कोभिड र आत्महत्या: जापानमा आत्महत्या वृद्धि विश्वका लागि चिन्ताको विषय हो?

आत्महत्या
    • Author, रुपर्ट विङ्गफिल्ड-ह्यास
    • Role, बीबीसी न्यूज, टोकियो

विश्वका अन्य कुनै पनि स्थानको तुलनामा जापानमा आत्महत्याका विवरणहरू चाँडै र निकै सटिक रूपमा बाहिर आउँछन्।

अन्य धेरै देशभन्दा फरक ढङ्गले जापानमा हरेक महिना यसको तथ्याङ्क एकीकृत गरिन्छ।

कोरोनाभाइरस महामारीका बेला बाहिर आएका आत्महत्याका विवरणहरू बेचैन पार्ने खालका छन्।

सन् २०२० मा ११ वर्षपछि यहाँ आत्महत्याको दरमा वृद्धि भएको छ।

त्यसले पुरुषको तुलनामा महिलाको आत्महत्या दर बढी देखाउँछ।

यहाँ पुरुषको आत्महत्यामा केही कमी आएको देखिएका बेला महिलाको आत्महत्या दर १५ प्रतिशतले बढेको देखिएको छ।

अघिल्लो वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्षको सोही महिनामा जापानमा आत्महत्या दर ७० प्रतिशतले बढेको देखिन्छ।

आखिर यस्तो के भइरहेको छ? पुरुषका तुलनामा महिलालाई कोभिड-१९ महामारीले किन धेरै नै नराम्रो असर पारिरहेको छ?

चेतावनी: यो समाचारमा उल्लेख गरिएका कतिपय कुराहरूले तपाईँलाई बेचैन पनि बनाउन सक्छ।

जुन ताचिबाना बन्ड प्रोजेक्टकी संस्थापक हुन्
तस्बिरको क्याप्शन, जुन ताचिबाना बन्ड प्रोजेक्टकी संस्थापक हुन्

आफूलाई पटकपटक मार्ने कोसिस गरेकी एक युवतीसँग प्रत्यक्ष भेट्नु निकै बेचैन बनाउने अनुभव थियो।

यो अनुभवले आत्महत्या रोक्न काम गर्नेप्रति मैले गर्ने सम्मान थप बढायो।

म योकोहामाको रेड लाइट क्षेत्रको एउटा 'वाक-इन सेन्टर'मा बसेको थिएँ।

उक्त सेन्टर आत्महत्या रोक्ने च्यारिटी संस्था बन्ड प्रोजेक्टले चलाएको हो।

मेरो टेबलसँगै छोटो कपाल भएकी एकजना १९ वर्षीया युवती बसेकी थिइन्। उनको अनुहारमा कुनै भाव थिएन।

उनले भावहीन मुद्रामै आफ्नो कथा सुनाउन सुरु गरिन्। उनका अनुसार यो सिलसिला उनी १५ वर्षकी हुँदा सुरु भयो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मानसिक रोग विशेषज्ञ डाक्टर रचना शर्मा बस्नेत सँगको कुराकानी।

उनको जेठो दाइले हिंस्रक रूपमा उनलाई दुर्व्यवहार गर्न थालेको थियो। अन्तत: उनले आफ्नो घर छाडिन्। तर उनलाई पीडा र एक्लोपनले छाडेन।

उनलाई आफ्नो जीवन अन्त्य गर्नु मात्र यो पीडा समाप्त पार्ने उपाय भएको जस्तो लाग्न थाल्यो।

उनले मसँग भनिन्, "गत वर्ष यसबेला म कैयौँ पटक अस्पताल भित्र र बाहिर गर्दै थिए। मैले पटकपटक आफैँलाई मार्ने कोसिस गरेँ तर म सफल हुन सकिनँ। त्यसैले अहिले मैले त्यस्तो कोसिस गर्न छाडेँ।"

आत्महत्याको कोसिस छाड्नका लागि बन्ड प्रोजेक्टले उनको सहायता गर्‍यो।

प्रोजेक्टका मानिसहरूले उनका लागि एउटा सुरक्षित स्थान खोजे र उनलाई परामर्श दिन सुरु गरे।

प्राध्यापक मिचिको उएदा आत्महत्याबारे काम गर्ने जापानकी एकजना प्रमुख विशेषज्ञ हुन्
तस्बिरको क्याप्शन, प्राध्यापक मिचिको उएदा आत्महत्याबारे काम गर्ने जापानकी एकजना प्रमुख विशेषज्ञ हुन्

जुन ताचिबाना बन्ड प्रोजेक्टकी संस्थापक हुन्। उनको उमेर ४० वर्षभन्दा बढी भयो। जीवनलाई लिएर उनमा कडा आशावाद छ।

उनी भन्छिन्, "जब केटीहरू साँच्चै समस्या र पीडामा हुन्छन् उनीहरूलाई के गर्नुपर्छ भनेर थाहा हुँदैन। हामी उनीहरूलाई सुन्नकै लागि यहाँ छौँ। उनीहरूलाई हामी भन्न चाहन्छौँ- हामी तपाईँहरूको साथमा छौँ।"

ताचिबाना पहिलेदेखि नै समस्यामा परेका मानिसहरूलाई महामारीले थप जोखिममा पारेको बताउँछिन्।

उनका कर्मचारीलाई हालैका महिनाहरूमा कैयौँ बैचैन पार्नेखाले फोन कलहरू आएका छन्।

उनी भन्छिन्, "हामीले धेरै 'म मर्न चाहन्छु' भन्ने कुरा सुन्यौँ। म जाने कुनै ठाउँ छैन वा म धेरै पीडामा छु भन्नेहरू पनि थिए। कतिले त 'म एकदमै एक्लो छु र म बेपत्ता हुन चाहन्छु' पनि भने।"

