साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरब

तस्बिर स्रोत, AFP

    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको विवरण प्राप्त भएको छ।

जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए।

अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।

घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरु गरेका छन्।

रोएटर्स समाचारसंस्थाले साउदी अरबको सरकारी समाचारसंस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा सुरुमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ।

"जेद्दामा अमेरिकी वाणिज्य दूतावास भवनबाहिर एउटा कारमा आएका एक व्यक्ति रोकिए र हातमा बन्दुक बोकेर बाहिर निस्किए। सुरक्षा अधिकारीहरूले आवश्यकतानुरूप उनलाई रोक्न पहल गरे अनि गोली हानाहान हुँदा उनको मृत्यु भयो," मक्का क्षेत्रका प्रहरी प्रवक्ताले बताए।

red line

यो पनि पढ्नुहोस्-

red line

नेपाली अधिकारीहरू के भन्छन्?

साउदी अरब

जेद्दास्थित नेपालको महावाणिज्य दूतावासका अनुसार उक्त घटनाबारे हालसम्म आधिकारिक रूपमा सूचना प्राप्त हुन सकेको छैन।

‘‘[बुधवार साँझ] ६ः४५ मिनेट घटना भएको भनिएको छ। विस्तृत विवरण केही पनि छैन। नेपाली सुरक्षागार्ड मात्र भनिएको छ। परिचय, ठेगाना केही पनि खुलाइएको छैन," जेद्दास्थित नेपालको महावाणिज्य दूतावासका अधिकारी भुवन पौडेलले बीबीसीसँग भने।

इदका कारण साउदी विदेश मन्त्रालय बन्द रहेकाले आधिकारिक रूपमा सूचना प्राप्त गर्न समय लाग्ने अवस्था देखिएको छ।

अमेरिकी वाणिज्य दूतावासमा कार्यरत सुरक्षागार्ड रहेकाले सनाखत गर्न कठिन भने नहुने पौडेल बताउँछन्।

"उहाँको परिचय अमेरिकी वाणिज्यमा काम गर्ने भनेपछि सबै विस्तृत विवरण भइहाल्छ। हामीलाई आधिकारिक विवरण अब विदेश मन्त्रालयबाट आउँछ," उनले भने।

पौडेलका अनुसार नेपाली कामदारहरूका लागि साउदी अरब तुलनात्मक रूपमा सुरक्षित श्रमगन्तव्य मानिन्छ।

तर तलब दिने वा काम छाड्दा सहज रूपमा साउदी अरबबाट निस्किने अवस्था हुँदा भने कम्पनीहरूले केही समस्या गर्ने गरेको र बेला बखत त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गर्नुपर्ने परिस्थिति उत्पन्न हुने गरेको उनी बताउँछन्।

पहिला पनि आक्रमणको निसानामा परेको थियो वाणिज्य दूतावास

विगतमा पनि अमेरिकी वाणिज्य दूतावासमा आक्रमण वा आक्रमणका प्रयासहरू भएका थिए।

रोएटर्सका अनुसार सन् २०१६ मा उक्त भवननजिकै भएको एउटा बम विस्फोटनमा दुईजना आत्मघाती आक्रमणकारीहरूको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए।

सन् २००४ मा बम र बन्दुक बोकेका पाँच जनाले उक्त भवनभित्र धावा बोलेका थिए। त्यस क्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र चार कर्मचारीको मृत्यु भएको थियो।

रोएटर्सका अनुसार तीन आक्रमणकारीको पनि ज्यान गएको थिए भने दुई जना पक्राउ परेका थिए।

उक्त घटनापछि साउदी अरबमा विभिन्न देशसँग सम्बन्धित कार्यालयहरू भएका स्थानमा पटकपटक घातक आक्रमणहरू भए।

त्यतिबेला ती आक्रमणहरू अल-कायदाले गराएको ठानिएको थियो।

red line
red line

साउदी अरब: नेपालीका लागि लोकप्रिय गन्तव्य

वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।

खाडी राष्ट्रमध्येमा पनि म्यानपावर कम्पनीमार्फत् नेपालीहरू सबैभन्दा बढी साउदी अरब जाने गरेको पाइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘नेपाल लेबर माइग्रेशन रिपोर्ट २०२२’का अनुसार सन् २०२१-२२मा साउदी अरबमा काम गर्नका लागि १,२५,३६८ जनाको श्रमस्वीकृत वा श्रमस्वीकृति नवीकरण भएको थियो।

