तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
माटोको गुणस्तर र त्यसअनुसार कुन बाली लगाउने कसरी थाहा पाउने?
खेतीयोग्य जमिनको माटोमा अम्लीयपन पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइएको भन्दै माटोको गुणस्तरमा परीक्षण गरेर मात्रै बाली लगाउँदा किसानहरूलाई फाइदा हुने माटो विज्ञहरू बताउँछन्।
पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न ठाउँबाट लिइएको नमुना परीक्षण गर्दा माटोमा ६६ प्रतिशत अम्लीयपन पाइएको भन्दै त्यसमा सुधार गरेर मात्रै बाली लगाउँदा प्रभावकारी हुने विज्ञहरूले बताएका हुन्।
माटो परीक्षण गर्दा अम्लीय भएको वा क्षारीय भएको जस्ता समस्या थाहा भएपछि माटो परीक्षण गरेर कृषि प्राविधिकको सल्लाहमा गुणस्तर बढाउने उपाय गर्न उनीहरूले सुझाएका हुन्।
माटोमा अम्लीयपन बढ्दै जाँदा त्यसले उत्पादनमा ह्रास आउने भन्दै त्यसमा सुधारका लागि सरकारी तहमा नीति नियमहरू बनाउन र कार्यान्वयन गर्नदेखि माटोको परीक्षण र सुधारको महत्त्वबारे किसानलाई बुझाउन पनि त्यत्तिकै आवश्यक रहेको उनीहरूको सुझाव छ।
७७ वटै जिल्लामा गरिएको माटो परीक्षणको नयाँ तथ्याङ्क आउन बाँकी रहे पनि विगतको तथ्य हेर्दा खेतीयोग्य जमीनको माटोमा अम्लीयपन देखिएको र त्यसमध्ये पनि पूर्वी क्षेत्र (पहाड र तराई) मा त्यो बढी पाइएको माटो विज्ञ श्रीप्रसाद विष्ट बताउँछन्।
सरकारले भने माटोको गुणस्तर जाँच्न र सुधार गर्न सबै प्रदेशमा माटो परीक्षण प्रयोगशाला रहेको, धेरै पालिकामा मिनिल्याब(सानो स्तरको प्रयोगशाला), र घुम्ती प्रयोगशालाको समेत व्यवस्था रहेको जनाएको छ।
त्यसबाहेक माटोको परीक्षण गरेर मात्रै बाली लगाउनुपर्ने महत्त्वबारे किसानहरूमाझ चेतना फैलाउने काम पनि जारी राखिएको अधिकारीहरूले बताएका छन्।
माटोको गुणस्तर कसरी थाहा पाउने?
राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कका विज्ञहरूले केन्द्रको वेबसाइट मा गएर आफ्नो माटोको अवस्था थाहा पाउन सकिने बताएका छन्।
राष्ट्रिय माटो विज्ञान केन्द्रका वरिष्ठ माटो वैज्ञानिक श्रीप्रसाद विष्ट भन्छन्, "वेबसाइटमा गएर स्याटलाइट इमेजबाट ठाउँ पहिचान गरेर त्यहाँ पोइन्ट एनालिसिस गरेपछि माटोको अवस्था थाहा हुन्छ। हामी त्यसमा अपडेट गर्दैछौँ। त्यसपछि त्यहाँ के लगाउन हुन्छ, कुन मल कति राख्नुपर्छ, कुन श्रोतबाट राख्नुपर्छ भन्ने थाहा हुन्छ।"
त्यसरी वेबसाइटमा जाँदा नमुना सङ्कलन गरिएको ठाउँमा माटोमा कुन तत्त्व(पीएच, अर्गानिक म्याटर, नाइट्रोजन, पोटासियम, फोसफोरस, बोरोन, जिङ्क, बालुवा) कति रहेको भन्ने थाहा हुन्छ।
त्यसबाहेक माटो खेतीका लागि योग्य हो होइन, मकै, धान, गहुँ वा कुनै मौसमी तरकारी जस्ता कस्तो बाली उपयुक्त हुन्छ भन्ने पनि त्यहाँ जानकारी दिइएको हुन्छ।
