'आत्महत्याको समर्थन गर्ने वेबसाइटले हाम्रो किशोर छोरालाई विष पिउन प्रोत्साहित गर्यो'

तस्बिर स्रोत, Family photo
- Author, निक्की मिचल
- Role, बीबीसी साउथ होम अफेअर्स संवाददाता
"मैले मेरो छोरा आफ्नो अन्तिम साससँग सङ्घर्ष गरिरहेको देखेँ," आना निकोलिन-केइज्लीले भनिन्। "उसले औडाहामा सास छोड्यो।"
आनालाई लाग्छ कि उनका कान्छा छोरा भ्लाडलाई विष निल्न 'आत्महत्याको समर्थन गर्ने' एक अनलाइन समूहका प्रयोगकर्ताले प्रोत्साहन गरेका हुन्। उक्त समूहलाई प्रतिबन्ध लगाउन थुप्रै आह्वान गरिएको भए पनि यूकेमा उक्त समूह अझै सक्रिय छ।
भ्लाडको परिवारले सन् २०२४ को मे महिनामा ह्याम्प्शरमा आफ्नो छोराको कठोर मृत्युवरणको खुलासा गर्ने निर्णय गर्यो ताकि त्यसले अन्यलाई सचेत गराओस्।
यही वर्ष आएको अनलाइन सुरक्षा ऐनको एउटा हिस्साका रूपमा सरकारले आत्महत्या र स्वयंलाई हानि पुर्याउने गतिविधिसम्बन्धी सामग्री हटाउन सामाजिक सञ्जालहरूलाई भनेको छ।
तर 'समारिटन्स' नामक एक परोपकारी संस्थाले उक्त नयाँ कानुन त्यति धेरै कार्यान्वयन नभएको ठानिएको जनाएको छ।
सावधान : यस सामग्रीमा विचलित पार्न सक्ने विवरण छन्
मे महिनाको ७ तारिख बिहान ०२:४० बजे आना निदाएका बेला किशोर छोरा भ्लाडले चिच्चाएर उनलाई उठाए, "आमा! डाक्टरलाई बोलाउनुस्!"
उनले त्यसपछि आफूले निलेको विषको नाम लिए र आफूले विष पिएको समय उल्लेख गरे।
"मलाई थाहा छैन त्यसमा कुन पदार्थ थियो," आना सम्झिन्छिन्, "तर उसले आफ्नो सोच परिवर्तन गरेको थियो र बाँच्नका लागि उ सहायता माग्न मकहाँ आइपुगेको थियो।"
भ्लाडका बुवा ग्राहम केइज्लीले आफ्ना छोरा पक्कै पनि आफ्नो कोठामा पुगेर भुइँमा ढल्नुअघि लडखडाएर भर्याङ चढेको हुन सक्ने बताए।
"उसले मुट्ठी कसेको थियो र उसका हात काँपिरहेका थिए," ग्राहमले भने। "त्यो एकदमै आतङ्कित अवस्था थियो।"
"त्यो हिंसात्मक थियो, एक्कासि भएको थियो," भ्लाडलाई पटकपटक 'सिजर' भएको व्याख्या गर्दै उनकी आमाले भनिन्। "ऊ जीवनका लागि लडाइँ गर्दै थियो - ऊ कस्तो आतङ्कबाट गुज्रियो भन्ने कल्पनासम्म पनि म गर्न सक्दिनँ।"
त्यसको केही मिनेटपछि प्यारमेडिकले फोनमा निर्देशन दिएअनुसार ग्राहमले घुँडा टेकेर छोरालाई मुखमा सास (सीपीआर) दिए।
"मैले आफ्नो छोराको जीवन बचाउन जे गर्न सक्थेँ, त्यही मात्रै गरेँ," ग्राहमले आफ्नो आँखामा आँसु राख्दै भने। "त्यो एकदमै डरलाग्दो समय थियो।"
प्रहरीका शरीरमा रहेको क्यामेराको फुटेजले आपत्कालीन अवस्थामा सहायता गर्न आएकाहरूले भ्लाडको जीवन बचाउन असफल हुँदा कस्तो अव्यवस्थित र भावनात्मक असर परेको थियो भन्ने खुलासा गर्छ।
भ्लाडको मृत्युपछि उनको परिवारले जब भ्लाडले आफ्ना "नमिठा क्षणहरू" मानिससँग अनलाइन शेअर गरेको थाहा पाए, त्यसले उनीहरूलाई चकित पार्यो।
