ओलीले ठड्याए पूर्वराजातिर औँला, तीनकुने घटनामा कसैले 'उन्मुक्ति नपाउने'

तस्बिर स्रोत, RSS
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता शुक्रवार काठमाण्डूको तीनकुनेमा "राजावादीका तर्फबाट भएका हिंसक गतिविधि"का लागि पूर्वराजा ज्ञानेन्द्र शाह "जिम्मेवार" रहेको आरोप लगाएका छन्।
झन्डै एक वर्षदेखि सरकार र व्यवस्थाप्रति "घृणा फैलाउने काम" भइरहेको भन्दै प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईतिर इङ्गित गर्दै शाहले उनलाई "कथित जनकमान्डर" बनाएर खटाएको दाबी गरे। तर उनले प्रसाईको नाम भने लिएनन्।
"चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो," ओलीले भने।
"आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?"
शुक्रवारको राजसंस्था पक्षधरहरूका लागि तोकिएको कार्यक्रमस्थलनजिकै प्रदर्शनकारीहरू र प्रहरीबीच तनाव उत्पन्न भएको थियो। त्यस क्रममा प्रहरीको गोली लागी एक व्यक्तिको मृत्यु भएको थियो भने एउटा व्यावसायिक भवनमा आगलागी भएपछि त्यहाँभित्र थुनिएका एक पत्रकारको ज्यान गएको थियो।
अवस्था बिग्रिनुमा दुवै पक्षले एकअर्कालाई दोष लगाएका छन्।
ज्ञानेन्द्र शाहबारे अरू के भने?

तस्बिर स्रोत, RSS
शुक्रवार नै भएको विपक्षी समाजवादी मोर्चाको कार्यक्रमका लागि ओलीले धन्यवाद दिँदै राजावादीको प्रदर्शनको "आयोजक को हुन् भन्नेमा केही आशङ्का र दुबिधा" भएको बताए। उनले तीनकुनेमा आयोजकहरूले "सभा वा मन्तव्य नगरेको" दाबी गरे।
उनले उक्त घटनाका योजनाकार को हुन् र त्यसमा कोको संलग्न थिए भनेर अनुसन्धान भइरहेको बताए।
पूर्वराजाका पछिल्ला गतिविधि र अभिव्यक्तिलाई जोडेर ओलीले ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लङ्घन गरेको दाबी गरे।
"मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, जनधनको क्षति र लुटपाट, शासक बन्नने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ," पूर्वराजालाई लक्षित गर्दै ओलीले भने।
ओलीले राजावादीका प्रदर्शनलाई आपराधिक गतिविधि भन्दै जो कोहीलाई "कडा प्रशासनिक कारबाही" हुने बताए।
प्रहरीले उक्त कार्यक्रममा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शम्शेर राणा र रवीन्द्र मिश्रसहित केही नेतालाई पक्राउ गरेको छ। तर दुर्गा प्रसाईँ भने सम्पर्कविहीन छन्।
प्रसाईँले फेसबुकमार्फत् विभिन्न दाबीहरू गरिएका भिडिओ सार्वजनिक गरेका छन्। उनले आफूलाई 'मार्ने योजना' बनाइएका कारण काठमाण्डूमै 'कुनै मन्दिरमा बसिरहेको तर नभागेको' बताएका छन्।
उनले थप मानिस हताहत भएको दाबी समेत गरे तापनि बीबीसीले त्यसबारे स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

