अफगानिस्तान: ‘बच्चाहरू मरेको हेर्नबाहेक हामी केही गर्न सक्दैनौँ’

ट्युबबाट बालकलाई अक्सिजन दिइँदै
तस्बिरको क्याप्शन, तयाबुल्लाहले आफ्नी आमाले हातमा समातिरहेको पाइपबाट सास फेर्थे
    • Author, योगिता लिमेय
    • Role, अफगानिस्तान लिमेय

तीन महिने बालक तयाबुल्लाह शान्त र स्थिर छन्। उनकी आमा निगर अक्सिजनको पाइप पन्छाएर नाकमुनि औँला राख्छिन् छोराले सास फेरिरहेको छ कि छैन भनेर हेर्न। छोरा मर्दैछ भन्ने लागेर उनी रुन थाल्छिन्।

अफगानिस्तानस्थित अस्पतालमा एउटा पनि भेन्टिलेटरले काम गरिरहेको छैन।

बालबालिकाको सानो अनुहारमा लगाउन मिल्ने मास्क उपलब्ध नभएका कारण आमाहरू आफ्ना शिशुहरूको नाकनजिकै अक्सिजनका ट्युबहरू समातेर बस्छन्, जुन तालिमप्राप्त कर्मचारी वा उपकरणले गर्नुपर्ने काम हो।

उपचार हुनसक्ने रोगहरूबाट अफगानिस्तानमा दैनिक १६७ जना बालबालिकाहरूको ज्यान गइरहेको संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय युनिसेफले जनाएको छ।

उचित उपचारबाट ती बिमारीहरू निको हुनसक्ने र हुनुपर्ने युनिसेफ बताउँछ।

अचम्म लाग्ने सङ्ख्या अनुमान गरिएको हो। पश्चिमी प्रान्त घोरस्थित मुख्य अस्पतालको बालबालिका राख्ने वार्डमा भित्र छिर्दा त्यो अनुमान निकै कम हो भन्ने लाग्छ।

बिरामी बालबालिकाहरूले थुप्रै कोठाहरू भरिएका छन् र प्रत्येक शय्यामा कम्तीमा दुई जना बालबालिकालाई राखिएको छ। उनीहरू निमोनियाबाट ग्रस्त छन् र ६० जना बालबालिकालाई जम्मा दुई जना नर्सले हेरिरहेका छन्।

एउटा कोठामा त हामीले कम्तीमा दुई दर्जन बालबालिका देख्यौँ जो गम्भीर अवस्थामा थिए। ती बालबालिकालाई सघन कक्षमा राखेर निरन्तर अनुगमन गरिरहनुपर्ने देखिन्थ्यो तर यो अस्पतालमा त्यो सम्भव छैन।

तैपनि घोरमा बस्ने लाखौँ मानिसका लागि यही आधारभूत सुविधा पनि उनीहरूले पाउनसक्ने सबैभन्दा राम्रो सार्वजनिक अस्पताल हो।

अस्पतालमा आमा र बालबालिका
तस्बिरको क्याप्शन, निको हुन सक्ने रोगबाट पनि बालबालिकाहरूको मृत्यु भइरहँदा आमाहरू यो अस्पतालमा निकै पीडामा छन्

अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य सेवा कहिल्यै पनि पुग्नेगरी थिएन जुन विदेशी पैसामा निर्भर थियो। त्यही पनि सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि उक्त रकम पनि आउन बन्द भयो।

गएका २० महिनामा हामीले देशभरिका अस्पताल र क्लिनिकहरूको भ्रमण गरेका छौँ र ती सबै धराशायी हुँदै गएको हामीले देखेका छौँ।

तालिबानले महिलाहरूलाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएपछि त झन् अब मानवीय सहायताका लागि काम गर्ने संस्थाहरू सञ्चालनका लागि नै कठिन हुनेछ। त्यसको अर्थ बालबालिका र शिशुहरू अझै खतरामा परेका छन्।

रेड लाइन
रेड लाइन

त्यस्तै खतरामा परेका तयाबुल्लाहलाई बचाउन घोर अस्पतालमा स्वास्थ्यकर्मीहरूले जे गर्न सक्ने त्यो गरे। डाक्टर अहमद समादी उनको अवस्था हेर्न आए, स्टेथेस्कोप लगाएर उनको छाती सुने। नर्स इदिमा सुलतानीले अक्सिजनको पम्प जोडेर मुखमा लगाइन् र डाक्टर समादीले तयाबुल्लाहको सानो छातीमा आफ्नो बुढी औँलाले थिचे।

तयाबुल्लाहलाई निमोनिया भएको थियो र उनी कुपोषित थिए। आठघण्टा लगाएर कच्ची बाटो हुँदै अस्पताल ल्याइएका तयाबुल्लाहलाई बचाउने प्रयास आधा घण्टासम्म चलिरह्यो र त्यसपछि नर्स सुलतानीले आमा निगरलाई उनको छोराको मृत्यु भएको बताइन्।

मौन कोठामा एक्कासि निगरको रोदन सुनियो। तयाबुल्लाहलाई लागेका प्रत्येक रोग निको पार्न सकिने थियो र उनी बाँच्न सक्थे।