शारीरिक र यौन दुर्व्यवहार भोगिरहेका महिलाका लागि कोभिड-१९ महामारीले अवस्था थप खराब बनाएको छ।

ताचिबानाले मसँग भनिन्, "एकजना केटीले उनका पिताले उनको यौन शोषण गरिरहेको बताएकी थिइन्। कोभिडका कारण उनका पिताको खासै काम थिएन त्यसैले उनी पिताबाट बच्ने सम्भावना पनि कम थियो।"

'असाधारण' स्वरुप

यदि तपाईँले सन् २००८ को वित्तीय तथा सन् १९९० को दशकको सुरुमा देखिएको शेअर बजार सङ्कटको अवस्था हेर्नुभयो भने त्यसबेला प्रौढ उमेरका पुरुषहरू धेरै प्रभावित थिए।

त्यसबेला पुरुषको आत्महत्या दरमा वृद्धि भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आत्महत्या गर्नुअघिका संकेतबारे मनोचिकित्सक

तर यो महामारीको अवस्था फरक छ। यसले युवाहरूलाई प्रभावित गरिरहेको छ। त्यसमा पनि खासगरी महिलाहरू प्रभावित भएका छन् र त्यसको कारण पनि निकै जटिल छ।

विकसित देशहरूमा सबैभन्दा बढी आत्महत्या दर जापानमा छ।

पछिल्लो दशकमा आत्महत्या दर करिब एक तिहाइसम्म कम गर्नमा सफलता हासिल भएको छ।

गत वर्ष सेक्टेम्बर २७ मा जापानकी एक चर्चित अभिनेत्री यूको ताकेची आफ्नै घरमा मृत भेटिएकी थिइन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष सेक्टेम्बर २७ मा जापानकी एक चर्चित अभिनेत्री यूको ताकेची आफ्नै घरमा मृत भेटिएकी थिइन्

प्राध्यापक मिचिको उएदा आत्महत्याबारे काम गर्ने जापानकी एकजना प्रमुख विशेषज्ञ हुन्।

उनी पछिल्ला केही महिनामा आत्महत्याका घटना बढ्नु निकै स्तब्ध पार्ने कुरा भएको बताउँछिन्।

उनले भनिन्, "महिलाहरूमा आत्महत्याको यो स्वरुप एकदमै असाधारण हो। हालसम्म मैले यसबारे अध्ययन गर्दा यस्तो खालको वृद्धि देखेकी थिइनँ।"

"कोरोनाभाइरसले ती उद्योग व्यवसायलाई सबैभन्दा धेरै बर्बाद गर्‍यो जसमा महिलाहरू ठूलो सङ्ख्यामा काम गर्छन्। त्यस्ता व्यवसायमा पर्यटन, खुद्रा व्यापार वा खानेकुरा बिक्री गर्ने व्यवसाय छन्।"

जापानमा एकल महिलाहरूको सङ्ख्या बढिरहेको देखिन्छ। कैयौँ महिलाहरू बिहे गर्नुको साटो एक्लै बस्न रुचाउँछन् किनकी बिहे गरेपछि उनीहरूले पारम्परिक रूपमा निर्धारण गरिएका कतिपय भूमिका निभाउनु पर्ने हुन्छ।

प्राध्यापक उएदाका अनुसार यस्ता महिलाहरू अस्थायी खाले रोजगारीमा हुन्छन् र उनीहरूको बिहे नभएकाले आफैँले कमाएर गुजारा गर्छन्। महामारीका कारण रोजगारी गुमेपछि कैयौँ महिलामा त्यसको नकारात्मक असर परेको छ।

गत वर्ष अक्टोबरमा ८७९ महिलाले आत्महत्या गरेका थिए। सन् २०१९ को यसै महिनाको तुलनामा त्यो करिब ७० प्रतिशतले बढी हो।

जापानी अखबारहरूमा आत्महत्याको खबरले प्राथमिकता पाएको छ। कतिपयले त्यहाँ कोरोनाभाइरसका कारण ज्यान गुमाउने र आत्महत्या गर्नेको सङ्ख्याको तुलना गरेका छन्।

अक्टोबर महिनामा मात्र त्यहा पुरुष र महिला गरेर २,१९९ जनाले आत्महत्या गरेका छन्। तर कोरोनाभाइरस महामारीमा त्यहाँ मर्नेको कुल सङ्ख्या २,०८७ सम्म पुगेको छ।

जापान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापान

सेलिब्रेटीको प्रभाव

यसबीच केही अनौठा घटनाहरू पनि भए।

गत वर्ष सेक्टेम्बर २७ मा जापानकी एक चर्चित अभिनेत्री यूको ताकेची आफ्नै घरमा मृत भेटिएकी थिइन्। पछि उनले आत्महत्या गरेको खबर आयो।

पूर्व पत्रकार यासुयुकी शिमिजु गैर नाफामूलक संस्था चलाउँछिन् र आत्महत्या रोकथाममा काम गरिरहेकी छन्।

उनी भन्छिन्, "जुन दिन कुनै सेलिब्रेटीको मृत्युको खबर आउँछ त्यसपछिका दिनहरूमा आत्महत्याका घटना बढ्छन्। करिब १० दिनसम्म त्यो सङ्ख्या उस्तै रहन्छन्। सेप्टेम्बर २७ मा अभिनेत्रीको मृत्यु भएपछि त्यसपछिको १० दिनसम्ममा २०७ महिलाले आत्महत्या गरेका थिए।" अन्य विज्ञ पनि यसमा सहमति जनाउँछन्।