गाजामा बमबारी रोक्न ट्रम्पको आग्रह, हमास र इजरेलले के-के भने?

डोनल्ड ट्रम्प र बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ट्रम्प र नेतन्याहूबीच यो साता ह्वाइट हाउसमा भेटवार्ता भएको थियो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शान्ति योजना मध्ये हमासले धेरैजसो स्वीकृत गरेपछि उनले इजरेललाई गाजामा बमबारी बन्द गर्न आग्रह गरेका छन्।

त्यसलगत्तै इजरेली सेनाले आफूले गाजामा आक्रमण घटाउँदै लगेको जनाएको छ।

राष्ट्रपति ट्रम्पद्वारा युद्ध अन्त्यका लागि गरिएको प्रस्तावको पहिलो चरण तुरुन्त कार्यान्वयन गर्न सकियोस् भनेर आफूले आक्रमण घटाएको इजरेलले जनाएको हो।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ट्रम्पको प्रस्तावमा इजरेलले अमेरिकासँग मिलेर काम गर्ने बताएका छन्।

उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा हमासको प्रतिक्रियापछि इजरेलले सबै बन्धकहरूको तत्काल रिहाइका निम्ति ट्रम्पको प्रस्तावको पहिलो चरणको तत्काल कार्यान्वयन गर्ने तयारी गरिरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, "हामी युद्ध अन्त्यका लागि राष्ट्रपति ट्रम्प र उनको टोलीलाई पूर्ण सहयोग गर्नेछौँ।"

ट्रम्पले हमासले बाँकी बन्धकहरू (जीवित र मृत) रिहा गर्ने सहमति जनाइसकेको भन्दै इजरेललाई गाजामा बमबारी रोक्न भनेका थिए।

हालै इजरेलका प्रधानमन्त्री नेतन्याहू अमेरिकाको भ्रमणमा थिए जहाँ ट्रम्प र उनीबीच अमेरिकी प्रस्तावमा सहमति भएको थियो।

हमासले केमा सहमति जनाएको हो?

गाजामा रहेका महिला र बालबालिकाहरू

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा भिडिओमार्फत् सबै पक्षलाई न्यायसङ्गत व्यवहार गरिने बताएका छन्।

उनले हमास स्थायी शान्तिका लागि तयार रहेको आफूलाई लागेको बताएका छन्।

हमासले पनि राष्ट्रपति ट्रम्पको प्रतिक्रियालाई "उत्साहजनक" भनेर स्वागत गरेको छ।

उक्त समूहले गाजा स्ट्रीपको प्रशासन एउटा प्यालेस्टीनी प्राविधिक निकायलाई हस्तान्तरण गर्ने सहमति पुनः दोहोर्‍याएको छ।

हमासले एउटा विज्ञप्ति जारी गर्दै बाँकी रहेका सबै इजरेली बन्धकहरूको रिहाइ गर्नेमा सहमति जनाएको छ।

यद्यपि उक्त समूहले गाजामा शान्तिका लागि अमेरिकी प्रस्तावका धेरै मुख्य बुँदाहरूमा वार्ता गर्न आफूले चाहेको पनि जनाएको छ।

ट्रम्पले हमासलाई समयसीमा दिएको केही समयमै यो घोषणा भएको हो।

हमासको सहमतिबारे कुन देशले के भने?

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार र इजिप्टले हमासको प्रतिक्रियाको स्वागत गरेका छन्। कायरोले सकारात्मक भनी व्याख्या गरेको छ।

उनीहरूले इजरेल र हमासलाई युद्ध अन्त्य गर्ने अवसर छोप्न आह्वान गरेका छन्।

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले यसलाई प्रगतिको महत्त्वपूर्ण कदम भनेका छन्।

त्यस्तै जर्मन चान्सलर फ्रिडरिख मर्जले दुई वर्षको युद्धपछि शान्तिका लागि यो उत्तम मौका भएको बताएका छन्।

फ्रान्सका एमानुअल माक्रोँले हमासको प्रतिबद्धतालाई ढिलो नगरी अगाडि बढाउनुपर्ने बताएका छन्।

हमास र इजरेलको पछिल्लो प्रतिक्रियाबारे गाजामा रहेका मानिसहरूले आफूलाई त्यसबारे थुप्रै जिज्ञासा व्यक्त गरेको बीबीसी न्यूज गाजाका संवाददाता रुश्दी अबुआलुफले बताएका छन्।

उनीहरूले नाटकीय र द्रुत गतिमा भइरहेका घटनाक्रमहरू बुझ्न सङ्घर्ष गरिरहेका उनले बताए।

"मलाई गाजा भित्रबाट सयौँ सन्देशहरू आएका छन् जसमा यस्ता प्रश्नहरू रहेका छन्: "युद्ध समाप्त भयो?" र "यो सपना हो कि वास्तविकता हो?"

उनले आफूलाई सही उत्तर खोज्न गाह्रो प्रश्नहरू आएको बताएका हुन्।

आफ्ना साझेदारहरूबाट विगतमा कहिल्यै नपाएको दबावमा हमास रहेको आफूले बुझेको उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।