इन्डोनेशियामा ज्वालामुखी विस्फोटन, कम्तीमा १० जनाको मृत्यु

इन्डोनेशिया ज्वालामुखी

तस्बिर स्रोत, EPA

    • Author, एमी वाकर
    • Role, बीबीसी न्यूज
    • Author, जोनाथन हेड
    • Role, बीबीसी दक्षिणपूर्व एशिया संवाददाता

पूर्वी इन्डोनेशियामा सोमवार बिहानै एउटा ज्वालामुख विस्फोट भएपछि कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्।

पूर्वी नुसा टेङ्गारा प्रान्तको फ्लोरेस टापुमा अवस्थित लेवोटोबी लाकी-लाकी नाम गरेको पहाडमा स्थानीय समयानुसार रातिको २३:५७ बजे ज्वालामुखी विस्फोट भएको इन्डोनेशियाको ज्वालामुखी तथा भौगर्भिक विपद् न्यूनीकरण केन्द्र (पीभीएमजी)ले जनाएको छ।

सो निकायका प्रवक्ता हाडी विजयाले भने ज्वालामुखीको केन्द्रबाट चार किलोमिटर टाढा रहेका गाउँहरूमा आगो दन्केको लाभाका टुक्रा र ढुङ्गाहरू उछिट्टिएर पुगेका थिए र त्यसबाट कतिपय घरहरूमा आगलागी हुनुका साथै अन्य क्षति पुगेको थियो।

स्थानीय अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटबाट सातवटा गाउँ प्रभावित भएका छन्।

पीभीएमजीका अनुसार ज्वालामुखीबाट आएका “प्रज्वलनशील पदार्थहरूका कारण आवासीय क्षेत्रमा” आगलागी भएको छ।

इन्डोनेशिया ज्वालामुखी

तस्बिर स्रोत, HANDOUT

उक्त निकायले ज्वालामुखीबाट पुग्ने खतराको सूचनाको तहलाई उच्चतम स्तरमा बढाएको छ र ज्वालामुखीको केन्द्रबाट सात किलोमिटरको अर्धव्यासको क्षेत्रभित्र पर्ने सबै ठाउँ खाली गराइनुपर्ने बताएको छ।

स्थानीय अधिकारी हिरोनीमस लामावुरानले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै भने, "हामीले आज बिहानैबाट यहाँका मानिसहरूलाई ज्वालामुखीबाट २० किलोमिटर पर रहेका गाउँहरूमा सार्न थालेका छौँ।”

प्रत्यक्षदर्शीहरूले बीबीसी न्यूजलाई उपलब्ध गराएका भिडिओ फुटेजहरूमा ज्वालामुखीको खरानीले ढाकेका मानिसहरू, आकाशबाट बर्सिरहेका ढुङ्गाहरू र घरहरू जलेका र आगलागीले डढेका स्थानहरू पनि देखिन्छ।

इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले आगामी दिनहरूमा अकस्मात् आउने बाढी र बगेर आउने चिसो लाभाले समस्या निम्त्याउने चेतावनी पनि दिएका छन्।

स्थानीय सरकारहरूले आगामी ५८ दिनका लागि प्रभावित क्षेत्रमा सङ्कटकालको घोषणा गरेका पनि गरेका छन्। त्यसको अर्थ केन्द्र सरकारले विपद् प्रभावित १०,००० जनालाई राहत उपलब्ध गराउन सहयोग पुग्ने छ।

इन्डोनेशियामा ज्वालामुखीको खरानी लागेका मानिस

तस्बिर स्रोत, HANDOUT

लेवोटोबी लाकी-लाकी पर्वत फ्लोरेस टापुको पूर्वी कुनामा अवस्थित प्रमुख दुई ज्वालामुखी पर्वतमध्ये एक हो। त्यसमा गत डिसेम्बर महिनायता बेलाबेला विस्फोट हुने गरेको छ। उक्त पर्वतबाट तीन किलोमिटर वरै रहन यसअघि नै चेतावनी पनि जारी गरिएको थियो।

यो वर्ष त्यस क्षेत्रमा लामो समयसम्म चलिरहेको ज्वालामुखी गतिविधिले स्थानीय अर्थतन्त्रलाई नराम्रो असर पारेको छ।

सयौँ मानिसहरूले आआफ्नो घर छाड्नुपरेको छ। उनीहरू विद्यालयहरूमा आश्रय लिइरहेका छन्। ज्वालामुखीका कारण ठूलो मात्रामा खसेको खरानीले आफूहरूको बाली नष्ट भएको काजुखेती गर्ने किसानहरूले गुनासो गरेका छन्।

इन्डोनेशिया प्रशान्त महासागरीय क्षेत्रमा आगोको घेरा 'रिङ अफ फाएर' भनिने उच्च भूकम्पीय गतिविधि भइरहने इलाकामा पर्छ। यसको मुनि एकभन्दा बढी टेक्टोनिक प्लेटहरू छन् र त्यहाँ १३० वटाजति सक्रिय ज्वालामुखीहरू छन्।

त्यस क्षेत्रको माटो निकै उर्वर हुने हुँदा धेरै मानिसहरू ज्वालामुखीको नजिकको क्षेत्रमा जोखिम उठाएरै भए पनि बसोबास गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।