उनकी आमाले त्यो "धेरै गोप्य" अनलाइन समुदाय भएको र त्यसले "आत्महत्याको समर्थन गर्ने" गरेको रूपमा व्याख्या गरेकी छन्।
गुप्तचरहरूले परिवारको साउथयाम्प्टनस्थित घरमा "आत्महत्या किट" फेला पार्यो, जसमा थुप्रै किसिमका विष, चक्की र अन्य सामग्री थिए। यो किट भ्लाडले उक्त च्याट समूहमा आबद्ध भएपछि किनेका थिए।
"उनले ती सामग्रीहरू के हुन् र कहाँ किन्न पाइन्छ भनेर अनुसन्धान गरेर बुझेका थिए," ह्याम्प्शर प्रहरीका डीएस क्रिश ब्यारोले भने। "त्यसैले वेबसाइट नभएको भए, भ्लाडले उनको ज्यान लिने सामग्रीहरू किन्ने थिएनन्।"

बाल्यकाल खुसीयालीमा बिताएका भ्लाडको किशोरावस्थाको सुरुवाती चरणमा उनमा अटिजम, डिप्रेशन र चिन्ता देखिएको थियो। उनको मृत्यु हुँदा स्वास्थ्यकर्मीहरूले उनको मानसिक स्वास्थ्यको उपचार गरिरहेका थिए र उनमा एक पीडादायी स्नायु अवस्था पनि देखा परेको थियो।
उनको परिवारका अनुसार उनले आफ्ना साथीहरू भेट्न र यात्रा गर्न थालेपछि उनको मानसिक स्वास्थ्यमा सुधार आएको देखिएको थियो। तर भ्लाडका दिदीहरू माशा र मिआले भने भाइलाई धेरै सुधार भएको भए पनि उनले आफ्नो ज्यान लिएताका उनी अझै पनि जोखिममै रहेको बताए।
"यो फोरमको प्रयोग गर्ने मानिसहरू सङ्घर्षरत भए पनि," माशाले भनिन्, "मेरो भाइबारे निर्णय लिन उसलाई कसैले पनि पर्याप्त बुझेकै थिएन।"
वेबसाइटका 'मोडरेटर'हरूसँग केही सन्देश साटासाट गर्ने गरेकी मिआले भने उक्त साइटलाई "एको चेम्बर" अथवा एकैथरी मात्र विचार सुनिने समूह भनेकी छन्, जसले "मानिसहरूलाई भित्तैसम्म धकेल्न" सक्छ।
"यहाँ लगभग निश्चित रूपमा दुर्व्यवहार भइरहेको छ," उनले भनिन्।

आत्महत्यासम्बन्धी यस वेबसाइटमा अहिले विश्वभरि ५०,००० भन्दा बढी सदस्यहरू छन्। भ्लाडको परिवार उक्त वेबसाइटलाई प्रतिबन्ध लगाइयोस् गरियोस् वा हटाइयोस् भन्ने चाहन्छन्।
बीबीसीले भ्लाड सदस्य रहेको अनलाइन फोरमबारे वर्षौँसम्म अनुसन्धान गरेको छ।
संयोगवश भ्लाडले युक्रेनी विक्रेता लियोनिड जाकुटेन्कोसँग विष मगाएका थिए। बीबीसीले उनलाई सार्वजनिक गर्नुभन्दा केहीअघि भ्लाडले उनीबाट औषधि मगाएका थिए।
तर भ्लाडले त्यो विष निलेनन्। अन्ततः उनले पोल्यान्डबाट मगाएको र सम्भवतः भन्सार पार गर्न गलत नाम दिइएको रासायनिक पदार्थ पिए।
'मृत्युको बाटो'
भ्लाडको मृत्युपछि परिवारले उनको सबै पोस्टहरू पढे र उनले उक्त अनलाइन समूहमा आदानप्रदान गरेका सन्देशहरू हेरे। त्यसपछि कुराहरू कसरी "बिस्तारै बढ्दै" गयो भन्ने व्याख्या गरे।
भ्लाडकी आमा आनाले भनिन्, "त्यसपछि गोप्य च्याटहरू हुन्छन् र त्यसले तपाईँलाई मृत्युको बाटोसम्म पुर्याउँछ। यसमा जोकोही पर्न सक्छन्। एउटा बालक नै पनि यहाँ आइपुग्न सक्छ। यहाँ कुनै जाँच हुँदैन।
"जो विष बेच्छ, जो त्यसलाई प्रोत्साहन गर्छ, त्यस्ता मानिस कसरी वैध हुन सक्छ्न?"