तर यस्तो जानकारी देशैभरिको जमीनमा भने अहिले उपलब्ध भइसकेको छैन।
सन् २०२२ मा भएको देशका विभिन्न भागको ३०,५४८ नमुनाको आधारमा ६६ प्रतिशत जमिनमा अम्लीयपना पाइएको हो।
अहिले देशभरिका ७५० वटा स्थानीय तह नै समेटिने गरी १०,८०० नमुना थपेर अध्ययन गरिएको र त्यसको नयाँ तथ्याङ्क छिट्टै सार्वजनिक हुने नार्कले जनाएको छ।
त्यसरी माटोको अवस्था पत्ता लगाउन नसक्ने अवस्थामा किसानहरूले आफ्नो स्थानीय तहमा गएर कृषि प्राविधिकमार्फत् सहायता लिन सक्ने नार्कले जनाएको छ।
विभिन्न थरीका बालीमा कुन ठाउँमा कति मल हाल्ने त्यसको मात्रा पनि तय गरिएको छ।
गत वर्ष नै माटोको अध्ययन सम्पन्न गरेर पालिकाहरूमा त्यसको विवरण पठाइएको नार्कले जनाएको हो।
"माटोको अवस्था थाहा भएपछि किसानको स्रोत अनुसार कृषि प्राविधिकले सुझाव दिने गर्छन्," उनले भने।
आफ्नो अनुभवमा पछिल्लो समय कतिपय कृषकहरू आफूले वर्षौँदेखि प्रयोग गर्दै आएको जमिनमा माटो कस्तो छ, के गर्दा धेरै उब्जाउ हुन्छ भन्नेबारे जानकार रहेको उनी बताउँछन्।
माटोमा रासायनिक मल मात्रै प्रयोग गर्यो भने लामो समयमा त्यसले माटोलाई असर गरेको पाइएकोले
माटोमा कुन मल कति अनुपातमा हाल्ने थाहा पाउँदा माटोको गुणस्तर कायम रहने विष्ट बताउँछन्।
पशुपालनमा आएको ह्राससँगै प्राङ्गारिक मलको घट्दो प्रयोग र रासायनिक मलको अधिक प्रयोगले माटो बिग्रँदै गएको बताइन्छ।
मलबाहेक कुन बाली लगाउने वा कहिले जमिनलाई खाली छोडेर आराम दिने भन्ने पनि उत्तिकै महत्त्वपूर्ण रहने उनले बताए।
"कृषि आधुनिकिकरणको कुरा गरिरहँदा माटो कम्प्याक्ट भएर पानी सोस्न नसक्दा पनि माटोमा असर गरिरहेको छ। माटोको गुणस्तरमा धेरै कुरा जोडिएर आएका छन्," उनले भने।
"त्यसबाहेक गाउँहरूमा मानिस नहुँदा लामो समय माटो प्रयोग नहुँदा पनि माटोको उर्बरा क्षमतालाई असर गरेको छ। उत्पादन भएको ठाउँ अनुत्पादक हुँदा राष्ट्रिय स्तरमा त्यसले असर गर्छ।"
खासगरी पहाडमा यो समस्या रहेको उनले बताए। त्यसबाहेक पहाडमा कतिपय ठाउँमा बाँदरको बिगबिगीले पनि बाली लगाउन समस्या भइरहेकाले मानिसहरूले बालीमा भन्दा फलफूलमा बढी जोड दिने गरेका छन्।
"जलवायु परिवर्तनको असरले गर्दा पनि फसल भित्र्याउन समस्या भएको छ। काम गर्ने जनशक्ति घटेको छ। यी विभिन्न विषयले गर्दा कृषिजन्य उत्पादन घटेको छ," उनले भने।
माटोमा देखिएको समस्या न्यूनीकरण कसरी गर्ने?
पहाडमा माटो बगेर जाने, भूक्षय भएर जाने समस्या छ भने तराईमा प्राङ्गारिक पदार्थ र अरू तत्त्वहरू क्षय भएर गएको फरक फरक समस्या छन्।
"अम्लीयपन देखिएको ६६ प्रतिशत माटो मध्ये २५ प्रतिशतमा कृषि चुन थप्नुपर्ने आवश्यकता रहेको छ," विष्टले भने।
अध्ययनले पश्चिमभन्दा पूर्वी क्षेत्रमा बढी अम्लीयपना देखाएको भन्दै पूर्वमा धेरै पानी पर्दा माटोमा भएको 'पीएच'मा असर गरेको उनले बताए।
सुधार कसरी गर्ने?
