'आउँदा दिनहरूमा' बन्धक रिहाइको घोषणा हुने नेतन्याहूको आशा

तस्बिर स्रोत, Reuters
- Author, ह्यूगो बसेगा
- Role, मध्यपूर्व संवाददाता, जेरुसलेम
- Author, आँरी दास्ती
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा राखिएका बन्धकहरूलाई "आउँदा दिनहरूमा" रिहा गर्ने घोषणा गर्ने आशा व्यक्त गरेका छन्।
टेलिभिजनमा प्रसारित विज्ञप्तिमा उनले भनेका छन्, "हमासलाई निःशस्त्र गरिने छ र गाजालाई असैनिकीकरण गरिने छ - यसो गर्न सहज भए पनि, कठिन भए पनि, यो हासिल हुने छ।"
हमासले शुक्रवार एउटा वक्तव्य जारी गरी अमेरिकी शान्ति योजनाअन्तर्गत बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो। तर त्यसमा उसले निःशस्त्रीकरणको बारेमा उल्लेख गरेको थिएन। अन्य मुद्दाहरूमा भने हमासले वार्ताको माग गरेको थियो।
शनिवार बिहान गाजामा हमला भएपछि हमासले इजरेलले "नरसंहार" जारी राखेको भनेको छ, र उसले इजरेलमाथि विश्वव्यापी दबाव दिन आग्रह गरेको छ।
इजिप्टमा दुई पक्षबीच सोमवारदेखि युद्धविरामसम्बन्धी अप्रत्यक्ष वार्ता सुरु हुँदै छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासले सम्झौता पूरा गर्न "ढिलाइ गरेको नसहने" बताएका छन्।
ट्रूथ सोशल प्ल्याट्फर्ममा एउटा पोस्टमा ट्रम्पले भनेका छन् : "हमास चाँडै अघि बढ्नु पर्छ, अन्यथा सबै सम्झौताको अवसर बन्द हुने छ ... यो काम छिटो पूरा गरौँ।"
उनले त्यसपछि इजरेलले "फिर्ता हुने प्रारम्भिक रेखामा सहमत भएको" भन्दै पोस्ट गरेका छन्। उनले अमेरिकी योजनासँगै प्रकाशित इजरेली सेना फिर्तीका लागि विभिन्न रेखाहरूलाई सङ्केत गरेको देखिन्छ।
बीसबुँदे योजनाले युद्धको तत्काल अन्त्य गर्ने र हमासद्वारा बन्धक बनाइएका २० जना जीवित इजरेली बन्धकहरूको रिहाइको प्रस्ताव गरेको छ। साथै ज्यान गुमाएका ठानिएकाहरूको पनि शव फिर्ता गर्ने प्रस्ताव छ। त्यसका लागि सयौँ गिरफ्तार गरिएका गाजाका बासिन्दालाई पनि फिर्ता गर्नुपर्ने छ।
एक्समा एउटा पोस्टमा इजरेली डिफेन्स फोर्सेस आईडीएफले उसले "बन्धकहरूको रिहाइको लागि ट्रम्पको योजनाको पहिलो चरणको कार्यान्वयनको लागि तयारी अघि बढाउन" आदेश जारी गरेको छ।
आईडीएफका सैनिकको सुरक्षा 'उच्च प्राथमिकता' रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
ट्रम्पको भूमिका
हमासलाई ट्रम्पको योजनाका केही बुँदाहरू स्वीकार गर्न दबाव थियो। अनि, "हो तर" प्रतिक्रियासहित उनीहरूले ठ्याक्कै त्यसो गरेका छन्। बाँकी रहेका सबै इजरेली बन्धकहरू, जीवित र मृत दुवैलाई रिहा गर्न अनि गाजालाई विषय विज्ञ (टेक्नोक्र्याट)हरूको शासन सुरु गर्न हमास भएमत भएको छ।
तर, अन्य चीजहरूको बीचमा, हमासले निःशस्त्रीकरण गर्ने छ कि छैन भन्ने उल्लेख गरेको छैन, जुन इजरेलको मुख्य माग हो।
अहिलेको प्रयासले अन्ततः सम्झौताको बिन्दुमा पुर्याउँछ भन्ने सचेत आशा गाजा र इजरेल दुवैतर्फ छ। अहिलेको मुख्य भिन्नतामध्येको एक भनेको ट्रम्पको व्यक्तिगत संलग्नता हो, जो युद्ध अन्त्य गर्ने व्यक्तिको रूपमा सम्झिइन र पुरस्कृत हुन इच्छुक छन्।
उनले सार्वजनिक रूपमा हमासलाई सम्झौता स्वीकार गर्न आग्रह गरेका छन्। त्योभन्दा बढी सैन्य बललाई धम्की दिएका छन्। हालसालै इजरेलको नेतृत्वसँग उनको बढ्दो रिसको सङ्केतहरू छन्। तर ट्रम्पको प्रभाव पर्याप्त छ कि छैन भन्ने स्पष्ट छैन।
