अमेरिकाका गोप्य सूचना चीनलाई बेच्ने सीआईएका पूर्वजासुसलाई १० वर्ष जेल

    • Author, म्याक्स माट्जा
    • Role, बीबीसी न्यूज

चीन सरकारका लागि जासुसी गरेको अभियोगमा अमेरिकी गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एउटा अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका एक गुप्तचर अधिकारीसँग आफूले चीनलाई अमेरिकाका गोप्य सूचनाहरू बेचेको स्वीकार गरेपछि उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए।

एकिक्जान्डर युक चिङ मा नाम गरेका ती व्यक्तिको जन्म ७१ वर्षअघि हङ्‌कङमा भएको थियो। उनले अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए।

उनले सन् १९८२ देखि सन् १९८९ सम्म सीआईएका लागि काम गरेका थिए। पछि उनले एफबीआईमा पनि काम गरे।

दोष स्वीकार गर्ने क्रममा उनले गरेको सहमतिमा आफू अभियोजनकर्ताहरूलाई "आजीवन" सघाउने र "अमेरिकी सरकारी निकायहरूसँग भेट्न तयार रहेको" उल्लेख छ।

त्यस्ता भेटका बेला उनले झुटो बोलेको हो कि हैन भनेर जाँच्न 'पोलिग्राम टेस्ट' पनि हुने संमाचारसंस्था एपीले जनाएको छ।

५०,००० डलर गनेको भिडिओ

सजाय सुनाउन बुधवार गरिएको सुनुवाइमा सरकारी वकिलहरूले अदालतलाई प्रतिवादीले सहयोग गरेको र उनी "सरकारी गुप्तचरहरूले गरेको सोधपुछमा धेरै पटक सहभागी भइसकेको" बताए।

अधिकारीहरूका अनुसार मा र सीआईएकै कार्यरत उनका एक आफन्त मिलेर चीनको शाङ्घाई स्टेट सेक्युरिटी ब्यूरोले परिचालन गरेका जासुसलाई गोप्य सूचना उपलब्ध गराएका थिए।

हङ्‌कङमा खिचिएको एउटा भिडिओमा सूचना उपलब्ध गराएबापत हात परेको ५०,००० अमेरिकी डलर माले गरेको देखिएको सङ्घीय अभियोजनकर्ताहरूले जनाएका छन्।

चीनका लागि जासुसी गर्ने गरेको थाहा हुँदै एफबीआईमा जागिर

सन् २००४ मा हवाईमा बसोबास गर्ने क्रममा उनले एफबीआईको होनोलुलुस्थित कार्यालयमा करारमा भाषाविद्को जागिर खाएका थिए।

एफबीआईले जासुसी गतिविधिमा उनको संलग्नताबारे थाहा पाइकेको थियो। सरकारी वकिलहरूले बुधवार अदालतमा खुलाएअनुसार माको "निगरानी गर्न र उनका गतिविधि र सम्पर्कसूत्रहरूबारे अनुसन्धान गर्न" एफबीआईमा काम दिइएको थियो।

एपी समाचारसंस्थाका अनुसार नाम नखुलाइएका माका सहयोगी उनका भाइ थिए। तर कारबाही सुरु हुनुअघि नै उनको मृत्यु भएको थियो।

हवाईको अदालतले उनलाई सहमतिअनुसार नै १० वर्ष जेल सजाय र त्यसपछि रिहा भएपछि पाँच वर्ष निगरानीमा राख्नुपर्ने फैसला सुनायो।

“यस्तो काम गर्न खोज्ने जोसुकैका लागि पनि यसले स्पष्ट सन्देश देओस्,” होनोलुलुस्थित एफबीआईका वरिष्ठ अधिकारी स्टीभन मेरिलले एउटा विज्ञप्तिमा भनेका छन्।

“जति समय लागे पनि वा जति समय बिते पनि तपाईँलाई न्यायको कठघरामा उभ्याइने छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।