नेपाल अफगानिस्तानलाई पराजित गर्दै यू-१९ विश्वकप क्रिकेटको 'सुपर सिक्स'मा

नेपाल क्रिकेट

तस्बिर स्रोत, ICC

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

आकाश चन्दले करिअरको उत्कृष्ट बलिङ गरेपछि नेपाल अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ विश्वकपको 'सुपर सिक्स'मा प्रवेश गर्न सफल भएको छ।

'सुपर सिक्स'मा पर्नका लागि समूह चरणको जित्नैपर्ने अन्तिम खेलमा नेपालले टस जितेको अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा सीमित पार्‍यो।

नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो र एक विकेटले खेल जित्यो।

समूह 'डी' का तीनवटा खेलमा पराजय बेहोरेको अफगानिस्तान 'सुपर सिक्स'बाट बाहिरियो भने न्यूजील्यान्ड, पाकिस्तान र नेपाल यो समूहबाट माथि उक्लिए।

युवा विश्वकप क्रिकेट खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो। यो जितसँगै ८ वर्षपछि विश्वकपमा छानिएको नेपालले समूह चरण पार गर्न सफल भयो।

अब नेपालले 'सुपर सिक्स'मा समूह 'ए' का प्रतिद्वन्द्वीसँग खेल्ने छ।

समूह 'ए' मा भारत, बाङ्ग्लादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह 'ए' बाट बाहिरिने एउटा टोलीको निर्णय हुन बाँकी छ।

आकाश चम्किए

क्रिकेट

तस्बिर स्रोत, ICC

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा खेलिएको खेलमा आकाशले शुक्रवार अभूतपूर्व प्रदर्शन गरे।

पहिलो ओभरको चौथो बलमा नै गुलशन झाले ब्याटर नुमान शाहलाई दीपक डुम्रेबाट क्याच गराए।

त्यसपछि अफगानिस्तानको इनिङस् ध्वस्त पार्ने काम तीव्र गतिका बलर आकाश चन्दले गरे।

उनले १.३ ओभरमा खालिद तनिवाललाई विकेटकिपर विपिन रावलद्वारा क्याच गराए।

त्यसपछि सातौँ ओभरमा अफगानिस्तानका भरपर्दा ओपनर जम्सिद जाद्रानलाई बोल्ड गरे।

जाद्रानले एशिया कपको पछिल्लो भेटमा नेपालविरुद्ध शतक बनाएका थिए।

क्रिकेट

तस्बिर स्रोत, ICC

उनको तेस्रो सिकार सोहेल खान भए। आठौँ ओभरमा चार रन बनाएर सङ्घर्ष गरिरहेका सोहेललाई आकाशले देव खनालबाट क्याच आउट गराएका थिए। लगत्तै उनले अली अहमदलाई एलबीडब्लूको धरापमा पारेका थिए।

आकाशले पाँचौँ विकेटको रूपमा हसन इशाखिललाई आउट गरेका थिए। ३५ बलमा २० रन बनाएर खेलिरहेका हसनलाई दीपेश कँडेलबाट क्याच आउट गराएपछि आकाशले मैदानमा ढोगेका थिए।

आकाश चम्किएपछि अफगानिस्तानको ११.३ ओभरमा ६ विकेट झरेको थियो र टोली ४३ रनको खराब अवस्थामा पुगिसकेको थियो।

क्याच ड्रप

नेपाली क्रिकेट

तस्बिर स्रोत, ICC

बाह्रौँ ओभरमा मोहम्मद घजनफारले खाता नै खोल्न नपाउँदै जीवनदान पाउनु नेपालको लागि महँगो साबित भयो।

आकाशले फ्यालेको बलमा विकेटकिपर विपिन रावलले क्याच फुत्काउन पुगेका थिए।

त्यसपछि घजनफारले ३ छक्कासहित २० बलमा ३७ रन बनाएर अप्ठ्यारो स्थितिमा पुगिसकेका अफगान खेलाडीहरूको हौसला बढाउने काम गरेका थिए।

एक समय सयभन्दा कम रनमा समेटिने छाँट देखाएको अफगानिस्तानका लागि कप्तान नासिर खान र फरिडोन डवडजाईले महत्त्वपूर्ण इनिङस् खेले।

यी दुईले आठौँ विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टोली डेढ सयको नजिक पुग्न सफल भयो।

आकाशपछि दीपेश कँडेलले ३ तथा तिलक भण्डारी र सुभाष भण्डारीले १/१ विकेट लिएका थिए।

देवको साहसिक इनिङ्स

नेपाली क्रिकेट

तस्बिर स्रोत, ICC

नेपाललाई जिताउन देव खनालले महत्त्वपूर्ण कप्तानी इनिङस् खेले। ओपनर अर्जुन कुमाल १० रन तथा आशा गरिएका खेलाडी गुलशन झा एक रनमै आउट भएपछि धरमराएको नेपाली इनिङस् उकास्दै कप्तान देव खनालले नेपाललाई जिततर्फ लगे।

दुई पटक जीवनदान पाएका देवले एक इन्डमा डटेर खेल्दै नियमित रूपमा रन बटुलेका थिए।

तीन बल खेलेर चार रन मात्र जोडेको अवस्थामा देवले पहिलो जीवनदान पाएका थिए। ७.५ ओभरमा अफगानिस्तानका बलर मोहम्मद घजनफरले 'कट एन्ड बोल्ड' गर्न चुकेका थिए। अर्को पटक उनी रन आउट हुनबाट जोगिएका थिए।

त्यसपछि देवले सम्हालिएर खेले। उनले ८९ बलमा ५८ रनको अर्धशतकीय इनिङस् खेले। सो क्रममा उनले ७ चौका प्रहार गरेका थिए।

नवौँ ओभरमा विपिन रावल आउट भएपछि नेपाल २४-३ को खतरनाक अवस्थामा पुगेको थियो।

यो बेला देव र आकाश त्रिपाठीले चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेर इनिङस् उकासेका थिए।

तर २४औँ ओभरमा आकाश आउट भएपछि र त्यसपछि आएका दीपक डुम्रे र दीपेश कँडेल चाँडै आउट भएर नेपाल फेरि दबावमा परेको थियो।

यस्तो अवस्थामा देवलाई दीपक बोहराले राम्रो साथ दिएपछि नेपाल जिततिर अग्रसर भएको थियो।

तर ३६.३ ओभरमा देव विकेट किपर नुमान शाहबाट क्याच आउट भएपछि नेपाल फेरी दबावमा पर्‍यो। यस्तोमा दीपक बोहराले खेल सम्हाले। उनले ४२ बलमा २७ रन जोडे।

नेपाली क्रिकेट

तस्बिर स्रोत, ICC

रोमाञ्चक ४५औँ ओभर

पैँतालिस ओभरको खेल निकै रोमाञ्चक खालको भयो। चवालीस ओभरको अन्तिम बलमा आकाश चन्द बोल्ड भएपछि नेपाललाई जितका लागि २ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो।

यस्तोमा दुवै टोलीका खेलाडीहरू अत्यन्त तनावमा देखिएका थिए। तनावको वातावरणमा ४५औँ ओभरको पहिलो बलमा अरब गिलले पहिलो बल वाइड फाल्न पुगे र खेल टाई भयो।

अब नेपाललाई जितको लागि एक रन मात्र चाहिएको थियो। ३५ बल हातमा थियो। यस्तोमा तीन बल डट खेलेपछि सुभाष भण्डारीले विजयी चौका प्रहार गरिदिए। अनि खुसीमा सारा नेपाली खेलाडीहरू मैदानमा दौडिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।