहिले स्वयंसेवकहरू मतदाता शिक्षा लिएर जाँदा हाम्रा सामाजिक सञ्जालहरूलाई फलो, लाइक र सब्स्क्राइब गर्न भन्नुहुन्छ ताकि हाम्रा पेजका विश्वसनीय सामग्रीहरू हेर्न सक्नुहोस् र गलत सूचना नपुगोस्।"
सकेसम्म प्रत्येक मतदाताकै घरमा पुग्ने कार्यक्रम रहे पनि सम्भव नभएका ठाउँमा मानिसहरू भेला गरेर टोलटोल र सामुदायिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरेर विद्यार्थीमार्फत् आफ्ना आमाबुवालाई सिकाउने काम पनि गरिने आयोगले जनाएको छ।
यसपालिको मतदान शिक्षा कार्यक्रममार्फत् मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत र भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिइने आयोगका सूचना अधिकारी घिमिरेले बताएका हुन्।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन खास गरी घरदैलो तथा विद्यालयस्तरका कार्यक्रमका लागि एक एक जना स्वयंसेवक परिचालन गर्ने र आमसञ्चार र सामाजिक सञ्जालबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले मङ्गलवार जारी गरेको विज्ञप्तिमा जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