"उनीहरू जीवित छन्," भ्लाडका पिता ग्राहमले भने, "हाम्रो छोरा भने मर्यो।"

तस्बिर स्रोत, Family Photo
भ्लाडको मृत्युमा कुनै आपराधिक कार्य भएको छ कि छैन भनेर प्रहरीले अनुसन्धान गरेको छ।
उक्त वेबसाइट दक्षिण अमेरिकाबाट सञ्चालित छ र संयुक्त राज्य अमेरिकामा रहेको सर्भरले यसलाई होस्ट गरेको छ।
विभिन्न देशहरूमा फरक कानुनहरू भएका कारण अनलाइन माध्यममार्फत् भएका हानिनोक्सानी नीतिगत रूपमा निगरानी गर्न कठिन छ।
यूकेको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इङ्गल्यान्ड र वेल्समा पछिल्लो छ वर्षमा आत्महत्या १० प्रतिशतले वृद्धि भएको छ। पच्चीस वर्षभन्दा कम उमेरका व्यक्तिहरूले विष पिएर आत्महत्या गर्ने कुरा अझै दुर्लभ नै छ, तर यो आत्महत्या गर्ने युवा व्यक्तिहरूको सङ्ख्या बढी उमेर भएका मानिसहरूभन्दा छिट्टै बढिरहेको छ।
सरकारका एक प्रवक्ताले भने, "आत्महत्याले परिवारलाई नष्ट गर्छ। जानाजान आत्महत्या वा अन्य व्यक्तिलाई गम्भीर हानिनोक्सानी पुर्याउनु गैरकानुनी हो।"
"जब अनलाइन सुरक्षा ऐन पूर्ण रूपमा कार्यान्वयनमा जान्छ, सामाजिक सञ्जाल वा वेबसाइटहरूले गैरकानुनी रहेको आत्महत्या वा आफैFलाई असर गर्ने सामग्रीहरू हटाउनुपर्ने छ। साथै आपराधिक सीमाअन्तर्गत परे पनि बालबालिकालाई पनि हानिकारक आत्महत्यासम्बन्धी सामग्री हेर्नबाट रोक्नुपर्ने छ।
"कानुन लागु हुने बेलासम्म कम्पनीहरूले कुर्नुहुँदैन – उनीहरूले अहिले नै सबै प्रयोगकर्ताको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्छ।"
'समारिटन्स'की प्रमुख कार्यकारी अधिकारी जुली बेन्ट्लीले साना वेबसाइटहरूलाई पनि ठूलो प्ल्याटफर्महरूको जस्तै गरी व्यवहार गरिनुपर्न र पूर्ण रूपमा बेवास्ता गर्न नहुने बताइन्।
"कानुनी तर हानिकारक सामग्री वयस्क र बालबालिका दुवैका लागि कडा रूपमा नियमन गरिनुपर्छ," उनले भनिन्। उनले यूकेको सरकार र सञ्चार नियामक निकाय अफकमलाई "निकै ढिला हुनुभन्दा अगाडि नै" कदम चाल्न आग्रह गरिन्।
अफकमले जुलाईदेखि "गैरकानुनी नभए पनि बालबालिकालाई हानिकारक र आफैँलाई हानि गर्ने आत्महत्यासम्बन्धी सामग्रीबाट जोगाउनु" उनीहरूको जिम्मेवारी रहेको बताएको छ।
"जब यो जिम्मेवारी लागु हुन्छन्, हामी आफ्नो कर्तव्य पूरा गर्न विफल हुने कुनै पनि सेवाहरू विरुद्ध शक्तिको पूर्ण प्रयोग गर्न सक्षम हुने छौँ," उसले भनेको छ।
नोट : यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा आत्महत्या गर्ने सोच आउँछ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया चौबीसै घण्टा चल्ने र पैसा नलाग्ने हेल्पलाइन ११६६ मा सम्पर्क गर्नुहोस्।
थप रिपर्टिङ सिनियर डेटा जर्नलिस्ट जोनाथन फागबाट
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




