रवि लामिछाने थुनामुक्त, यस्ता छन् उनका अबका योजना

भैरहवामा रवि लामिछाने

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भैरहवामा रवि लामिछाने
    • Author, विनिता दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
    • Author, पवनराज पौडेल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

बुटवलस्थित सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलमुक्त भएका छन्।

बिहीवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई तारेखमा रिहा गर्न आदेश दिएपछि शुक्रवार रूपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर लामिछाने थुनामुक्त भएका रूपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए।

"उच्च अदालतले केही कुराहरू यहाँबाट गर्ने भनेको थियो," उनले भने, "पहिलेको रु एक करोड धरौटी र विगोबापत लामिछानेद्वारा दिइएको जमानत रकम जाँचेर स्वीकार गर्ने भन्ने थियो। लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँबराबरको ब्याङ्क जमानत दिएका छन्।"

"विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्ने भन्ने पनि थियो। त्यो र अदालतबाट अन्तिम फैसला हुँदा त्योभन्दा धेरै दायित्व सिर्जना भए वहन गर्न तयार छु भन्ने कागज पनि उनले गरेका छन्।"

मौसम खराब भएका कारण काठमाण्डूबाट भैरहवातर्फको उडान नभएपछि लामिछानेलाई शुक्रवार दिउँसो विमानबाट भरतपुर र त्यहाँबाट सडकमार्ग हुँदै रूपन्देही लगिएको थियो।

शुक्रवार अपराह्न ३ बजे कार्यालय बन्द हुने भए पनि लामिछाने ढिला पुगेका कारण कार्यालय समयपछि प्रक्रिया अघि बढाइएको तहसिलदार पौडेलले बताए।

"अदालतले नै फलानो मितिमा उपस्थिति हुनू भनेकाले पर्खन बाध्य भयौँ," उनले भने।

"उहाँ आएपछि धेरै समय नलागोस् भनेर हामीले उहाँ आउनुभन्दा अगाडि नै अदालती प्रक्रिया ठिक्क पारेर राखेका थियौँ," पौडेलले भने, "यहाँ तयार पारिएका कागजातहरू सुनाएर सहीछाप गरेपछि थुनामुक्त हुने गरी तयारी अवस्थामा थियौँ।"

यसअघि पटकपटक सुनुवाई स्थगित भएको लामिछानेको मुद्दामा बुटवलको जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेशलाई बिहीवार तुलसीपुर उच्च अदालतको बुटवल इजलासले सदर गरेको थियो।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेको हकमा धरौटी कायम राखेर तारेखमा रिहा गर्न भने पनि मुद्दाका अर्का आरोपी छविलाल जोशीको हकमा भने जिल्लाबाट नै गर्नू भन्ने आदेश दिएको थियो।

लामिछानेका अबका कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

तस्बिर स्रोत, DEEPAK BOHORA

तस्बिरको क्याप्शन, त्रिभुवन विमानस्थलमा विमान कुर्दै रवि लामिछाने

अदालतबाट निस्किएसँगै बाहिर उपस्थिति भिडलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो "न्यायको लडाइँ बाँकी नै रहेको" बताए।

"मेरा लागि होइन, देशका लागि लड्नु छ। यिनीहरूले यो देशमाथि गरेको अन्यायका अघि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबैको हिसाब गर्नु छ। हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।"

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शुक्रवार एक विज्ञप्ति जारी गर्दै लामिछाने रिहा भएपछि तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने जानकारी दिएका छन्।

प्रवक्ता मनीष झाका अनुसार लामिछाने अब रूपन्देहीबाट चितवन जाने छन्।

विसं २०७९ सालको प्रतिनिधि सभा चुनावमा चितवनबाट चुनावमा उठेका उनी भारी मतसहित विजयी बनेका थिए।

शनिवार त्यहीँका सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम रहेका कारण उनी त्यता जान लागेको प्रवक्ता झाले बताए।

त्यसपछिमात्रै उनी काठमाण्डू फर्किने कार्यक्रम रहेको बताइएको छ।

यसअघि के भएको थियो

यसअघि गत वर्ष माघ १३ गते जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सरकारी वकिलहरू उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर पुगेका थिए।

त्यस बेला उच्च अदालतको बुटवल इजलासले जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशपछि केही समय थुनाबाहिर रहेका लामिछाने गत चैतमा पुन: पक्राउ परेका थिए।

जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि सरकारी वकिलले उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए।

अर्को सहकारी ठगी प्रकरणमा उनी यसअघि चितवन जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका थिए।

लामिछानेविरुद्ध बुटवलबाहेक काठमाण्डू, चितवन र पोखरामा पनि फरकफरक मुद्दाहरू विचाराधीन छन्।

रवि लामिछानेको अदालत यात्रा, रिहाइ र थुनासम्मको चक्र

  • २०८१ साल कात्तिक २: काठमाण्डूमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान
  • कात्तिक ४: कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति
  • कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप
  • कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप
  • कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप
  • कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
  • मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
  • मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान
  • मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान
  • मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप
  • मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो
  • मङ्सिर २५: पर्सामा बयान
  • मङ्सिर २६: पर्साबाट काठमाण्डू हुँदै पोखरा लगियो
  • मङ्सिर २७: पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप
  • पुस १: प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस
  • पुस २: जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप
  • पुस ७: कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
  • पुस २१: स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डू जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता
  • पुस २५ः कास्की जिल्ला अदालतको निर्णयपछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा
  • पुस २८ः काठमाण्डू जिल्ला अदालतमा उपस्थित, पुनः हिरासतमा
  • माघ २ः काठमाण्डू जिल्ला अदालतद्वारा धरौटीमा रिहा गर्न आदेश
  • माघ ६: रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
  • माघ ९ः रूपन्देही जिल्ला अदालतद्वारा हाजिरी जमानीमा छाड्न आदेश
  • माघ १३: रूपन्देही जिल्ला अदालतद्वारा एक करोड धरौटी लिएर छाड्न आदेश
  • चैत २२ः उच्च अदालत तुल्सीपुरको बुटवल इजलासद्वारा कारागार पठाउन आदेश
  • २०८२ साल जेठ ९: सर्वोच्च अदालतद्वारा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर
  • साउन ३१ः रूपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण
  • भदौ २४ः जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि आफू असुरक्षित भएको भन्दै नक्खु कारागारबाट बाहिर निस्किए
  • भदौ २८ः मुद्दा चलिरहेको व्यक्ति अदालतको आदेशबिनै आन्दोलनको फाइदा उठाएर निस्किएको भनेर चर्को आलोचना भएपछि नक्खु कारागार फर्किए।
  • पुस ३: उच्च अदालत बुटवलको तुलसीपुर इजलासद्वारा लामिछानेलाई तारेखमा रिहा गर्न आदेश।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।