मुख जोडेर चुम्बन 'पहिलो पटक २.१ करोड वर्षभन्दा अघि'

तस्बिर स्रोत, Getty Images
- Author, भिक्टोरिया गिल
- Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
चुम्बन मानिसहरूले गर्छन्, बाँदरहरूले गर्छन् अनि ध्रुवीय भालुहरूले पनि गर्छन्। जनावरहरूमा यस्तो क्रियाकलाप कहिले सुरु भयो भनेर अनुसन्धानकर्ताहरूले त्यसको विकासक्रम खोतलेका छन्।
उनीहरूको अनुसन्धानले दुई करोड १० लाख वर्षभन्दा अगाडि नै जनावरहरूले मुख जोडेर चुम्बन गर्न थालेका थिए भन्ने देखाएको छ। आधुनिक मानवजाति र अन्य 'ग्रेट एप'का साझा पुर्खा पनि सम्भवतः त्यसै गर्थे।
उक्त अनुसन्धानले नीयान्डर्टाल आदिमानवहरू पनि सम्भवतः चुम्बन गर्थे भन्दै मानवजाति र नीयान्डर्टालहरूले एकआपसलाई चुमेको हुन सक्ने निष्कर्ष निकालेको छ।
जीवहरूको विकासक्रममा चुम्बन एउटा रहस्यजस्तै बनेकाले वैज्ञानिकहरूले यसबारे अध्ययन गरेका हुन्। चुम्बन गर्दा अस्तित्व रक्षा वा प्रजनन गर्न सहयोग पुग्दैन। तर मानवहरूले मात्र नभई लगभग सबैजसो जनावरहरूले चुम्बन गरेको देखिन्छ।
अन्य जनावरहरूमा पनि यस्तो क्रियाकलापको प्रमाण फेला परेपछि वैज्ञानिकहरूले चुम्बन गर्न कहिले सुरु भएछ भनेर खोज्न "विकासक्रमको वंशवृक्ष" बनाए।
चुम्बनको परिभाषा
भिन्नाभिन्नै प्रजातिका जीवहरूमा एउटै व्यवहारको तुलना होस् भनेर सुनिश्चित गर्ने उद्देश्यसहित वैज्ञानिकहरूले "चुम्बन" को स्पष्ट परिभाषा निर्धारण गरे। त्यो परिभााषा नीरस छ अर्थात् प्रेमपूर्ण छैन।
यो शोध भर्खरै 'ईभलूशन एन्ड ह्यूमन बिहेभ्यर' जर्नलमा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरूले आक्रामक नभई सोझै मुख र मुख जोड्ने क्रियाकलापलाई चुम्बन मानेका थिए। त्यसो गर्दा ओठ र मुखका भागहरू अलिअलि चल्ने तर खानेकुरा एउटा जीवको मुखबाट अर्कोको मुखमा स्थानान्तरण नहुने भनिएको छ।
"मान्छे, चिम्पान्जी र बोनोबो सबैले चुम्बन गर्छन्," मुख्य अनुसन्धानकर्ता डा मटिल्डा ब्रिन्डलले भनिन्। त्यसका आधारमा ती जीवका नजिकका साझा पूर्वजले पनि चुम्बन गर्थे भन्ने निष्कर्ष उनको छ।
डा ब्रिन्डल यूनिभर्सिटी अफ अक्सफर्डसँग आबद्ध विकासक्रममा विशेषज्ञता भएकी जीववैज्ञानिक हुन्। "चुम्बन 'लार्ज एप'हरूमा झन्डै २.१५ करोड वर्षअघि विकसित भयो भन्ने हामीलाई लाग्छ," उनले भनिन्।
'ग्रेट एप" वा 'लार्ज एप' समूहमा वानरसदृश पुच्छरविहीन गोरिला, ओराङ्उटान, चिम्पान्जी, बोनोबो र आधुनिक मानवजातिका पुर्खा पर्छन्।
अनेकौँ प्रजातिका जीवले गर्छन् चुम्बन

तस्बिर स्रोत, Getty
यो अनुसन्धानमा वैज्ञानिकहरूले गरेको परिभाषाअनुसार ब्वाँसा, घाँसे मैदानमा बस्ने कुकुर, ध्रुवीय भालु र आल्बट्रस भनिने समुद्री पक्षीले पनि चुम्बन गर्ने गरेको देखियो। ध्रुवीय भालुहरूले चुम्बन गर्दा जिब्रो प्रयोग गर्ने र धेरै लतरपतर हुने गरेको पाइयो।
मानवजातिमा चुम्बनको थालनी र विकासक्रम उजागर गर्न अनुसन्धानकर्ताहरूले 'प्राइमेट' विशेष गरी 'एप' अर्थात् पुच्छर नहुने तर बाँदरजस्ता देखिने जीवहरूमा आफ्नो ध्यान केन्द्रित गरे।
हामी मानवजातिको सबैभन्दा नजिकको नातेदार नीयान्डर्टाल आदिमानवहरूले पनि चुम्बन गर्ने गरेको निष्कर्ष यो अनुसन्धानको छ। नीयान्डर्टालहरू झन्डै ४०,००० वर्षअघि नै लोप भइसके।
यसअघि नीयान्डर्टालको डीएनएबारे गरिएको एउटा छुट्टै अनुसन्धानमा नीयान्डर्टालको मुखमा हिजोआज हाम्रो थुकमा पनि पाइने सूक्ष्मजीव पाइएको देखिएको थियो।
"त्यसको अर्थ ती दुई प्रजातिको हाँगा छुट्टिएको हजारौँ वर्षपछि पनि उनीहरूले थुक साटफेर गर्न जारी राखेको हुनुपर्छ," डा ब्रिन्डलले भनिन्।
एउटा अनुत्तरित प्रश्न - चुम्बन किन

तस्बिर स्रोत, Getty
यो अध्ययनले चुम्बनको विकासक्रमको समय निर्धारण गरे पनि जीवहरूले किन चुम्बन गर्न थाले भन्ने प्रश्नको उत्तर चाहिँ दिएको छैन।
मानिसहरूले चुम्बन गर्नुका कारणबारे विभिन्न मान्यताहरू प्रचलनमा छन्। तीमध्ये एउटाका अनुसार हाम्रा एप पूर्वजमा विद्यमान 'ग्रूमिङ' (मुख वा हत्केला प्रयोग गरेर सफाइ) गर्ने व्यवहारबाट चुम्बन गर्ने परम्परा विकसित भएको हो। केहीले चुम्बनलाई भाले र पोथीबीच समागम हुनुअघि एकअर्काको स्वास्थ्यस्थिति र अनुकूलता जाँच्ने अन्तरङ्ग उपाय पनि मानेका छन्।
डा ब्रिन्डल आफ्नो अनुसन्धानले यो अनुत्तरित प्रश्नको उत्तर खोज्न बाटो खोलिदिने आशा व्यक्त गर्छिन्।
"हामी र हाम्रा गैरमानव नातेदारमा पनि यो समान व्यवहार छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ," उनले भनिन्।
"यसलाई बेकारको विषय नमानी हामीले यो व्यवहारको अध्ययन गरिरहनुपर्छ किनभने मानवजातिमा चुम्बनको प्रेमपूर्ण अर्थ छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