वास्तविकता के हो भने पहिलेका सम्झौताहरूलाई रोक्ने बाधाहरू उस्तै छन्। जसमा हमासको पूरा इजरेली फिर्तीको माग र बन्धकहरू मुक्त भएपछि इजरेलले युद्ध पुनः सुरु नगर्ने सुनिश्चितता रहेको थियो। समूहलाई बन्धकहरूको रिहाइबिना असुरक्षित हुनेछ भन्ने थाहा छ र उसले त्यस्तो नहोस् भन्नका लागि निस्सन्देह बलियो आश्वासनको माग गर्नेछ।
अन्यत्र पनि आशङ्काहरू छन्। इजरेलभित्र र बाहिरका धेरैले नेतान्याहूले राजनीतिक उद्देश्यका लागि युद्ध लम्ब्याउने विगतका प्रयासहरूलाई तोडेको आरोप लगाएका छन्।
उनलाई अतिराष्ट्रवादी मन्त्रीहरूले समर्थन गरेका छन् जसले हमासको पूर्ण पराजयबिना युद्ध समाप्त भए गठबन्धन छोड्ने धम्की दिएका छन्। यसले सरकार ढल्न सक्छ। अहिलेका लागि प्रधानमन्त्री सुरक्षित देखिन्छन्।
यद्यपि, घरेलु सर्वेक्षणहरूले अधिकांश इजरेलीहरू बन्धकहरूको रिहाइ र युद्धको अन्त्यका लागि हमाससँग सम्झौता गर्ने पक्षमा छन् भन्ने सुझाव लगातार दिइरहेका छन्। देश गहिरो रूपमा विभाजित छ, युद्धबाट थकित छ र अन्तर्राष्ट्रिय रूपमा थप एक्लिएको छ।
बन्धकका परिवारले बीबीसीलाई आफ्ना प्रियजनहरू चाँडै फर्किनेछन् भन्ने आशा व्यक्त गरेका छन्।
विक्की कोहेनका छोरा निम्रोद गाजामा पक्राउ परेका २० कैदीमध्ये एक हुन् जो अझै पनि जीवित रहेको विश्वास गरिएको छ। उनले आफू शनिवार आशाको भावनासहित ब्युँझिएको बताइन्। तर "केही गलत हुने डर" पनि रहेको उनले बताइन्।
'यो नाजुक अवस्था हो र हामी फेरि निराश हुन चाहँदैनौँ। र, अझै पनि मलाई आशा छ कि म चाँडै निम्रोदलाई देख्नेछु र मैले फेरि उनलाई अँगालो हाल्न सक्छु," उनले भनिन्।

तस्बिर स्रोत, EPA
गाजामा प्यालेस्टिनीहरूको प्रस्तावलाई लिएर आशादेखि गहिरो शङ्कासम्मका प्रतिक्रियाहरू व्यक्त भएका छन्।
केहीलाई इजरेलले आफ्ना बन्धकहरूलाई फिर्ता लिन मात्रै यसो गरेको र युद्ध पुनः सुरु गर्ने भन्दै हमास पासोमा फसेको डर व्यक्त गरेका छन्। केहीले दुई वर्षको द्वन्द्व अन्त्य गर्ने ऐतिहासिक अवसर खुलेको विश्वास गरेका छन्।
गाजाका बासिन्दा इब्राहिम फारेसले बीबीसीलाई भने, "आशावादी नहुनुहोस्।"
"विस्तृतमा चरणबद्ध रूपमा छलफल हुने छ। त्यस्तो विवरणमा नराम्रो कुरा पक्कै हुने छ।"
यसैबीच, ट्रम्पले शुक्रवार सामाजिक सञ्जालमा इजरेलमा "बमबारी तुरुन्त रोक्न" भनेका भए पनि गाजामा इजरेली सेनाले आक्रमण जारी राखेको छ।
गाजा शहरमा शनिवार बिहान तीनवटा हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएको अल–सिफा अस्पतालका चिकित्सा स्रोतले जनाएको छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा गाजामा इजरेली सैन्य कारबाहीमा ६६ जनाको मृत्यु भएको जनाएको छ। यो सँगै गाजामा युद्ध सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७,०७४ पुगेको छ।
करिब दुई वर्षअघि युद्ध सुरु भएयता इजरेलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई स्वतन्त्र रूपमा गाजा स्ट्रिपमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसले गर्दा दुवै पक्षको दाबीलाई पुष्टि गर्न गाह्रो भएको छ।
इजरेली सेनाले सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा अभियान चलाएको थियो जसमा करिब १,२०० मानिसहरू मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो।
गाजाको अधिकांशजसो जनसङ्ख्या विस्थापित भएको र ९० प्रतिशतभन्दा बढी घरहरू क्षतिग्रस्त वा नष्ट भएको बारम्बार विवरणहरूमा आउने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