उक्त सङ्ख्यामा जम्मा २०८ जना महिला छन्।

वैदेशिक रोजगारी

तस्बिर स्रोत, Getty Images

कोभिड-१९ महामारीका कारण सन् २०२०-२१ मा साउदी अरब जानका लागि श्रमस्वीकृति लिने वा नवीकरण गर्न आउनेको सङ्ख्या २३,३१९ रहेको प्रतिवेदनमा उल्लेख छ।

साउदी अरबपछि कतार, यूएई, कुवेत र मलेशिया नेपालका लागि प्रमुख श्रम गन्तव्यमा पर्छन्।

त्यसपछि म्यानपावर कम्पनीमार्फत् धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान र क्रोएशिया पर्छन्।

साउदी अरबमा नेपालीहरू कस्तो काम गर्छन्

साङ्केतिक तस्बिर
तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

साउदी अरबमा धेरै नेपालीहरू मजदुरका रूपमा काम गर्छन्।

त्यसैगरी कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली साउदी अरबसहित विभिन्न खाडी मुलुकमा काम गर्छन्।

प्रतिवेदनले साउदी अरब, कतार र कुवेत जाने नेपालीहरूले भने प्रायः मजदुरी गर्ने गरेको उल्लेख छ। त्यसबाहेक त्यहाँ नेपालीहरूले सरसफाइ र लुगा धुने काम गर्ने गर्छन्।

म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा वेटर र कुकको काम गर्न पनि गएको पाइन्छ।

यद्यपि त्यो सङ्ख्या विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको जानकारहरू बताउँछन्।

नेपाल, भारत र अन्य देशमा प्रहरी वा सेनामा काम गरेका नेपालीहरू विदेशी सुरक्षा कन्ट्र्याक्टरमार्फत् विभिन्न देशका कूटनीतिक नियोगहरूमा सुरक्षागार्डको काममा पनि जाने गरेको पाइन्छ।

श्रमस्वीकृति दिँदा भेडाबाख्रा चराउने, भान्सामा काम गर्ने, घरेलु कामदार वा हतियार चलाउनुपर्ने सुरक्षागार्डसहित जुनसुकै पेसाका लागि नेपालमा एउटै मापदण्डलाई आधार मानिने हुँदा यस्ता किसिमका घटनामा नेपालीहरू पर्ने गरेको जानकारहरू बताउँछन्।

"हतियार चलाउनुपर्ने, सुरक्षागार्ड भएर बस्ने वहाँहरूको बेग्लै मापदण्ड र स्वीकृतिको प्रक्रिया हुनुपर्ने हो," वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ गुरुङले भने।

साउदी अरबमा जस्तै धेरै घटना इराक र अफगानिस्तानमा विगतमा घटेको उनी बताउँछन्।

वैदेशिक रोजगारमा एजेन्ट वा व्यक्तिगत स्वीकृति लिएर जाँदा सुरक्षा संयन्त्र वा मापदण्डअन्तर्गत रहेर नपठाइने हुँदा ज्यादै खतराको स्थितिमा पठाइँदा यस्तो घटना दोहोरिन सक्ने उनी ठान्छन्।

जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विभिन्न पेसाको वर्ग छुट्ट्याएको छ। त्यो वर्गअनुसार मापदण्ड तयार पार्नुपर्ने र पेसागत सुरक्षामा ध्यान दिइनुपर्ने गुरुङ बताउँछन्।

‘‘सुरक्षाको काममा जाने खासगरी हतियार चलाउने मान्छेको बेग्लै मापदण्ड र स्वीकृत हुनुपर्छ,’’ गुरुङ भन्छन्। ‘‘हामीले तलब र सुविधा पुग्छ भने स्वीकृति दिन्छौँ। काममा जाने हाम्रा युवा केमा सुरक्षित छन्, केमा छैनन् त्यो हामीले विश्लेषण गर्न सकेका छैनौँ।’’

कति नेपालीले ज्यान गुमाएका छन्?

शवपेटिका

तस्बिर स्रोत, Getty Images

सन् २०१९-२० देखि सन् २०२१-२२ मा मलेशियापछि सबैभन्दा बढी साउदी अरबमा नेपाली श्रमिकहरूले ज्यान गुमाएको उक्त प्रतिवेदनले देखाएको छ।

उक्त अवधिमा मलेशियामा कुल ४८० नेपालीले ज्यान गुमाएका थिए भने साउदी अरबमा २९७ जनाको मृत्यु भएको थियो।

साउदी अरबमा उक्त अवधिमा २४२ जनाको प्राकृतिक रूपमा मृत्यु भएको, १२९ जना घातक सडक दुर्घटनामा परेर र ७८ जनाले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यसबाहेक कार्यस्थलमा हुने दुर्घटना, मुटुसम्बन्धी समस्या र कोभिडका कारण उक्त अवधिमा नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।