कृषक महिला भन्छन्, 'अब उखुखेती नै नगर्ने निर्णयमा पुगेका छौँ'

तस्बिर स्रोत, RSS
- Author, माधुरी महतो
- Role, बीबीसी न्यूज नेपाली
चिनी उद्योगीसँग वर्षौँदेखिको उखुको भुक्तानी लिन बाँकी रहेको भन्दै गत आइतवारदेखि राजधानी काठमाण्डूमा उखुखेती गर्ने कृषकहरूले प्रदर्शन गरिरहेका छन्।
यस पटक उधारो सहमति नगर्ने र उखुको सम्पूर्ण भुक्तानी लिएर मात्र घर फर्कने अडान उनीहरूले कसिरहेका छन्।
उद्योगमन्त्रीले उनीहरूका समस्या "तत्काल समाधान गर्ने" प्रतिबद्धता जनाएका छन्।
यद्यपि उखु कृषकहरू अझै पनि सरकारी आश्वासनप्रति विश्वस्त हुन सकेका छैनन्।
वर्षौँदेखि उखु खेती गर्दै आएका र हरेक वर्ष भुक्तानीको समस्या भौग्दै आएका कृषकको परिवार र त्यसमाथि पनि विशेषगरी महिलाहरू पारिवारिक दायित्वको बोझमा पर्ने गरेको बताउँछन्।
नगदेबालीका रूपमा उखुखेती गरेको भए पनि त्यसैबाट हुने आम्दानी रोकिएपछि आफूहरू पीडामा परेको उखु कृषक महिलाहरूको गुनासो छ।
गत वर्षको जाडो याममा पनि कृषकहरूले काठमाण्डू पुगेर आन्दोलन गरेका थिए।
तर त्यस बेला गरिएको वाचाअनुसार रकम भुक्तानी नभएको प्रदेश नम्बर २ का कृषक महिलाहरूको गुनासो रहेको छ।
यस प्रदेशका सयौँ कृषकहरूको करौडौँ रकम अहिले पनि उद्योगीहरूले भुक्तानी नगरेको कृषकहरू बताउँछन्।
के भन्छन् कृषक महिला?
वर्षौँदेखि चिनी उद्योगीले समयमा रकम नदिएको पीडा भोग्दै आएको बताउने रौतहटकी उखु कृषक मिथिलेश देवी उखु खेती गरेर धैरै घाटा बेहोरेको महसुस भइरहेको बताउँछिन्।

तस्बिर स्रोत, rss
उनी भन्छिन्, "उखु रोप्नुमा धेरै घाटा रहेको जस्तो लाग्दैछ। हामी गरिब मान्छे बालबच्चालाई पढाउन, कर्जा तिर्न गाह्रो छ। अब उखुखेती नै नगर्ने निर्णयमा पुगेका छौँ हामी।"
"कतिले त पोहोरदेखि उखु खेती छोडेर तरकारी खेती गर्न थाले। हामी सानो मान्छे, हाम्रो कुरा कसले सुनिदिने? ठूलो पदमा हाम्रो गुनासो सुनिदिने कोही छैनन्।"
तीन बिगाहभन्दा बढी जग्गामा उखुखेती गर्दै आएकी रौतहट माधोपुरकी सोमारी देवी चिनी उद्योगीले समयमा रकम भुक्तानी नगर्दा घरव्यवहार चलाउनै समस्या परेको बताउँछिन्।
उनी भन्छिन्, " चिनी मिलले पैसा नै नदिएपछि कसरी घर परिवारको खर्च र व्यवहार चलाउने? जागिर व्यवसाय सबै उखुखेती नै हो, अब चिनी मिलले बक्यौता पैसा नदिए पछि घर खर्च चलेको छैन।"
"कर्जा तिर्न सकिएको छैन। तीन बिगाहामा उखुखेती गर्न चार-पाँच लाख रुपैयाँ कर्जा लिएका छौँ। अब खेतीबाट आम्दानी गर्ने आशा पनि मरेर गएको छ। त्यसैले छोराछोरीको पढाइबीचमै रोक्न बाध्य छौँ।"
उनी छोराछोरीको विवाहमा लिएको ऋण पनि तिर्न नसकेको बताउँछिन्।
सर्लाहीकी लालसादेवी यादवको दुखेसो पनि उस्तै छ।
उनी भन्छिन्, "मिलले पैसा नदिएपछि हाम्रो खानापानी नै बन्द हुने अवस्था छ। दिनदिनै कर्जा माग्न कहाँ जानू?"
"परिवारमा खर्च धेरै छ तर आम्दानीको स्रोत हुँदाहुँदै लिन पाएका छैनौँ। खेती गर्दा त मेहनत हामीले गरेकै छौँ नि। तर पैसाको अभावका कारण छोराछोरीको हरेक कुरामा बन्देज लगाउनुपर्दा मन दुख्छ।"
बाँकी भुक्तानी
उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायका अनुसार अहिले पनि विभिन्न उद्योगहरूबाट कृषकले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।
कतिपय कृषकले त वर्षौँदेखि भुक्तानी पाएका छैनन्।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमणि मैनालीका भनाइमा चाहिँ विभिन्न उद्योगबाट गरेर अहिले कृषकहरूले पाउनुपर्ने रकम करिब ६० करोडको हाराहारीमा रहेको छ।

सरकारले चाहिँ चिनी मिलहरू रुग्ण बन्दा उखु कृषकको भुक्तानी बाँकी रहेको बताएको छ।
तर उनीहरूको भुक्तानी दिन छलफल भइरहेको उद्योगमन्त्री लेखराज भट्टले सोमवार बीबीसीसँग बताए।
उनले भने, "सबै उद्योगको बक्यौता छैन। केही उद्योगहरू रुग्ण भएर बाँकी रहेको हो। हामीले छलफल गरिरहेका छौँ। उद्योगीलाई बोलाएर फेरि छलफल गर्दैछौँ। सरकारले आफैँले रकम दिने होइन उद्योगीबाट कृषकलाई दिलाइदिने हो।"










