कसरी गुमनाम भयो लुम्बिनी चिनी कारखाना?

चिनी उद्योग
तस्बिरको क्याप्शन, लुम्बिनी चिनी उद्योग
    • Author, माधव नेपाल
    • Role, बुटवल, बीबीसी न्युज नेपाली

नेपालमा सबैभन्दा बढी चिनीको माग हुने समय भनेको दशैँ र तिहारको समय हो र चिनीको मागसँगै जोडिएर आउने अर्को नाम हो लुम्बिनी चिनी उद्योग।

कुनैबेला चिनी उत्पादनका लागि देशकै मुख्य र नमुना उद्योगको रूपमा नाम कमाएको यो उद्योग अहिले भने करिब गुमनाम जस्तै छ।

चीन सरकारको सहयोगमा विक्रम सम्बत् २०४५ सालमा सञ्चालनमा आएको यो उद्योग स्थापनाको करिब १० वर्ष सम्म राम्रै चलेको थियो।

तर राम्रोसँग चलिरहेको उक्त उद्योगलाई २०६२/६३ सालमा एकाएक निजीकरण गरिएपछि उद्योगले गति लिन नसकेको बताइन्छ।

चाडबाडको मुखमा आमसर्वसाधारणले चिनीको अभाव महसुस गरिरहेको बेला कुनैबेला निर्यात गर्ने उद्योग अहिले कसरी गुमनाम भएको छ भन्नेबारे हामीले खोतल्ने प्रयास गरेका छौँ।

व्यवस्थापनको कमजोरी

लुम्बिनी चिनी उद्योग
तस्बिरको क्याप्शन, लुम्बिनी चिनी उद्योग

सो उद्योगमा लामो समय सम्म काम गरेका कर्मचारीहरूले तत्कालीन व्यवस्थापन समितिको कारण उद्योग धराशायी भएको र उनीहरूले नै उद्योगलाई निजीकरण गर्नै पर्ने अवस्थामा पुर्‍याएको बताउँदै आएका छन्।

"उद्योग चल्दा सम्म सबैले यसलाई लुट्ने काम गरे," त्यहाँका पूर्व कर्मचारी धनप्रसाद तिवारी भन्छन्, "मन्त्री आउँथे, यही उद्योगले तेल भरिदिनु पर्थ्यो, खुवाउनु पर्थ्यो अनि चिनी बोकेर पठाउनु पर्थ्यो। यसको देखासिकी ठूला कर्मचारीहरूले पनि गर्न थाले।"

अहिले उक्त उद्योग अग्रवाल समूहले सञ्चालन गर्दै आएको छ।

कारखाना रहेको जग्गा र घर सरकारले भाडामा दिएको हो भने कारखाना अग्रवाल समूहलाई सरकारले बिक्री गरेको हो।

जग्गा र घरको भाडा बापत कारखानासँग सरकारले वार्षिक ४७ लाख रुपैयाँ लिँदै आएको बताइन्छ।

नवलपरासीको सुनवलमा रहेको सो कारखानाले सरकारको करिब ८६ बिगाहा जग्गा उपयोग गर्दै आएको छ।

उखु खेती

घट्यो उत्पादन

सो उद्योगका व्यवस्थापक कुश सुवेदीले गत वर्ष उक्त चिनी कारखानाले करिब २४ सय क्विन्टल चिनी उत्पादन गरेको बताए।

"सरकारले सञ्चालन गर्दाको समयमा जस्तो गरी चिनी उत्पादन त भएको छैन," सुवेदीले भन्छन्, "तर अब बिस्तारै गति लिन सक्ने देखिएको छ।"

अग्रवाल समूहको घरायशी विवादका कारण केही वर्ष कारखाना पूर्ण रूपले बन्द भएको थियो।

"सरकारी स्वामित्वमा हुँदा उद्योगले प्रत्येक दिन करिब १ हजार क्विन्टल चिनी उत्पादन गर्थ्यो," तत्कालीन सुनवल गाउँपालिका पूर्व अध्यक्ष थानप्रसाद गैरेले भने।

"जसका कारण समग्र देश नै चिनीको लागि करिब करिब आत्मनिर्भरको अवस्थामा पुगेको थियो।"

कुनै समय १७ सय कर्मचारीले काम गर्ने उक्त कारखानामा अहिले करिब ५ सय कर्मचारीले मात्र काम गर्ने गरेको व्यवस्थापक सुवेदीले बताए।

उखु किसानलाई मर्का

यो उद्योगको ओरालो गतिसँगै त्यसको प्रत्यक्ष मारमा परेको अर्को क्षेत्र हो उखु उत्पादन।

कुनै समय उखु उत्पादनको लागि अब्बल जिल्ला मानिने नवलपरासीमा अहिले उखु उत्पादन धराशायी भएको छ भने किसानहरूले पहिले बेचेको उखुको पनि भुक्तानी पाउन सकेका छैनन्।

"यो उद्योगले किसानलाई उठिबास लगायो," पहिलेका एक उखु किसान प्रेमचन्द गुप्ता भन्छन्," सुरुमा उखु लगाउन प्रोत्साहन गरियो तर बिस्तारै उखु किसानले भुक्तानी पाउन छाडे।"

अहिले देशभरी करिब एक दर्जन चिनी मिलहरू सञ्चालनमा छन्।

तर ती मिलहरू पनि पूर्ण क्षमता अनुसार सञ्चालन हुन भने नसकिरहेको बताइन्छ।

हाल देशमा बर्सेनि करिब दुई लाख २५ हजार मेट्रिक टन बढी चिनीको माग हुने गरेकोमा करिब डेढ लाख मेट्रिक टन मात्र यहाँ उत्पादन हुन्छ भने बाँकी चिनी मुख्य गरेर भारतबाट आयात हुने गर्छ।

सरकारी स्वामित्वमा रहँदा लुम्बिनी चिनी उद्योगले थाइल्यान्डमा नियमित जसो चिनी निर्यात गर्ने गरेको त्यहाँका तत्कालीन कर्मचारीहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।