रुसद्वारा युक्रेनमाथि तीव्र आक्रमण, ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेको छ। अधिकारीहरूका अनुसार रातको समयमा युक्रेनमा कम्तीमा ८० वटा क्षेप्यास्त्र प्रहार गरिएको छ।

उक्त आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको बताइएको छ।

युक्रेनी सेनाले ८० क्षेप्यास्त्र मध्ये ३४ वटा आफूहरूले झारिदिएको जनाएको छ।

युक्रेनकी सांसद इना सोभसनले पछिल्लो आक्रमण सर्वसाधारणहरूलाई आफ्नो देश ‘‘बस्नका लागि सुरक्षित नरहेको’’ महसुस गराउने क्रेमलिनको प्रयास रहेको बताएकी छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार आक्रमणमा 'हाइपरसोनिक' मिसाइल प्रयोग गरिएको छ।

टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै रुसको रक्षा मन्त्रालयले ब्रियान्स्कस्थित सीमा क्षेत्रमा युक्रेनी घुसपेठको ‘प्रतिउत्तरमा’ हाइपरसोनिक मिसाइल आक्रमण गरिएको जनाएको छ।

तर उक्त दाबीलाई किएभले कडा शब्दमा खण्डन गर्दै आएको छ।

संवेदनशील पूर्वाधारमा क्षति

पछिल्लो रुसी आक्रमणका कारण कैयौँ संवेदनशील पूर्वाधार अनि युक्रेनका विभिन्न क्षेत्रमा रहेका घरहरूमा क्षति पुगेको विवरणहरू प्राप्त भएको छ।

युक्रेनमा रुसले आक्रमण चर्काएसँगै उक्त ऊर्जा केन्द्र प्रभावित भएको थियो। युक्रेनको पावर ग्रिड सञ्चालकले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा ऊर्जा पुन: स्थापित भएको जनाएको छ।

राष्ट्रसङ्घको परमाणु निगरानीसम्बन्धी निकायका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रबारे आपत्‍कालीन सुरक्षा चेतावनी जारी गरेका छन्।

राफायल ग्रसीले रुसले कब्जामा राखेको युक्रेनको जापोरिज्या परमाणु उर्जा केन्द्रमा हुनसक्ने सम्भावित विपत्बाट जोगाउन तत्काल कदम चाल्न माग गरे।

रुसले आक्रमण थालेयता उक्त केन्द्रबाट छैठौँपटक पूर्ण रूपमा बिजुली आपूर्ति बन्द भएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले त्यहाँको समय अनुसार बिहान १० वटा क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरिएको बताएका छन्।

उनले त्यस्तो प्रहारलाई मस्कोको “दयनीय रणनीति” भन्दै निन्दा गरेका छन्।

पछिल्लो आक्रमणका कारण कैयौँ स्थानमा विद्युतीय आपूर्ति अवरुद्ध भएको बताइएको छ।

उत्तर पूर्वी खार्किभ क्षेत्रका गभर्नरका अनुसार ७० प्रतिशत सर्वसाधारणकहाँ हाल विद्युत आपूर्ति भइरहेको छ।

राजधानी किएभमा भने केही बासिन्दा न्यानो बनाउने उपकरण बिनै बस्न बाध्य भएको र त्यहाँ पानीको आपूर्ति पुनः सुरु गर्नका लागि प्रयास गरी राखिएको बताइएको छ।