राप्रपाको विरोध
ओलीले सम्बोधन गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरूले भने ओलीले प्रयोग गरेको भाषाप्रति विरोध व्यक्त गरेका थिए।
ओलीले बोलिरहँदा राप्रपाका केही सांसदहरूले "घाँटीमा ताकेर गोली हानेको" भन्दै विरोध जनाएका थिए।
तर सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई बोल्न पटकपटक निर्देशन दिँदा ओलीको आवाज बीचबीचमा मधुरो सुनिएको थियो।
आइतवार दुई पटक अवरुद्ध भएको संसद्को बैठक पछि बस्न सकेको थिएन। बिहीवार नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको बर्खास्तीको विरोध गर्दै विपक्षीहरूले संसद्मा अवरोध गर्दै आएका थिए। त्यसपछि राजावादी आन्दोलन अनियन्त्रित बनेको विषयले पनि स्थान पायो।
दुई जनाको मृत्युबारे कसले के भने
कांग्रेसका सांसद विश्वप्रकाश शर्माले शुक्रवारका प्रदर्शनसँग जोडिएका घटनामा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्युमा "हृदय नदुख्ने कस्तो राजा तपाईँले परिकल्पना गर्नुभएको छ?" भनेर प्रश्न गरे।
"हामी दु:ख व्यक्त गर्दछौँ, हामी दुखी छौँ, हामी दुःखी भइबक्सेका छौँ भन्ने तीन लाइनको वक्तव्य पनि जारी गर्न नसक्ने अवस्थाको राजसंस्थाको खोजी नेपालका युवाहरूले गरेका हुन् भन्ने म मान्दिनँ," शर्माले भने।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले तीनकुनेमा सरकारले आवश्यक तयारी गर्न नसकेको, एकैदिन जुधाएर कार्यक्रमको लागि अनुमति दिएको भन्दै सरकारको आलोचना गरिन्।
"जसरी प्रदर्शनकारीहरूलाई उत्तेजित गराउन खोजियो, प्रहरी प्रहरी प्रशासनमाथि गाडी ल्याएर चढाउने काम गरियो त्यसको हामी खेद व्यक्त गर्न चाहन्छौँ," उनले भनिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले उक्त घटनामा सरकार कुनै एक पक्षलाई दोष दिएर उम्किन नपाउने बताए।

तस्बिर स्रोत, RSS
"सबिन महर्जनलाई गोली लागेको छ। ऊ ढुङ्गा हानिराखेको थिएन, ऊ हिँडेर फर्किराखेको थियो, सुरक्षाकर्मीतर्फ पनि अघि बढिराखेको थिएन। ऊ आफ्नो साथीभाइतर्फ फर्किराखेका बेलामा पछाडिबाट गोली लागेको छ…. ऊ भागिराखेको पनि थिएन, दौडिराखेको पनि थिएन…[सामाजिक] सञ्जालमा छ्यापछ्याप्ती भिडिओ देख्न पाइन्छ," झाले त्यसो भन्दै उच्चस्तरीय छानबिनको माग गरे।
उनले सुरेश रजकको मृत्युलाई लिएर पनि शङ्का गर्ने ठाउँहरू देखिएको बताए। उक्त दिनको 'उद्दण्डता'बारे आफूहरूको कुनै समर्थन नरहेको उनले बताए।
राप्रपाका सांसद राजेन्द्र लिङ्देनले "जनताको शक्तिलाई नहोच्याउन" चेतावनी दिँदै उक्त दिनको घटनाबारे राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा मानवअधिकारको दृष्टिबाट छानबिन हुनुपर्ने बताए।
उनले न्यायिक छानबिन आयोगको माग गर्दै भने, "सबिन महर्जनलाई हिँडिराखेका बेला किन गोली हानियो? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जबाफ चाहिन्छ।"
कुलमान घिसिङबारे प्रधानमन्त्रीले के भने?
कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे बोल्दै ओलीले "राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थल सदन हो भन्ने लाग्दैन" भने।
"सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फील गरेन भने वा मन्त्रीप्रति कानुनप्रति लोयल्टी फील गरेन भने वा लोयल्टी राखेन भने...त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गरिन्छ," ओलीले भने।
"यो अहिलेका सरकारले मात्र होइन जहिलेको सरकारले पनि गर्छ। अहिले पनि भएको छ, जहिले पनि भएको छ।"
उनले घिसिङको विषयलाई "सामान्य" को सङ्ज्ञा दिँदै अहिले "संविधानको रक्षा, जनताले लडेर ल्याएको अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन" गर्ने समय भएको बताए। "त्यसका लागि सिङ्गो सदन एकजुट हुन आवश्यक छ," उनले बताए।
उनले घिसिङको विषय अदालत प्रवेश गरिसकेको भन्दै थप टिप्पणी नगर्ने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








