सीमा समस्या हल गर्न 'विकल्प' उपयोग गर्न सकिने प्रचण्डको भनाइ

प्रचण्ड र मोदी

तस्बिर स्रोत, RSS

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नेपाललाई बाङ्ग्लादेशसम्मको सीधा सडकसम्बन्धी कुनै व्यवस्थापन वा अन्य विकल्पहरूको प्रयोग गरेर सीमा विवाद समाधान गर्न सकिने बताएका छन्।

नेपाल भारतबीचको तिक्ततापूर्ण सीमा विवाद हल गर्ने सम्बन्धमा विभिन्न विकल्पबारे सोच्ने कामको सुरुवात भएको र त्यसमध्ये एउटा विकल्प बाङ्ग्लादेशसँगको सीधा सडक मार्ग व्यवस्थापन पनि भएको उनको भनाइ छ।

तर उनले उक्त विकल्पको स्पष्ट व्याख्या भने गरेनन्।

नेपालको पूर्वी नाका काकरभिट्टाबाट बाङ्ग्लादेशको बाङ्ग्लाबन्ध प्रवेश विन्दु करिब ४० किलोमिटर दुरीमा पर्छ।

“एउटा हो बङ्ग्लादेश मोडल। बाङ्ग्लादेश र भारतबीच पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे,” शुक्रवार दिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने। बाङ्ग्लादेश र भारतबीच सन् २०१५ मा आफूलाई पायक पर्ने क्षेत्रमा पर्ने जमिन साटफेर गरेर सीमा समस्या समाधानको सहमति भएको थियो।

“अर्को चाहिँ बाङ्ग्लादेशसँग सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो। हामीलाई चाहिएको कुरा पनि हो। आवश्यकता पनि हो, चाहना पनि हो।”

त्यस बाहेकका अरू विकल्पबाट पनि सीमा समस्या हल हुनसक्ने प्रचण्डको भनाइ थियो।

मोदीले बोल्नु महत्पूर्ण

प्रचण्ड र मोदी

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री प्रचण्डले बिहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सीमा समस्या समाधान बारे बोल्नु पनि निकै महत्त्वपूर्ण भएको बताएका छन्।

मोदीले सीमा समस्या समाधान गरिने बताएका थिए।

“हामी हाम्रो सम्बन्धलाई हिमालय जत्तिकै उचाइ दिने काम गर्नेछौँ। यही भावनाका साथ हामी सबै मुद्दाको चाहे सीमाको वा अरू केही विषय सबैको समाधान गर्नेछौँ,” संयुक्त पत्रकार सम्मेलनमा मोदीले भनेका थिए।

बिहीवार संयुक्त पकार सम्मेलनका क्रममा प्रचण्डले पनि मोदीसँग सीमा समस्या समाधानका लागि आग्रह गरिएको बताएका थिए।

“प्रधानमन्त्री मोदीजी र मैले सीमा विषयमा छलफल गर्‍यौँ। मैले प्रधानमन्त्री मोदीजीलाई सीमाको विषय स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेँ,” प्रचण्डले भने।

आफूले मोदीसँग तीन पटक एक्ला एक्लै वार्ता गरेपछि कतिपय विषयमा गाँठा फुकेको अनुभव शुक्रवार प्रचण्डले दिल्लीमा नेपाली पत्रकारहरूलाई सुनाए।

अहिले नेपाल र भारतबीच खासगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर चर्को विवाद छ।

प्रधानमन्त्री प्रचण्डले सो सीमा विवाद राखिराख्यो भने नेपाल र भारतबीचको सम्बन्ध कहिले पनि सहज नहुने अवस्था आउने बताएका थिए।

प्रचण्डले जबाफ दिनुपर्छ

प्रचण्ड र मोदी

तस्बिर स्रोत, RSS

नेकपा एमालेका सांसद रघुजी पन्त प्रचण्डको भारत भ्रमणमा सीमा समस्या समाधानको विषय गम्भीरतापूर्वक उठेको आफूलाई नलागेको बताए।

“सीमा समस्याको विषय नेपालले पनि प्रमुखताका साथ उठाएन भारतले पनि गम्भीर रूपमा लिएन,” पन्तले भने।

बाङ्ग्लादेशसँगको सडकमार्गसँग सीमा समस्या समाधान गर्न सकिने प्रचण्डको भनाइबारे सोधिएको प्रतिक्रियामा पन्तले त्यसलाई प्रचण्डले प्रस्ट पार्नुपर्ने बताए।

“त्यो कुरा कसरी राखिएको छ पूरा आएको छैन। भारत कालापानी, लिपुलेक र लिम्पियाधुराबाट पछि हट्ने मुडमा छैन, के हामी त्यो छोड्न तयार छौँ प्रश्न यो हो,” उनले भने।

“…त्यसैले यी प्रश्नहरूको ठोस जबाफ प्रधानमन्त्रीले दिनुपर्छ।”

यसबीच नेपाल भारत मैत्री सन्धि परिमार्जनसम्बन्धी दुई देशका प्रबुद्ध व्यक्तिहरूले पेस गरेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको विषय भने यसपालिको भ्रमणमा कुरा नउठाइएको प्रचण्डले बताए।

“उठाएर माहौल बिगार्नतिर लागिएन,” उनको भनाइ थियो।

‘संयन्त्र गठन भए यो भ्रमण सार्थक’

प्रचण्ड र मोदी

तस्बिर स्रोत, Nepali Embassy New Delhi

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भारतका प्रधानमन्त्रीले पनि सीमा समस्या समाधानको प्रतिबद्धता जनाउनु सकारात्मक भएको बताउँछन्।

“दुवैतर्फका प्रधानमन्त्रीले सीमा समस्या समाधान गरिने भनेकाले सीमाका दृष्टिले यो भ्रमण म सफल नै मान्छु। तर भारतले कागजमै लेखिएका विषय पनि कार्यान्वयन गर्दैन त्यसकारण सीमा समस्या समाधानका लागि संयन्त्र गठन भए यो भ्रमण सार्थक हो नभए पारम्परिक मात्रै हो,” श्रेष्ठले बीबीसीसँग भने।

रेड लाइन
रेड लाइन

पूर्वप्रधानमन्त्री वा उपप्रधानमन्त्री तहका नेताहरूकै नेतृत्वमा यस्तो संयन्त्र बनाए मात्रै सीमा समस्या समाधानमा प्रगति हुनसक्ने उनी ठान्छन्।

भारत भ्रमणमा जानुअघि प्रचण्डले गत वैशाख ९ गते सम्बन्धित मन्त्री र सचिवहरू सहित सीमा क्षेत्रका जानकारहरूसँग छलफल गरेका थिए।

उक्त छलफलमा पुगेका श्रेष्ठका अनुसार प्रधानमन्त्रीले लामो समययता निष्क्रिय रहेको सीमा समस्या समाधान गर्ने कूटनीतिक संयन्त्र ब्युँताउने विषयमा आफूले कुरा राख्ने प्रतिबद्धता जनाएका थिए।