अदालतको आदेशसँगै रवीन्द्र मिश्र थुनामुक्त, चैत १५ को घटना 'दुःखदायी' भएको टिप्पणी

गत चैत १५ गते राजसंस्था पक्षधर समूहहरूले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यही साँझ पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार शुक्रवार न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खोजेका बखत जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने गरी कानुन व्यवसायीको जिम्मा लगाइ मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।
मिश्रबाट थप प्रमाण सङ्कलन गर्नुपर्ने भएमा वा थप बुझ्नुपर्ने भएमा हिरासतमा नराखेरै पनि त्यो काम गर्न नसकिने अवस्था नरहेको सर्वोच्चको आदेशमा भनिएको छ।
"हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण सङ्कलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण सङ्कलन गर्नुपर्ने भए सो बमोजिम सङ्कलन गर्न पनि नसकिने अवस्था नरहेको तर निजलाई हिरासतमै राख्नुपर्नेसम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाइ तत्काल थुनाबाट मुक्त गरिदिनू भनी विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ," सङ्क्षिप्त आदेशमा उल्लेख छ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र विगत ४९ दिनदेखि हिरासतमा थिए।
मिश्रमाथि आपराधिक उपद्रवमा बयान लिने नयाँ निर्णय सरकारी पक्षले गरेसँगै रिहाइको माग गर्दै उनकी श्रीमती सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दिएकी थिइन्।
बुधबार उक्त रिटमा न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।
उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइएको थियो।
थुनामुक्त भएसँगै मिश्रले के भने?

तस्बिर स्रोत, Getty Images
अदालतको आदेशसँगै शुक्रवार साँझ रिहा भएका मिश्रले "चैत्र १५ गते त्यस्तो दु:खदायी घटना होला भनेर नसोचिएको र आफूले त्यस्तो योजना बनाउने कुरा समेत नभएको" बताए।
"ठूलो आन्दोलन हुँदा आयोजक वा सरकारको नियन्त्रणमा हुँदैन," पत्रकारहरूसँग बोल्दै मिश्रले भने, "छयालीस सालको आन्दोलन, २०६२/६३ को आन्दोलन, मधेस आन्दोलन वा थरूहरूको आन्दोलनलाई हेरौँ, हरेक ठूला आन्दोलनमा जनधनको क्षति हुन्छ। मैले शान्तिपूर्ण सङ्क्रमणमार्फत् नवीन समझदारीमा जाऔँ भन्दै आए पनि दु:खदायी घटना हुन पुग्यो।"
आफूले प्रहरी अनुसन्धानलाई सघाउँदा सघाउँदै पनि "राज्यले आफ्नो अधिकार लिने तर नागरिकका रूपमा आफूलाई अधिकार नदिने" गरेको महसुस भएपछि बन्दी प्रत्यक्षीकरणको बाटो समातेको मिश्रले बताए।
"मुद्दा बाँकी नै छ। हाजिरी जमानीमा छुटेकाले धेरै खुसी हुने पक्षमा छैन," उनले भने, "म राजनीतिक मान्छे हुँ, राजनीतिक रुपमा राजसंस्थाको पुनर्स्थापनामा लागेकै हुँ। तर मैले राज्यविरुद्धको कसुर, सङ्गठित अपराध वा कुनै पनि किसिमको आपराधिक उपद्रव गरेको छैन।"
मिश्रको रिहाइबारे बीबीसीसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वोच्च अदालतले "न्याय मरेको छैन" भन्ने स्थापित गरेको बताए। "अदालतको आदेशबाट थोरै भए पनि आशा जगाउने काम गरेको छ," उनले भने।
कस्ता अभियोग
तीनकुनेमा भएको हिंसात्मक घटनाका सम्बन्धमा प्रहरीले मिश्र र राप्रपाका महामन्त्री धवल शमशेर राणासहित दर्जनौँलाई पक्राउ गरेको थियो।
स्वास्थ्यको कारण देखाउँदै वैशाख ७ गते नेता राणा हाजिरी जमानीमा रिहा भइसकेका छन् भने चैत अन्तिममा पक्राउ परेका संयुक्त जनआन्दोलन समितिका 'जनकमान्डर' दुर्गा प्रसाईँसहितका केही अझै पनि प्रहरी हिरासतमा छन्।
मिश्रमाथि राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले आपराधिक उपद्रवमा समेत बयान लिन म्याद थपेपछि बन्दी प्रत्यक्षीकरणको रिट दिइएको थियो।
सरकारी अधिकारीहरूले भने प्रहरीले उक्त घटनाको अझै अनुसन्धान गरिरहेको भन्दै म्याद थप्ने र थप बयान लिने कुराको बचाउ गर्दै आएका थिए।
तीनकुने घटना

तस्बिर स्रोत, EPA
राजसंस्थावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्दा काठमाण्डूको तीनकुनेमा एक टेलिभिजन पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।
कतिपय निजी घर र सवारी साधनमाथि आगजनी समेत भएको चैत १५ गतेको हिंसालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले भारी सङ्ख्यामा अश्रुग्याँस र गोली चलाएको विवरणहरू सार्वजनिक भएका थिए।
स्थितिलाई नियन्त्रणमा लिन सेनालाई समेत परिचालन गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








