सहकारी प्रकरणमा नाम मुछिन पुगेका राष्ट्रपतिका सल्लाहकार भन्छन्- 'द्रवित भएर राजीनामा दिन्नँ'

तस्बिर स्रोत, Baburam Kunwar/FB
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
सहकारी ठगी प्रकरणमा आरोपित जीबी राई र छविलाल जोशीसँग नाम जोडिन पुगेका र राष्ट्रपति रामचन्द्र पौडेलका कानुनविज्ञ बाबुराम कुँवरले अहिले सार्वजनिक रूपमा उनीविरुद्ध उठेका प्रश्नकै आधारमा पदबाट "राजीनामा नदिने" बताएका छन्।
विगतमा आफू हाल प्रहरी हिरासतमा रहेका जोशी र फरार भनिएका राईले चलाएको एउटा कम्पनीको "कानुनी सल्लाहकार" रहेको भए पनि संस्थाको अन्य कुनै पनि गतिविधिमा संलग्न नरहेको उनको दाबी छ।
उनीमाथि उठेको नैतिक प्रश्नबारे गरिएको कुराकानीका क्रममा कुँवरले "सहकारी प्रकरणमा छविलाल जोशी पक्राउ परेपछि पूर्वगृहमन्त्री लामिछानेले आफ्नो सहयोग खोजेको" भन्ने गम्भीर आरोप लगाए।
"पक्राउ पर्नुअघि रवि लामिछानेको बारम्बार फोन गरेर मलाई 'माइल्ड थ्रेट' दिनुभयो," उनले भने।
उनले आफूले लामिछानेलाई कानुनी प्रक्रियामा गइसकेको विषयमा त्यसैअनुसार अघि बढ्न सुझाव दिएको तर उनले "लगातार फोन गरेको" पनि बताए।
लामिछानेलाई आफूले दिएको जबाफ भन्दै उनले भने, "सार्वभौम नेपाली जनताले छानेको संसदीय समितिले छानबिन गरेर प्रतिवेदन संसद्बाट सरकारलाई पठाएको र मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिकारप्राप्त अधिकारीकहाँ त्यो पठाइसकेपछि तपाईँ यस्तो कुरा गर्नुहुन्छ? भनेर दुई-तीन चोटि भनेँ।"
सहकारी ठगी प्रकरणमै अनुसन्धानका लागि गत साता प्रहरीले नियन्त्रणमा लिएका लामिछाने अहिले कास्कीमा हिरासतमा रहेकाले बीबीसीले उनीसँग यसबारे सोध्न सकेन। तर उनको दलका नेताहरूले कुँवरको आरोपलाई "निराधार" भनेर खण्डन गरेका छन्।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने, "त्यस्तो उहाँले गर्नुहुन्न त्यो गर्ने कुरा पनि होइन। उहाँ आफैँ गृह मन्त्रालय सम्हालिसकेको मान्छे- उहाँलाई थाहा छ नि त! त्यसरी धम्क्याउने/फकाउने रवि लामिछाने प्रवृत्ति नै होइन। रवि लामिछाने प्रवृत्ति भनेको जे आउँछ त्यसमा डटेर बस्ने हो- आफ्नो गल्ती छैन भने अडान लिने हो।"
"उहाँले त्यसरी याचना गर्ने भन्ने हुँदैन। त्यो पनि यस्तो राजनीतिक आक्रमण भएका बेला। यो निराधार हो।"
सहकारी प्रकरणमा कुँवरको नाम कसरी मुछियो?

तस्बिर स्रोत, Kuslav KC
हाल फरार रहेका भनिएका जीबी राईले चलाएको कम्पनीमा कुँवर कानुनी सल्लाहकार थिए भन्नेबारे केही सञ्चारमाध्यमले लेखेपछि सहकारी ठगी मामिलामा उनको नाम पनि मुछिन पुगेको थियो।
कुँवरले राई र जोशीसमेत सञ्चालक रहेको 'नेचर हर्ब्स' नामको कम्पनीमा कुनै बेला आफू कानुनी सल्लाहकार रहेको स्वीकारेका छन्।
उक्त कम्पनीमा कुँवर कानुनी सल्लाहकार रहेको सार्वजनिक भएपछि कैयौँले "नैतिकताका आधारमा पनि उनी राष्ट्रपतिको सल्लाहकार पदमा बस्न नमिल्ने" भनेर टिप्पणी गरेका छन्।
हाल राष्ट्रपतिका कानुनविज्ञ रहेका उनी पहिले गण्डकी प्रदेश प्रमुख तथा महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन्।
हालका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरका सहोदर दाइ भएकाले त्यो नाता पनि उल्लेख गर्दै उनीमाथि कतिपयले प्रश्न उठाइरहेका छन्।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिका सभापति सूर्य थापाले समेत सहकारी ठगीमा मुछिएका व्यक्तिका कानुनी सल्लाहकार राष्ट्रप्रमुखको विज्ञका रूपमा रहनु उचित नभएको सार्वजनिक टिप्पणी गरेका थिए।
'लान्छना लाग्दैमा राजीनामा दिन्न'
बीबीसीसँगको कुराकानीमा कुँवरले अहिले सार्वजनिक रूपमा उठेका प्रश्नकै आधारमा आफूले राजीनामा नदिने बताए।
उनले भने, "कुनै लान्छनायुक्त भनाइबाट द्रवित र पीडित भएर म राजनीनामा दिन्नँ। कसैले निराधार तथ्यहीन, आधारहीन कुरा लेखेकै आधारमा राजीनामा दिनुपर्छ भन्ने हुँदैन।"
उनले राई र जोशीको कम्पनीमा आफू सल्लाहकार भएकै आधारमा त्यसले कानुनी र संवैधानिक प्रश्न खडा नगर्ने दाबी गरे र दुवै प्रश्न खडा नभएपछि त्यो "नैतिक पतन"को कुरा पनि नभएको बताए।
"राजीनामा भनेको विल्कुल मेरो स्वविवेकको कुरा हो," उनले भने।
'राष्ट्रपतिले राजीनामा दिनूस् भनेको अवस्थामा पनि दिनुहुन्न त?' भन्ने प्रश्नमा उनले भने, "राष्ट्रपतिज्यूले बोलाएर 'राजीनामा दिनू' भन्नुभयो भने म दिन्छु। तर अहिले मेरो राष्ट्रपतिज्यूसँग भेट भएको छैन।"

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, Surya Thapa/FB
कुँवरले आफूमाथि नैतिक प्रश्न उठाउने संसदीय छानबिन समितिका सभापतिलाई पनि "छानबिनका क्रममा किन नबोलाएको त?" भन्ने प्रतिप्रश्न गरेका थिए।
त्यस विषयमा बीबीसीले सोधेको प्रश्नमा समितिका सभापति थापाले त्यसबारे आफूले टिप्पणी नगर्ने बताए।
उनले भने, "त्यसबारे अहिले टिप्पणी नगरौँ। मैले पहिले नै बोली र लेखिसकेको छु।"
यसअघि उनले फेसबुकमा लेख्दै कुँवरको प्रसङ्गलाई उचालेर केहीले अहिले लामिछानेसहितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई "विषयान्तर गर्न खोजेको" टिप्पणी गरेका थिए।
यद्यपि उनले जीबी राईको कानुनी सल्लाहकार भएको व्यक्ति राष्ट्रपतिको सल्लाहकार हुनु "लज्जाको विषय" भएको भनेर लेखेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








