तराईमा उखु खेती नै लोप हुने चिन्ता

उखु

दशैं, तिहार र छठजस्ता चाड लश्करै आउने शरद ऋतुमा चिनीको उच्च खपत हुने भएपनि चिनीमा नेपालको परनिर्भरता कायमै छ।

कुनैबेला चिनीमा आत्मनिर्भर हुनै लागेको नेपालले अहिले वर्षेनी १५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिनी विदेशबाट आयात गर्नुपरिरहेको अधिकारीहरु बताउँछन्।

चिनी उद्योग र उखु उत्पादक किसानबीच मूल्य निर्धारण र भुक्तानीको तारतम्य मिल्न नसक्दा उखु खेतीबाट किसानहरुको आकर्षण लगातार घटिरहेको छ।

उखु किसान अन्य खेतीतर्फ आकर्षित हुन थालेपछि नेपालको तराई भेगमा रहेका चिनी उद्योग नै संकटमा पर्न सक्ने चिन्ता बढेको छ।

निराशा

खासगरी उखुको मुल्य र भुक्तानीसम्बन्धी समस्याले किसानहरु निराश भएको बताउँछन्।

प्रतापुरका जोहार यादवले भने, "धेरै समस्या छ। भुक्तानीको समस्याले अब किसानहरुले केरा खेती गर्न थालेका छन्।"

जोहारले जस्तै नाथुकुमार यादवले खेतमा लगाउने बाली परिवर्तन त गरिसकेका छैनन् तर भुक्तानीको झन्झटिलो प्रक्रियाका कारण उनी पनि निराश देखिन्छन्।

२०५९/०६० सालतिर करिब ५८ लाख क्विन्टलसम्म उखु उत्पादन हुने नवलपरासी जिल्लामा अहिले मुस्किलले १३/१४ लाख क्विन्टल मात्र उखु उत्पादन हुदै आएको बताइन्छ।

मिल

यस्तो समस्या उखु उत्पादन हुने तराईका प्रायः सबै जिल्लामा देखिएको छ।

उखु उत्पादक महासंघका सदस्य प्रेमचन्द गुप्ताका अनुसार नगदेबाली भनिने उखु 'उधारो बाली'को रुपमा परिणत गरिएपछि नेपालमा चिनी उत्पादनको अधोगति शुरु भएको हो।

सञ्चालन

उनी भन्छन्, "एक त सरकारले समयमै मूल्य निर्धारण गर्दैन र पछि गरे पनि समयमा भुक्तानी हुँदैन। उखु खेती लोप हुने अवस्थामा पुग्दैछ।"

उखु उत्पादन घट्दै गएपछि चिनी मिलहरु पनि पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्।

अहिले देशभरी करिब एक दर्जन चिनी मिलहरु सञ्चालनमा छन् र ती मिलहरु क्षमता अनुसार सञ्चालन हुने हो भने नेपाल चिनीमा आत्मनिर्भर हुने बताइन्छ।

पूर्णरुपमा स्वदेशी कच्चा पदार्थबाट सञ्चालन हुने चिनी उद्योगको अवस्था खस्किंदै जानुका पछाडि उखुको मूल्य निर्धारणमा सरकारी रवैया व्यावहारिक नभएको जानकारहरु बताउँछन्।

हाल देशमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग हुने गरेकोमा करिब डेढ लाख मेट्रिक टन मात्र यहाँ उत्पादन हुन्छ भने बाँकी चिनी मुख्य गरी भारतबाट आयात गरिन्छ।