इरानी बन्दरगाहमा सोमवारदेखि अमेरिकाको 'नाकाबन्दी', इरान 'नझुक्ने' अडानमा

पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिकी सेनाले सोमवारबाट इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्न सुरु गरिने जनाएको छ। उक्त नाकाबन्दी अमेरिकाको पूर्वीय समयानुसार सोमवार १०:०० (१४:०० जीएमटी) बजेदेखि सुरु हुने बताइएको छ।

यद्यपि होर्मुज जलमार्ग हुँदै अन्य देशबाट आवतजावत गर्ने पानीजहाजहरूलाई "बाधा नपुर्‍याउने" भनिएको छ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा अमेरिकी जलसेनाले उक्त महत्त्वपूर्ण जलमार्ग प्रवेश गर्न वा बाहिर निस्किन खोज्ने जहाजहरूलाई नाकाबन्दी गर्ने जनाएका थिए।

आइतवार राति संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरान वार्तामा नफर्किए पनि आफूलाई "आपत्ति नभएको" बताएका छन्। "मलाई उनीहरू आउँछन् कि आउँदैनन् भन्ने मतलब छैन। आएनन् भने पनि ठिकै छ," उनले भने।

अमेरिका र इरानबीचको युद्धविराम "राम्ररी कायम भइरहेको" पनि ट्रम्पले बताए।

तर पाकिस्तानमा आयोजित अमेरिका-इरान शान्तिवार्ता विफल भएपछि उत्पन्न तनावका कारण तेलको मूल्य फेरि १०० डलर प्रतिब्यारल नाघेको विवरणहरू आएका छन्।

इस्लामाबाद वार्ताबाट परिणाम नआएपछि ट्रम्पले इरानमा हवाई आक्रमण पुनः सुरु गर्नेबारे विचार गरिरहेका विवरणहरू सार्वजनिक भएका छन्।

नाम उल्लेख नगरी अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्री ट जर्नलले प्रकाशित गरेको विवरणमा आइतवार घोषणा गरिएको नाकाबन्दीसहितका अन्य उपायहरूसँगै आक्रमणबारे पनि ट्रम्पले विचार गरिरहेको उल्लेख गरिएको छ।

बीबीसीले उक्त रिपोर्टबारे गरेको प्रश्नमा ह्वाइट हाउसले सबै विकल्पहरू खुला रहेको प्रतिक्रिया दियो।

इरानको प्रतिक्रिया

इरानले उक्त जलमार्गमा आउने कुनै पनि सैन्य जहाजहरूमाथि "कडा व्यवहार गरिने" बताएको छ। इरानी संसद्का सभामुखले तेहरान "धम्कीका सामु नझुक्ने" बताएका छन्।

हालै इरानी विदेशमन्त्री अब्बास अराग्चीले पाकिस्तानमा शान्तिवार्ताको क्रममा अमेरिका र इरान सम्झौतामा पुग्न "केही इन्च मात्रै टाढा" रहेको बताएका थिए।

तर त्यसपछि तेहरानले "अतिवाद, बदलिँदा लक्ष्य र नाकाबन्दी" को सामना गर्नुपर्ने स्थिति आयो।

त्यस्तै पाकिस्तानमा भएको वार्तामा इरानी पक्षको नेतृत्व गरेका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी निर्णयको खिल्ली उडाउँदै सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा लेखेका छन् : "तेलको अहिलेको मूल्यको आनन्द लिनुहोस्। तथाकथित 'नाकाबन्दी'सँगै चाँडै नै तपाईँलाई ४-५ डलरको पेट्रोलको याद आउने छ।"

शान्तिवार्ता विफल हुनुका कारणबारे अमेरिकी र इरानी पक्षले फरकफरक विवरण दिइरहेका छन्।

"अमेरिकाका अनुचित मागहरू" ले युद्ध अन्त्य गराउने वार्तालाई विफल बनाइदिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ भने अमेरिकी पक्षले वार्तामा आफूहरू "लचिलो" र "सहयोगी" भए पनि प्रगति हासिल गर्न नसकिएको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।