मतपत्र छपाइ कति सकियो, निर्वाचन क्षेत्रमा कहिले पुग्छ

मतदान केन्द्रमा पठाउन दाङको घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा अनुसूची फाराम मिलाउँदै कर्मचारी

तस्बिर स्रोत, RSS

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फागुन पहिलो साताभित्र निर्वाचन क्षेत्रहरूमा मतपत्र पुगिसक्ने गरी छपाइको काम भइरहेको बताएका छन्।

फागुन २१ गते हुने भनिएको चुनावका लागि मतपत्र छपाइको काम अब दुईतीन दिनभित्र सकिसक्ने गरी काम भइरहेको भन्दै त्यसलगत्तै मतपत्रहरू ढुवानीको काम थालिने उनले बताए।

जनक शिक्षा सामाग्री केन्द्रमा काम धमाधम भइरहेको र अहिले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारअनुसार विभिन्न सात वटा आकारमा मतपत्रहरू रहेको पनि आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फको मतपत्र छापिइसकेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको थियो।

फागुन २१ मा चुनाव सम्पन्न भएपछि त्यसको तीन दिनभित्र प्रत्यक्ष प्रणालीतर्फ सबै मतगणना भइसक्ने आयोगको दाबी छ।

कति मतपत्र छपाइ सकियो, कति बाँकी छ?

प्रधानमन्त्री सुशीला कार्की र कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी

तस्बिर स्रोत, RSS

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार सोमवारसम्म ४४ वटा जिल्लाका मतपत्र छपाइ र प्याकिङ सकिएको छ।

प्रत्यक्ष प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा सोमवारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छापिइसकेको उनले बताए।

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सकेपछि गत माघ १६ गतेबाट प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छाप्न सुरु गरेको थियो।

"सोमवार मोरङ, उदयपुर, मुस्ताङ, तनहुँ, लमजुङ, स्याङ्जा र बर्दियालगायतका जिल्ला थपिएपछि अहिलेसम्म ४४ जिल्लाको छपाइ र प्याकिङ सकिएको छ," सहायक प्रवक्ता जीसीले भने।

"जम्मा १६५ मध्ये १०० वटा निर्वाचन क्षेत्रको छपाइ सकिएको छ। मोटामोटी माघ महिनाभरि छपाइ सकिन्छ भन्ने छ।"

यसअघि निर्वाचन आयोगले फागुन ४/५ गतेसम्म छपाइका लागि समय लाग्ने अनुमान गरे पनि त्यो भन्दा अगाडि नै काम सकिने देखिएको सहायक प्रवक्ता जीसीले बताए।

"अहिले दिनको सरदर १३ लाख मतपत्र छपाइ भइरहेको छ। अब सरासर काम भयो र कुनै प्राविधिक समस्या भएन भने १/२ गतेसम्म सकिन्छ।"

फागुनको पहिलो साताभित्र मतपत्र ढुवानी र अन्य निर्वाचन सामग्री ढुवानीको काम गरिने उनले बताए।

गत साता प्रधानमन्त्री सुशीला कार्की प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छपाइ प्रक्रियाको काम हेर्न जनक शिक्षा सामाग्री केन्द्र पुगेकी थिइन्।

प्रधानमन्त्री कार्कीसँगै केन्द्र पुगेका आयोगका कार्यवाहक प्रमुखले अब दुईतीन दिनभित्रमै मतपत्र छपाइ सकेर निर्वाचन क्षेत्रहरूमा पठाउन थालिने बताएका छन्।

"अबको दुईतीन दिनमा मतपत्र छपाइ सकेर फागुन पहिलो सातासम्ममा सबै ठाउँमा मतपत्र पुगिसक्छ," भण्डारीले भने।

मतपत्रको आकार र गुणस्तर कस्तो?

नमुना मतदान

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानमा भएको नमुना मतदान

विगतमा कतिपयले मतपत्रको आकार र प्रयोग हुने मसीको गुणस्तरबारे प्रश्न गर्ने गरेका थिए।

यस पटक मतपत्र कत्रो र कस्तो गुणस्तरको हुन्छ भन्ने प्रश्नको सङ्क्षिप्त जवाफ दिँदै भण्डारीले भने, "मतपत्र सानो र छरितो हुन्छ, ट्याक्क छाप लगाउन पाइने हुन्छ।"

आयोगले निर्धारण गरेअनुसार समानुपातिक प्रणालीको मतपत्र सेतो पृष्ठभूमिको कागजमा कालो मसीले चिह्न राखिएको र प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो मसी रहेको हुने बताइएको छ।

"विगतका गुनासालाई समेत समीक्षा गर्दै यस पटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ दुईवटा मात्रै रङ्ग छन्। त्यसैले विगतमा जस्तो गुनासो नआउनुपर्ने हो," सहायक प्रवक्ता जीसीले भने।

मतपत्रमा मतदाता नझुक्किऊन् भनेर नमुना मतपत्र पनि जिल्लाजिल्ला पठाइसकेको आयोगले जनाएको छ।

आयोगले १० लाख ९८ हजार नमुना मतपत्र छापेर सबै निर्वाचन क्षेत्रमा यसअघि नै पठाइसकेको थियो।

"अब त्यही नमुना मतपत्र प्रयोग गरेर स्वयंसेवकमार्फत् मतदाता शिक्षा पनि फागुन ३ गतेदेखि लागु हुँदै छ," उनले भने।

निर्वाचन आयोगले उम्मेदवारको सङ्ख्याअनुसार विभिन्न मतपत्रका आकार तय गरेको जनाएको छ।

"सात आकारका मतपत्रहरू छन्। निर्वाचन क्षेत्रमा उम्मेदवारका सङ्ख्याबमोजिमका मतपत्रका आकार हुन्छन्," उनले भने।

मतगणना कहिले सम्पन्न भइसक्ला?

मतदानका लागि आवश्यक विभिन्न सामग्रीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दैनिक १३ लाख मतपत्र छपाइको काम भइरहेको आयोगले जनाएको छ

यसपालि मतदान सम्पन्न भएको तीन दिनभित्र प्रत्यक्षण प्रणालीतर्फको मतगणना गरी सकिने अनुमान आयोगले गरेको छ।

त्यसको मतलब फागुन २४ गतेभित्र सबै क्षेत्रको मतपरिणाम आइसक्छ?

"तीन दिनभित्र सबै परिणाम आइसक्छ," सङ्क्षिप्त प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख भण्डारीले भने।

मतपेटिकाहरू जिल्ला सदरमुकाममा अथवा सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पुर्‍याइसकेपछि सर्वदलीय बैठकपछि मतगणना सुरु हुने अभ्यास रहेको छ।

"कुनै मौसमी चुनौती भएन, भौगोलिक चुनौती भएन भने २४ गतेसम्म लगभग प्रत्यक्षतर्फको सबै सकिन्छ भन्ने अनुमान छ," सहायक प्रवक्ता जीसीले भने।

एक मतदातालाई समानुपातिक र प्रत्यक्षतर्फ मतपत्र लगायत कति खर्च लाग्छ भन्ने कुरा भने चुनावपछि मात्रै निस्किने आयोगले जनाएको छ।

"त्यो त अहिले निस्किँदैन। त्यहाँबाट बिल आउनुपर्‍यो। हामीले बिल पेमेन्ट गर्नुपर्‍यो। त्यो हिसाब निस्किन समय लाग्छ। चुनाव पछि होला," कार्यवाहक प्रमुख भण्डारीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।