यू-१९ विश्वकपः सुपर सिक्स नेपालका लागि प्रतिकूल तर प्रशिक्षक निश्चिन्त

तस्बिर स्रोत, ICC via Getty Images
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
गत शुक्रवार सुभाष भण्डारीले अफगानिस्तानविरुद्ध चौका प्रहार गरेपछि यू-१९ विश्वकपको इतिहासमा नेपालले आफ्नो पक्षमा एउटा नयाँ अध्याय थप्यो।
भण्डारीले प्रहार गरेको चौकासँगै नेपालले फेरि अर्को टेस्ट राष्ट्रलाई हरायो। अनि यो प्रतियोगिता तेस्रो पटक दोस्रो चरणमा उक्लियो।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने नेपाल एकमात्र असोसिएट टोली पनि बनेको छ।
अबको बाटो कस्तो?
गत विश्वकपमा सेमिफाइनल पुगेको टेस्ट टोली अफगानिस्तान प्ले-अफमा खेल्न बाध्य हुँदा नेपाली टोली चाहिँ प्रतियोगिताको शीर्ष १२ मा अटाएको छ।
युवा खेलाडीहरूको एउटा ‘मिशन’ पूरा भएको छ। नयाँ लक्ष्यसहित नेपाली टोली दक्षिण अफ्रिकाको ईस्ट लन्डनबाट ब्लोन्फोन्टेइनतिर लागेको छ।
नेपालले अब सुपर सिक्समा बाङ्ग्लादेश र भारतको सामना गर्ने छ।
सुपर सिक्समा पुग्ने छ टोलीमध्ये केवल दुई मात्र सेमिफाइनलमा स्थान पाउने छन्। तर प्रतियोगिताको नयाँ ढाँचाअनुसार नेपालको सुपर सिक्स यात्रा भने निकै कठिन देखिन्छ।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटालाई भने त्यसको कुनै चिन्ता छैन।
उनी भन्छन्, "अबको खेलमा पनि भिड्ने हो। थप इतिहासको लागि खेल्ने नै हो।"
विश्वकपमा सहभागी १६ टोलीलाई लीग चरणमा चार-चार राष्ट्र भएका चार समूहमा विभाजन गरिएको थियो।
त्यसमा प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुगेका छन् भने पराजित एक-एक टोली प्ले-अफमा झरेका छन्।

तस्बिर स्रोत, ICC
सुपर सिक्सको ढाँचा कस्तो छ?
सुपर सिक्समा पनि दुई समूह बनेको छ।
सुपर सिक्स वनमा भारत, पाकिस्तान, बाङ्ग्लादेश, न्यूजील्यान्ड, नेपाल र आयरल्यान्ड छन्।
सुपर सिक्स टू मा आयोजक दक्षिण अफ्रिका, अस्ट्रेलिया, श्रीलङ्का, वेस्ट इन्डिज, इङ्ग्ल्यान्ड र जिम्बाब्वे छन्।
लीग चरणका समूह 'ए' र 'डी' तथा समूह 'बी' र 'सी' बीच सुपर सिक्समा प्रतिस्पर्धा गराइएको हो।
त्यसअनुसार समूह 'डी' मा रहेको नेपालसँगै पाकिस्तान र न्यूजील्यान्ड तथा समूह 'ए' मा रहेको भारत, बाङ्ग्लादेश र आयरल्यान्डले सुपर सिक्स वनमा खेल्ने छन्।