माटोमा देखिएको अम्लीयपन लगायत पोषकतत्त्वमा आएको कमीमा सुधार गर्न निम्न उपायहरू रहेको विज्ञहरूले सुझाएका छन्।
- प्राङ्गारिक पदार्थ बढाउनुपर्छ (त्यसको लागि गोबर मल, कम्पोस्ट मलको प्रयोग बढाउनुपर्छ। हरियो मल(कोसेबाली भित्र्याएपछि त्यही माटोमा मिसाउने, बालीको अवशेष त्यहीँ माटोमा मिसाउने))
- बाली चक्रको व्यवस्थापन गर्नुपर्छ। त्यसमा धान र गहुँमात्रै लगाउने भन्दा पनि बीचबीचमा कोसेबाली मिसाउनुपर्छ। अन्तरबाली लगाउने र माटोलाई खाली राख्न हुँदैन।
- रासायनिक र प्राङ्गारिक मललाई मिलाएर सन्तुलित हिसाबले प्रयोग गर्नुपर्छ। एकीकृत पोषक तत्त्व व्यवस्थापनका लागि पहिला प्राङ्गारिक मल प्रयोग गर्ने र नपुगेको अवस्थामा मात्रै रासायनिक मल प्रयोग गर्नुपर्छ। त्यसपछि विस्तारै घुलनसील हुने खालका मलहरूको प्रयोग गर्नुपर्छ। त्यसपछि सूक्ष्म पोषण तत्वहरूलाई पनि प्रयोगमा ल्याउनुपर्ने हुन्छ।
- भूक्षयहरूलाई नियन्त्रण गर्नुपर्छ।
- कृषि बन प्रणाणी र पानीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। माटोलाई बग्न नदिने हिसाबले योजना गर्नुपर्छ
सुधार गर्न सरकार के गर्दैछ?
सरकारले भने माटो संरक्षणका लागि सबै प्रदेशमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको जनाएको छ।
त्यसबाहेक एक सयभन्दा धेरै पालिकामा मिनिल्याब (सानो स्तरको माटो परीक्षण प्रयोगशाला) सञ्चालन गरेको र किसानलाई सचेतना जगाउने काम गरिरहेको दाबी गरेको छ।
माटो परीक्षणका लागि किसानहरूले स्थानीय तहमा जान सक्ने वा प्रदेशमा भएका प्रयोगशालामा जान सक्ने वा जिल्लास्थित ज्ञान केन्द्रहरूमा जान सक्ने वा सामूहिक रूपमा आफ्नो क्षेत्रमा घुम्ती प्रयोगशाला बोलाउन सकिने केन्द्रीय कृषि प्रयोगशालाले जनाएको हो।
"घुम्ती सेवा अन्तर्गत पहिला किसानहरूलाई कसरी माटोको नमुना लिने सिकाएर पनि गर्न सकियो। कतिपय ठाउँमा चाहिँ स्थलगत सेवा पनि दिने गरिएको छ," केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख शान्ता कार्की भन्छिन्।
"किसानहरूले हामीलाई यस्तो सेवा आवश्यक भयो भने माग सङ्कलन गरेर प्रदेशको प्रयोगशालामा चिठ्ठी आउँछ र उहाँहरू परीक्षणका लागि जानुहुन्छ।"
अहिले अभ्यासमा भने साना तथा मझौला भन्दा पनि व्यावसायिक रूपमा ठूलो स्तरमा कृषि गर्न चाहने किसानले मात्रै माटोको गुणस्तरबारे जागरूक भएर परीक्षण र उपचार गर्ने गरेको पाइएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ।
घुम्ती प्रयोगशालाले माटो परीक्षण गरेर किसानहरूलाई माटोको स्वास्थ्यबारे जानकारी लेखिएको सोइल हेल्थ कार्ड दिइन्छ। उक्त कार्डमा माटो सुधार र बालीबारे किसानलाई सिफारिस गरिने कार्कीले बताइन्।
"अम्लीयपन छ भने के गर्ने, क्षारीय छ भने के गर्ने भनेर माटो सुधारका लागि सुझावहरू दिन्छौँ," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।