अटिस्टिक महिलालाई ४५ वर्षसम्म मानसिक स्वास्थ्य अस्पतालमा थुनेर राखियो

स्टक फोटो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कसिब्बालाई थुनेको ठाउँबाट बाहिर निकाल्न मनोरोग चिकित्सक र अन्यलाई ९ वर्ष लाग्यो (स्टक फोटो)
    • Author, क्यारलिन एट्किन्सन र बेन रोबिन्सन
    • Role, File on 4 Investigates

सिकाइसम्बन्धी कमजोरी भएकी एक अटिस्टिक महिलालाई गलत तरिकाले ४५ वर्षसम्म मानसिक स्वास्थ्य अस्पतालमा थुनेर राखिएको बीबीसीको जानकारीमा आएको छ। उनलाई त्यसरी राख्दा उनी जम्मा सात वर्षकी थिइन्।

सियरा लिओनको भएकी ठानिएकी ती महिलालाई स्थानीय निकायले उनको परिचय जोगाउनका लागि कसिब्बा नाम दिएको थियो। उनलाई २५ वर्षसम्मका लागि अलग्गै राखिएको थियो।

कासिब्बा बोल्न सक्दिनन् र उनका लागि बोलिदिने परिवार पनि थिएन। मनोरोग चिकित्सकले उनको रिहाइको लागि भएको ९ वर्ष लामो संघर्ष कसरी सुरु भएको थियो भनेर बताए।

डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केएरले बीबीसीसँग धेरै अपाङ्गता भएका मानिसहरूलाई अझै पनि मानसिक स्वास्थ्य अस्पतालमा राखिनु अस्वीकार्य भएको र मानसिक स्वास्थ्य ऐनमा हुने सुधारले त्यसरी अनुपयुक्त रूपमा राख्ने काम बन्द हुने आशा गरिएको जनाएको छ।

इङ्ग्ल्यान्डका मानसिक स्वास्थ्य अस्पतालहरूमा २,००० भन्दा बढी अटिस्टिक र सिकाइमा समस्या हुनेहरूलाई अझै पनि थुनेर राखिएको छ र त्यसमा करिब दुई सय बालबालिकाहरू रहेका छन्। वर्षौँसम्म सरकारले उनीहरूमध्ये धेरैलाई सामुदायिक हेरचाहमा सार्ने प्रतिबद्धता देखायो किनभने उनीहरूमा मानसिक बिमारी थिएन।

सन् २०११ मा ब्रिस्टल नजिकैको एउटा निजी अस्पताल विन्टरबोर्न भ्यूमा सिकाइमा समस्या भएकाहरूमाथिको आपराधिक दुर्व्यवहारबारे गरिएको एउटा अनुसन्धानपछि सरकारले त्यसमा कदम चाल्ने बाचा गरेको थियो।

तर इङ्ग्ल्यान्डका सबै मुख्य लक्षित वाचाहरू कार्यान्वयन भएनन्। सन् २०२५-२६ को योजनामा एनएचएस इङ्ग्ल्यान्डले सिकाइमा समस्या भएका र अटिजम् भएका मानिसहरूको लागि मानसिक स्वास्थ्य अस्पतालमा भर पर्ने क्रम घटाउने र कम्तीमा १०% ले कटौती गर्ने लक्ष्य राखिएको जनाएको छ।

यद्यपि मेनक्याप नामक परोपकारी संस्थाका नीति र सार्वजनिक मामिलाका प्रमुख ड्यान स्कोरर भने विश्वस्त छैनन्। "सयौं मानिसहरूलाई अझै थुनेर राखिएको छ, जो मुक्त हुनुपर्थ्यो र समुदायमा उनीहरूलाई सहयोग मिल्नु पर्थ्यो। हामीले वाचा गरिएको प्रगति देख्नै पाएका छैनौँ।"

डाक्टर प्याट्सी स्टेइटले कसिब्बाको थुनुवा जीवनबारे सन् २०१३ मा थाहा पाइन् जब उनी भर्खरै पेसा सुरु गरेकी एक मनोविज्ञ थिइन्। तर उनलाई कसिब्बालाई थुनाबाट बाहिर निकाल्न भने ९ वर्ष लाग्यो।

"मैले कहिल्यै यस्तो परिस्थितिमा बस्ने कुनै व्यक्तिलाई देखेको थिइनँ र मलाई के कुराले साँच्चिकै चकित बनायो भने यो सबै वैध रूपमा भइरहेको थियो," स्टेइटले बीबीसीलाई भनिन्। स्पष्ट रूपमा वैध देखिने अस्पतालको ढाँचाले कसिब्बाको वास्तविकता ढाकेको थियो जहाँ "उनलाई कहिलेकाहीँ २३ घण्टाभन्दा बढी समयका लागि थुनिएर राखिएको हुन्थ्यो।"