तस्बिर स्रोत, ICC
तर सुपर सिक्समा सबैले सबै टोलीसँग खेल्ने भने होइन। त्यसमा प्रत्येक टोलीले दुई खेल मात्र खेल्छन्।
नियमानुसार समूह 'ए' मा रहेको टोलीले सुपर सिक्समा फेरि आफ्नो समूहका प्रतिद्वन्दीसँग खेल्नुपर्दैन, समूह 'डी' को दुई टोलीसँग मात्र खेल्ने हो।
त्यसमाथि समूह 'ए' को शीर्ष टोली भारत र समूह 'डी' मा शीर्ष स्थानमा रहेको पाकिस्तानले सुपर सिक्समा एकअर्कासँग खेल्नुपर्दैन।
तिनले समूहको दोस्रो र तेस्रो स्थानमा रहेका टोलीसँग मात्र खेल्ने छन्।
नेपालको खेल कहिले र कोसँग?
आआफ्ना समूहमा तेस्रो स्थानमा रहेका नेपाल र आयरल्यान्डले पनि एकअर्कासँग खेल्नुपर्दैन।
समूह 'ए' मा शीर्ष स्थानमा रहेको भारतले समूह 'डी' मा दोस्रो र तेस्रो स्थानमा रहेको न्यूजील्यान्ड र नेपालसँग खेल्नेछन्।
त्यस्तै समूह 'ए' मा दोस्रो स्थानमा रहेको बाङ्ग्लादेशले समूह 'डी' को शीर्ष स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको नेपालसँग खेल्ने छन्।
नेपालले पहिलो खेल बाङ्ग्लादेशसँग बुधवार तथा दोस्रो खेल भारतसँग शुक्रवार खेल्ने छ।
सुपर सिक्सको अङ्कगणितको हिसाब झन् जटिल देखिन्छ।

तस्बिर स्रोत, ICC
सुपर सिक्समा अङ्कको लेखाजोखा कसरी हुन्छ?
सुपर सिक्समा अङ्कको हिसाब बेग्लै खालको छ।
त्यसको विशेषता के छ भने लीगमा पाएको अङ्क सुपर सिक्समा पनि जोडिने छ तर सुपर सिक्समा पुगेको टोलीविरुद्धको खेलको मात्र।
सुपर सिक्समा नपुगेको टोलीलाई हराएको अङ्क भने गणना हुँदैन।
त्यसअनुसार अहिले भारत र पाकिस्तानले सुपर सिक्समा उक्लेका दुई प्रतिद्वन्द्वीलाई हराएकाले उनीहरूले ४/४ अङ्क प्राप्त गरिसकेका छन्।
त्यस्तै १/१ खेल जितेको न्यूजील्यान्ड र बाङ्ग्लादेशसँग २/२ अङ्क छ।
तर नेपालको हकमा लीग चरणको खेलमा उसले अफगानिस्तानलाई हराए पनि अफगानिस्तान सुपर सिक्समा नउक्लिएकोले उक्त अङ्क गणना हुने छैन।
अबको खेलमा पनि भिड्ने हो। थप इतिहासको लागि खेल्ने नै हो...
नेपाल सेमिफाइनल पुग्ने सम्भावना कस्तो?
नेपाल अहिले अङ्कविहीन छ। आयरल्यान्डको स्थिति पनि नेपालकै जस्तै छ।
त्यसो हुँदा नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कठिन देखिन्छ।
अब पाकिस्तान र भारतले एउटा खेल जिते पनि उनीहरूको अङ्क छ पुग्ने छ। यद्यपि दुवै खेल जिते नेपाल भने चार अङ्कमा मात्र सीमित हुने छ।
यस्तोमा यदि भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा पनि न्यूजील्याण्ड र बाङ्ग्लादेशबीचको खेलको नतिजाले समीकरण तलमाथि पर्न सक्छ।
यस्तोमा नेट रन रेटजस्ता पक्ष हेरिनेछ। अनि रन रेटमा पनि नेपालको अवस्था कमजोर नै छ। नेपालको नेट रनरेट माइनस ०.८ छ।
नेपालपछि अन्तिम स्थानमा आयरल्यान्ड छ। उसको नेट रनरेट माइनस २.२२७ छ।
के भन्छन् प्रशिक्षक जगत टमाटा?
तर नेपाली टोलीका प्रशिक्षक जगत टमाटा भने निश्चिन्त छन्।
उनी त केवल बाङ्ग्लादेश र भारतविरुद्ध अर्को 'सरप्राइज' थप्ने योजनामा छन्।
"अफगानिस्तानलाई हराएको खेल सबै नेपाली खेलप्रेमीले देखिहालेका छन्। त्यो नतिजाबाट नेपाली खेलाडीहरूमा यति धेरै सकारात्मक ऊर्जा थपिएको छ कि उनीहरू अर्को त्यस्तै नतिजाका लागि तयार छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने
"जे हुन्छ अब बाँकी खेलको नतिजाले देखाउने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








