सकियो युवा महिला टोलीको चारमहिने 'स्वप्निल' क्रिकेट यात्रा, विश्वकपमा जितविहीन

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
पछिल्ला चार महिना १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट टोलीको यात्रा स्वप्निल रह्यो।
कात्तिक महिनामा टोली इतिहास रच्दै पहिलो पटक विश्वकपका लागि छनोट भयो। विश्वकपमा छनोट भएकै कारण त्यसको अर्को महिना टोलीले एशिया कप खेल्ने अवसर पायो।
त्यसलगत्तै चितवनमा एक महिना बन्द प्रशिक्षण गरेर टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्यो। आज बुधवार विश्वकपमा अस्ट्रेलियासँग पराजित भएसँगै यू-१९ महिला टोलीको चारमहिने म्यारथन यात्रा समाप्त भएको छ।
विश्वकपमा खेलेका तीनवटै खेलमा भने नेपाल पराजित हुन पुग्यो।
दुई दिनअघि स्कटल्यान्डसँग जित्दाजित्दैको खेल नेपालले गुमाउन पुगेको थियो। नत्र जारी विश्वकपमा पनि नेपालको यात्रा 'सूपर सिक्स'मा पुग्ने थियो।
नेपालले बुधवार अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो।
पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले १४० रनको बलियो चुनौती नेपाललाई दिएको थियो।
जबाफमा नेपाल ५६ रनमा सीमित हुन पुग्यो।
उपलब्धि
यद्यपि यो चार महिनामा नेपाली युवा महिला टोलीले जेजति प्रदर्शन गर्यो, त्यसले विश्व क्रिकेटमा राम्रो प्रभाव परेको कतिपयको भनाइ छ।
विश्वकप छनोट हुनु युवा टोलीको मेहनत र संयोगको सङ्गम थियो। यसको एशिया छनोट विगतमा 'सिङ्गल राउन्ड रोबिन लीग' का आधारमा हुँदै आएको थियो। त्यसमा विजेता टोली मात्र एशियाको प्रतिनिधित्व गर्दै विश्वकपमा पुग्थ्यो।
यसपालि भने एशिया छनोट 'डबल राउन्ड रोबिन लीग' को आधारमा गर्यो। यसले गर्दा पहिलो राउन्डमा बलियो दावेदार यूएईसँग पराजित भए पनि नेपाल दोस्रो राउन्डमा यूएईविरुद्ध प्रभावकारी जित हात पार्दै रनरेटको आधारमा अग्रता लिएर विश्वकपमा छनोट भएको थियो।

तस्बिर स्रोत, CAN
नेपाली महिला क्रिकेट टोली विश्वकपमा पुगेको यो पहिलो अवसर थियो। राष्ट्रिय टोली पनि अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन।
विश्वकपमा छनोट के भएको थियो, नेपाली टोलीले एशिया कपमा पनि स्वत: प्रतिस्पर्धा गर्ने अवसर पायो।
मलेशियामै भएको एशिया कपमा नेपालले भारत, पाकिस्तान र बाङ्ग्लादेशसँग खेल्ने अवसर पायो।
त्यसमा टेस्ट राष्ट्र पाकिस्तानलाई पराजित गरेर नेपालले आफ्नो प्रभाव देखाउन सफल भयो।
त्यो जितले विश्वकप खेल्नुअगाडि नेपाली टोली कमजोर छैन् भन्ने सन्देश विश्वकप खेल्ने विपक्षी टोलीमा परेको थियो।
विश्वकपमा युवा महिला टोलीले 'सूपर सिक्स' पुग्ने लक्ष्य राखेको थियो।
स्कटल्यान्डविरुद्ध त्यो सुनौलो मौका पनि पाएको थियो। तर जितनजिक पुग्दापुग्दै पनि टोलीले अवसर गुमायो र तीनवटै खेलमा पराजित भएर यात्रा टुङग्यायो।
नेपाली टोली बाङ्ग्लादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको हो।
आजको खेल

तस्बिर स्रोत, CAN
टस जितेर अस्ट्रेलियाले पहिलो ब्याटिङ रोजेपछि नेपालले राम्रो सुरुवात गर्यो। नेपालले प्रभावकारी बलिङ गर्दै तीन ओभरमा तीन विकेट लिएपछि विपक्षी दबावमा परेको थियो।
ती तीनवटै विकेट कप्तान पूजा महतोले गरेकी थिइन्। उनले पहिलो ओभरको अन्तिम बलमा इनेश माकेओनलाई बोल्ड गरिन्। त्यसपछि तेस्रो ओभरमा उनले केट पेले र लुसी हामिल्टनको गरी थप २ विकेट लिइन्।
त्यसपछि भने अस्ट्रेलियाको ब्याटिङ सम्हलियो र उसले रन गति बढाउन थाल्यो। काइम्हे ब्रेले नेपाली बलरविरुद्ध धावा बोल्दै ३४ बलमा ४५ रन बनाइन्। सो क्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरेकी थिइन्।
उनलाई रिया शर्माले सिमाना केसीद्वारा क्याच आउट गराएकी थिइन्।
तर त्यसपछि इलियनर लारोसाले ३१ रन तथा हसरत गिलले ३० तथा क्लोइ एइन्सवर्थले अविजित १६ रन बनाएपछि नेपालले ठूलो स्कोरको चुनौती पाएको थियो।
जबाफमा नेपालले ५६ रन मात्र बनाउन सक्यो।
अस्ट्रेलियाली बलरसामु नेपाली ब्याटरहरू सुरुवातदेखि नै दबावमा परेका थिए। फलत: नेपालले एकपछि अर्को विकेट गुमाउन थाल्यो।
यस्तोमा कप्तान पूजा महतो धैर्यपूर्ण पारी खेल्दै १८ ओभरसम्म क्रीजमा डटेकी थिइन्। उनले १८ रन जोडिन्।
त्यसबाहेक अरू कुनै पनि खेलाडीहरूले दोहोरो अङ्क छुन सकेनन्। तीन जना खेलाडीहरूले त खाता नै खोल्न सकेनन्।
आगामी यात्रा

तस्बिर स्रोत, ICC
नेपालले आगामी २०२७ को यू-१९ महिला विश्वकप बाङ्ग्लालादेशसँग मिलेर संयुक्त रूपमा आयोजना गर्दै छ।
त्यसैले त्यस संस्करणमा भाग लिन नेपालले छनोट प्रतिस्पर्धा गर्नुपर्दैन, आयोजकका रूपमा स्वत: छनोट हुनेछ।
तर यो विश्वकपमा देखाएको प्रदर्शनले अर्को विश्वकपमा नेपाल योग्य दाबेदारको रूपमा भने देखिसकिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








