समुद्री आँधीका कारण पूर्वी अस्ट्रेलियामा हजारौँ घर अन्धकारमा, सैनिकहरू घाइते

अस्ट्रेलियामा आँधीका कारण भएको क्षति

तस्बिर स्रोत, EPA

समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन्।

आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ। तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले यसको खतरा अझै "नटरेको" बताएका छन्।

उक्त आँधी जमिनमा बज्रनुअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए। होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन्। प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएका छन्।

उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्।

अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्‍याउने पूर्वानुमान गरिएका छन्। शनिवारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आकलन गरिएको छ।

आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ।

क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन्। दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन्।

अस्ट्रेलियामा आँधीका कारण भएको क्षति

तस्बिर स्रोत, EPA

केही क्षेत्रका बासिन्दाहरू कैयौँ दिनसम्म बिजुलीबिनै बस्नुपर्ने अवस्था देखिएपछि आपत्कालीन सेवाले ऊर्जा कम्पनीहरूसँग समाधानका लागि काम गरिरहेको जनाएको छ।

ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा २,८७,००० उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ।

अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ।

क्विन्सल्यान्डको राजधानी ब्रिसबेनका बासिन्दा शुक्रवार राती ठूलो आँधी र वर्षाको त्रासबीच सुतेका थिए। शनिवार बिहान मात्रै उनीहरूले आँधी कमजोर भएको थाहा पाए।

अस्ट्रेलियामा आँधीका कारण भएको क्षति

तस्बिर स्रोत, Getty Images

दक्षिणी क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्समा खतरा अझै नटरेको अधिकारीहरूले बताएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा "सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको" बताएका छन्।

केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको उक्त क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ। उक्त क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ।

बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन्। उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन्।

आपत्कालिन सेवाहरूले जोखिममा रहेका क्षेत्रहरूलाई वर्गीकरण गरेर काम गरिरहेका छन्।

"यो आपत्काल अझै टरिसकेको छैन," न्यू साउथ वेल्स राज्यका प्रधानमन्त्री क्रिस मिन्जले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।