मङ्सिरपछि ईपीएस परीक्षा दिनेले सन् २०२७ मा मात्रै कोरिया जान पाउने

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

दक्षिण कोरियामा रोजगारीका लागि अनिवार्य गरिएको ईपीएस भाषा परीक्षामा यो वर्ष उत्तीर्ण हुने नेपालीहरूले सन् २०२७ मा मात्रै कोरिया जाने पालो पाउने ईपीएस कोरिया शाखाले जनाएको छ।

शाखाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिएका ६७ हजार २९५ नेपाली कामदारहरूका लागि भाषा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।

एचआरडी र ईपीएस कोरिया शाखाले लिने पहिलो चरणको परीक्षामा उत्पादनमूलक क्षेत्रमा आवेदन दिएकाहरूलाई सहभागी गराइने निर्देशक बिन्दा आचार्यले जानकारी दिइन्।

आगामी मङ्सिर १ गतेबाट सञ्चालन हुने पहिलो चरणको परीक्षा सकिएपछि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने शाखाले जनाएको छ। कृषि तथा पशुपालन क्षेत्रमा यो वर्ष ३५ हजार जनाले आवेदन दिएका छन्।

"भाषा परीक्षा उत्तीर्ण गरेपछि उहाँहरूले रोस्टरमा राख्नुहुन्छ। रोस्टरमा रहेकाहरू रोजगारदाताबाट हुने छनौटका निम्ति योग्य हुनुहुन्छ," शाखाकी निर्देशक आचार्य भन्छिन्।

"अहिले जुन परीक्षा हुन गइरहेको छ यो सन् २०२७ का लागि हो। पुरानो रोस्टरमा रहेकाले आफूहरूलाई प्रभाव पार्ने हो कि भन्ने चिन्ता लिनु पर्दैन किनभने रोस्टरमा रहेकाको छनौट प्रक्रियामा अबको परीक्षाले कुनै असर पार्दैन।"

परीक्षा सक्न 'चार महिना' लाग्ने

यो वर्षका लागि एक लाख तीन हजार जनाको आवेदन परेकोमा सबै परीक्षा सक्न "चार महिना लाग्ने" ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन्।

एचआरडी र ईपीएस कोरिया शाखाले दैनिक ८०० देखि १००० जनाको मात्रै परीक्षा लिने गरेका छन्। एक सिफ्टमा २०० को दरले दिनमा चार देखि पाँच सिफ्टको परीक्षा लिने गरिएको छ। एचआरडीले सुरुका ३८ दिन चार सिफ्टमा र त्यसपछिका ३७ दिन पाँच सिफ्टमा परीक्षा लिने बताएको छ।

कोरियामा डिसेम्बरको अन्त्यतिर क्रिसमस र ज्यानुअरीको आरम्भमा नयाँ वर्षको बिदा हुने भएका कारण त्यसबीचको एक साता परीक्षा सञ्चालन नहुने निर्देशक आचार्यले बताइन्।

"कृषि र पशुपालनको परीक्षा चाहिँ नेपालको चुनावपछि गर्ने कि भन्ने कुरा छ," आचार्यले भनिन्।

गत वर्ष एक लाख ६३ हजार बढीले आवेदन दिएका कारण परीक्षा सक्न करिब एक वर्ष लागेको थियो।

दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट कामदार लैजाने बताएको छ। तर यो वर्ष उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा मात्रै कामदार माग भएको अधिकारीहरूले बताएका छन्।

"यो वर्ष परीक्षा दिएकाहरूमध्येबाट बढीमा ५,३०० जना कोरिया जान पाउँछन्। त्यसमध्ये ३,५०० जना उत्पादनमूलक र १,८०० जना कृषि तथा पशुपन्छी क्षेत्रमा माग भएको छ," ईपीएस कोरिया शाखाका सूचना अधिकारी राजकिशोर साह भन्छन्।

ईपीएस प्रणाली अपनाएर विभिन्न १६ वटा देशबाट कामदार लैजाने गरेको दक्षिण कोरियाले यसअन्तर्गत सबैभन्दा धेरै कामदार नेपालबाट छनोट गरिरहेको अधिकारीहरू बताउँछन्।

अघिल्लो वर्ष ९,२८५ जान कामदार लगेको दक्षिण कोरियाले यो वर्ष ज्यानुअरीयता ९,९०५ जना नेपाली कामदार लगिसकेको छ। वर्षको अन्त्यसम्म यो सङ्ख्या अझै बढ्ने निर्देशक आचार्य बताउँछिन्।

रोस्टरमा बसेकाको चिन्ता

ईपीएस शाखाका अनुसार अझै करिब १५,००० जना युवा ईपीएस भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्। त्यसमध्ये १,५०० जना यसअघि कोरियामा काम गरिसकेर फर्किएकाहरू छन्।

भाषा परीक्षा उत्तीर्ण भएका सबैलाई कोरियाले कामदारका रूपमा लैजाने सुनिश्चित भने हुँदैन।

रोजगारदाताको छनोटमा नपरेका केही युवाहरू भाषा परीक्षामा सफल भए पनि कोरिया जानबाट वञ्चित हुन सक्ने निर्देशक आचार्य बताउँछिन्।

"भाषा पास गरेपछि रोस्टरमा रहेकाहरूबाट रोजगारदाताले कामदार छनौट गर्ने हो। त्यसमध्ये कतिपय कामदार रोजगारदाताको प्राथमिकतामा नपर्न पनि सक्छन्," उनले भनिन्।

यो वर्ष पनि रोस्टरमा रहेकाहरूले यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेकाहरू कोरिया नगएसम्म नयाँ परीक्षा नलिन दबाव दिएका थिए। रोस्टरमा रहेर कोरिया जाने प्रतीक्षामा रहेका कामदारहरूको समस्या समाधानका लागि वार्ता टोली नै बनाएर काम भइरहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

"ईपीएस कोरिया शाखाले उहाँहरूको मागबारे के गर्न सकिन्छ भनेर एउटा वार्ता टोली गठन भएको छ। यो कुरालाई सम्बन्धित निकायबाट सहजीकरण पनि भइरहेको छ," आचार्य भन्छिन्।

अर्कोतर्फ परीक्षाको तयारी गरिरहेका युवाहरूले पनि परीक्षा कार्यतालिका छिटो प्रकाशित गर्न शाखालाई दबाव दिएका थिए। सेप्टेम्बरमा प्रकाशित हुनुपर्ने कार्यतालिका रोस्टरमा रहेकाको प्राथमिकता विवादकै कारण केही ढिलो भएको भन्ने चर्चा पनि चलेको थियो।

कोरियाको ईपीएस प्रणाली के हो

ईपीएस दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली हो। यो प्रणालीअन्तर्गत नेपालबाट कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।

वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार हाल ४०,००० भन्दा बढी नेपाली दक्षिण कोरियामा काम गरिरहेका छन्।

शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार ईपीएस दक्षिण कोरियाको विदेशी कामदार लैजाने एउटा प्रणाली हो।

ईपीएस नेपालको वेबसाइटका अनुसार १८ देखि ३९ वर्षका व्यक्तिहरू जसले कोरियाको भाषा परीक्षा पास गरेका छन्। उनीहरूले उक्त प्रणालीबाट रोजगारीको अवसर पाउन सक्छन्।

तर त्यसको लागि विगतमा गैरकानुनी रूपमा कोरियामा नबसेको, स्वास्थ्य परीक्षा पास भएको, नेपालबाट बाहिर यात्रा गर्न प्रतिबन्ध नभएको र आपराधिक कसुर नगरेको प्रमाणित हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।