कसिब्बाको पहिचानको सुरक्षाका लागि नाम नखुलाइएको सो अस्पतालमा स्टेइटले उनलाई थुनेर राखिएको कोठाको पर्खालमा एउटा प्वाल देखिन्। कसिब्बाले बाहिर हिँडिरहेका मानिसहरूलाई देख्न सकून् भनेर त्यसो गरिएको थियो।

अहिले ५० को दशकको उमेर पुगेकी कसिब्बालाई पाँच वर्षको उमेर भन्दा पहिले सिएरा लिओनबाट मानवतस्करी गरिएको ठानिन्छ। उनी केही समय एक बालगृहमा बसिन् तर त्यो स्थान छोडेर उनलाई ७ वर्षको उमेरमा लामो समयको लागि अस्पतालमा पठाइयो।

कर्मचारीहरूले कसिब्बालाई "खतरनाक" र "आँखा झिक्ने" भनेर वर्णन गरेको स्टेइटले बताइन्।

उनले रेकर्डहरूमा एउटा घटना पत्ता लगाइन् जसले उनीविरुद्ध यस्ता हिंसात्मक आरोपहरूको थालनी गरेको जस्तो देखिन्छ। दशकौँअघि जब कसिब्बा १९ वर्षकी थिइन् र उनलाई दीर्घकालीन रूपमा अलग्गै राखिनुअघि उनी बसेको वार्डमा आगलागीको जनाउ दिने घन्टी बज्यो। त्यहाँका मानिसहरूलाई अन्यत्र सारिँदै थियो।

उक्त समयमा कसिब्बा तनावमा थिइन् र भ्रमका बीच उनका सामु अर्का एक बिरामी आइपुगे। उनले कोपरिन् र अर्को बिरामीको आँखामा चोट पुर्‍याइन्।

"त्यसयता यो घटनाबारे यसरी कुरा गरिन्थ्यो, - 'उनी आँखामा चोट पुर्‍याउने व्यक्ति हुन् र उनले अर्को व्यक्तिलाई धेरै हानि पुर्‍याइन्'," डा. स्टेइटले भनिन्। तर स्टेइटलाई "यो पत्यार लागेन।" उनले भनिन्, त्यस्तो उमेरकी एक महिला जसलाई सिकाइमा समस्या छ र जो दशकौंसम्म अस्पतालमा बस्दै आएकी थिइन्, कसरी ती यति खतरनाक हुन सक्छिन्।

महिनौँको कामपछि डा. स्टेइटले क्याम्डेन काउन्सिलमा ५० पृष्ठको रिपोर्ट प्रस्तुत गरिन्। उक्त काउन्सिल नै कसिब्बालाई अस्पतालमा राख्ने उत्तरी लन्डनको स्थानीय निकाय थियो। डा. स्टेइटले यसअघि नै कसिब्बामा मानसिक रोग नभएको र उनको रिपोर्टले उनी खतरनाक छैनन् र समुदायमा बस्न सुरक्षित छिन् भन्ने निष्कर्ष निकालेको बताइन्।

सन् २०१६ मा स्वास्थ्य र सामाजिक हेरचाह गर्ने व्यावसायमा रहेकाहरूको एक टोली बनाइएको थियो जसले आफूलाई "द इस्केप कमिटी" भन्ने गर्थे। उनीहरूको उद्देश्य भनेकै कसिब्बालाई स्वतन्त्र बनाउनु थियो।

Dr Patsie Staite
तस्बिरको क्याप्शन, डाक्टर प्याट्सी स्टेइटले कसिब्बालाई मुक्त गर्न ९ वर्षसम्म प्रयास गरिन्

चेन्जिङ आवर लाइभ्स नामक अपाङ्गता भएकाहरूको अधिकारबारे काम गर्ने संस्थाकी लुसी डन्स्टनलाई कसिब्बाको स्वतन्त्र वकिलका रूपमा नियुक्त गरिएको थियो। उनले कसिब्बालाई अस्पताल छोड्न किन सुरक्षित छ भन्नेबारे एउटा बलियो मुद्दा तयार गर्नुपर्ने थियो।

तर कसिब्बाको रिहाइको अनुमति कोर्ट अफ प्रोटेक्सनले मात्रै दिनसक्छ जसले आफ्नै निर्णय आफैँ लिन मानसिक क्षमता नरहेका मानिसहरूका लागि निर्णय गर्छ।

डन्स्टनले जब पहिलोपटक कसिब्बालाई भेटिन् अस्पतालका कर्मचारीले उनलाई "आँखा झिक्ने" भनेर चिनाएका थिए।

उनले आफूले कसिब्बालाई ढोकाको सानो प्वालबाट हेरेर देखेको सम्झना भएको बताइन्। "उनी केवल सोफामा पल्टिरहेकी थिइन्। त्यो एकदमै सुनसान कोठा थियो। उनको जीवन पूर्ण रूपमा खोक्रो थियो।"

कसिब्बासँग पहिलो पटक भेट भएको छ वर्षपछि डन्स्टनलाई फोन आयो र कोर्ट अफ प्रोटेक्सनले उनले अस्पताल छोड्न सक्ने निर्णय सुनाएको बताइयो। "मेरा आँसु झरे। खुशी भएँ। राहत महसुस भयो। उनको लागि गर्व लाग्यो," उनले भनिन्। "यो मेरो बारेमा वा मैले के गरेँ भन्ने कुरा होइन।"

अहिले कसिब्बा सहयोगकर्ताहरूको मद्दतमा समुदायमा बस्छिन् र उनीहरू उनीसँग घुलमिल गर्छन् र कोमल स्पर्श अनि इशाराहरू र स्पष्ट भाषाको प्रयोग गरेर कुराकानी गर्छन्। उनको हेरचाह गर्ने व्यक्तिले उनलाई फ्यासन मनपर्ने र आफ्नो घर र सामाजिक अन्तरक्रिया मन पराउने बताइन्।"

"उनीसँग हाँस्य चेत अद्भुत छ। उनी सुन्दर मानिस हुन्," उनले भनिन्। "यहाँ काम गरेको दुई हप्ता पछि उनले आएर मलाई अँगालो मारिन्। उनी आँखा झिक्ने मान्छे होइनन्।"

संसद्‌मा विचाराधीन रहेको मानसिक स्वास्थ्यसम्बन्धी विधेयकले इङ्ग्ल्यान्ड र वेल्समा अटिस्टिक मानिसहरू र सिकाइमा समस्या भएका तर मानसिक स्वास्थ्यमा बिमारी नभएका मानिसहरूलाई उपचारका लागि थुनेर राख्ने अवस्था अन्त्य गर्नेछ।

तर समुदायमा पर्याप्त वैकल्पिक सुविधा रहेको सुनिश्चित नहुँदासम्म कुनै पनि परिवर्तन नहुने सरकारले जनाएको छ। र अझै पनि मानिसहरूलाई अस्पतालमा मूल्याङ्कनको लागि २८ दिनसम्म कानूनी रूपमा राख्न अनुमति दिइनेछ।

क्याम्डन काउन्सिलका 'वयस्क र स्वास्थ्य'का कार्यकारी निर्देशक जेस म्याकग्रेगोरले कसिब्बाले आफ्नो अधिकांश जीवन अस्पतालमा बिताउनपर्नु "दुःखद" रहेको बताइन्। "व्यक्तिगत रूपमा म माफी चाहन्छु," उनले भनिन्। "उनले जे अनुभव गरिन्, त्यो उनले गर्नु पर्दैनथ्यो।"

न्याशनल हेल्थ सर्भिस (एनएचएस)को मानसिक स्वास्थ्य ट्रस्ट, जसको नाम कसिब्बाको पहिचानका लागि खुलाउन सकिँदैन, उक्त ट्रस्टले उनीहरूले दिएको हेरचाहमा कहिल्यै प्रश्न नगरिएको र "केयर क्वालिटी कमिसन" ले उत्कृष्ट सेवाको रूपमा मूल्याङ्कन गरेको जनाएको छ।

ट्रस्टले "फाइल अन ४ इन्भेस्टिगेट्स" सँग बोल्दै दीर्घकालीन रूपमा छुट्टै बस्न आवश्यक रहेका मानिसहरूलाई निजी शयनकक्ष, स्नानगृह, बैठक कोठा र बगैँचा सहितको ठाउँ रहेको जनाएको छ।

ट्रस्टका अनुसार उसले सन् २०१० देखि स्थानीय निकायहरूसँग मिलेर दीर्घकालीन रूपमा बस्नेहरूलाई समुदायमा उपयुक्त हेरचाहमा फिर्ता पठाउने योजना बनाउन काम गर्दै आएको थियो। तर यसलाई अन्य बिरामीहरूको परिवारले दायर गरेको कानूनी मुद्दाले रोकेको उसले बताएको छ।

आफ्ना कर्मचारीहरूले समुदायमा आवश्यक सुविधा उपलब्ध गराउन स्थानीय निकायलाई वर्षौंदेखि अथक रूपमा सहयोग गरेको र त्यसैका कारण सन् २०२३ देखि यो सेवा नचाहिएको उसले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।