"म पनि आमा हुँ र जब म बालबालिकाको मृत्यु भएको देख्छु, आफ्नै सन्तान गुमाएजस्तो महसुस हुन्छ," धेरैजसो २४ घण्टा नै ड्युटी गर्ने नर्स सुलतानीले भनिन्।

"हामीसँग उपकरण छैन र तालिमप्राप्त खास गरी महिला कर्मचारी पनि छैनन्। गम्भीर अवस्थाका धेरै बालबालिकालाई एकै पटक हेरिरहेका बेला हामीले कुन बालबालिकालाई पहिला हेर्ने? बच्चाहरूको ज्यान गएको हेर्नुबाहेक हामीले केही गर्न सक्दैनौँ।"

त्यसको केही बेरमा अर्को कोठामा हामीले अर्की बालिका देख्यौँ जो सास फेर्न सङ्घर्ष गरिरहेकी थिइन्।

अक्सिजन मास्क लगाएका शिशु
तस्बिरको क्याप्शन, शिशुलाई मिल्ने साना अक्सिजन मास्कहरू अस्पतालमा पर्याप्त मात्रामा छैनन्

दुई वर्षीया गुलवदन मुटुमा समस्यासहित जन्मिएकी थिइन् जुन अवस्थालाई पेटेन्ट डक्टस आर्टेरियोसस भनिन्छ। उक्त रोग छ महिनाअघि अस्पतालमा पत्ता लागेको थियो।

यो अवस्था उपचार नै गर्न नसकिने खालको नभएको चिकित्सकहरूले हामीलाई बताए। तर घोरको मुख्य अस्पतालमा भने यसलाई निको पार्न आवश्यक सर्जरी गर्न उपकरण र औषधि छैन।

डाक्टर समादीका अनुसार गुलवदनलाई प्रत्येक मिनेट दुई लिटर अक्सिजन आवश्यक पर्छ।

"यो सिलिन्डर रित्तियो र हामीले अर्को फेला पारेनौँ भने उनी बाँच्ने छैनन्।"

अक्सिजन मास्क लगाएकी एक बालिका
तस्बिरको क्याप्शन, दुई वर्षीया गुलवदनलाई उपचार गर्नका लागि घोर अस्पतालमा आवश्यक उपकरण छैन

पछि फेरि गुलवदनलाई हामीले भेट्न जाँदा ठ्याक्कै त्यही भयो। अक्सिजन सिलिन्डर सकिएर उनको मृत्यु भएछ।

बिजुली रातिमात्रै आउने भएकोले अक्सिजन उत्पादन एकाइले अस्पतालमा पर्याप्त अक्सिजन उत्पादन गर्न सकेको छैन। त्यसबाहेक कच्चा सामग्रीको आपूर्ति पनि पर्याप्त छैन।

केही घण्टाभित्रै दुई जना बालबालिकाको मृत्यु भयो जुन रोगबाट जोगाउन वा निको पार्न सकिने थियो।

“म थाकेको महसुस गर्छु र मलाई पीडा हुन्छ। प्रत्येक दिन घोरका हामी एक वा दुई प्यारा बालबालिकालाई गुमाइरहेका छौँ। हामी अब लगभग यसमा अभ्यस्त भइसक्यौँ,” उनले भने।

कोठा कोठा हिँड्दा हामीले थुप्रै बालबालिकाहरू पीडामा रहेको देख्यौँ। एक वर्षीय सजदले गाह्रो गरी सास फेरिरहेका थिए। उनी निमोनिया र मेनिन्जाइटिसबाट पीडित थिए।

रेड लाइन
रेड लाइन

अर्को शय्यामा इरफान थिए। उनी पनि सास फेर्न परिश्रम गर्दै थिए। उनकी आमा जियारालाई अक्सिजनको पाइप छोराको नाक नजिकै थामेर बस्न भनेर दिइएको थियो।

गालामा बगिरहेका आँसु पुछ्दै जियाराले सावधानीपूर्वक दुई पाइप आफूले सके जति नहल्लाइ राखेकी छन्। हिउँले बाटो बन्द नभएको भए आफूले चार पाँच दिन अघि नै इरफानलाई अस्पताल ल्याउन सक्ने उनले बताइन्।

"दश दिनअघि एकजना बालकलाई निकै गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो," नर्स सुल्तानीले भनिन्। "हामीले सुई दियौँ तर हामीले औषधि दिन सकेनौँ।

"त्यसैले उनको बुवाले मर्नु नै छ भने घरमै मर्छ भनेर लगे," उनले भनिन्।

अस्पतालमा आमासँगै बालबालिका
तस्बिरको क्याप्शन, अस्पतालमा बालबालिकाका लागि पर्याप्त हुने गरि अक्सिजन सिलिण्डरहरूको व्यवस्था हुनसकेको छैन

हामीले घोरमा जे देख्यौँ त्यसले गम्भीर प्रश्नहरू उब्जाएका छन्। सन् २०२१ सम्म अन्तर्राष्ट्रिय समुदायले २० वर्ष अर्बौँ डलर अफगानिस्तानमा खन्याए पनि त्यहाँ सार्वजनिक स्वास्थ्य सेवा कसरी यति छिटै बिग्रँदै गयो।

प्रान्तीय अस्पतालमा बिरामीका लागि एउटा पनि भेन्टिलेटर छैन भने त्यत्रो पैसा कहाँ खर्च भयो?

अहिले यहाँ कामचलाउ व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको तालिबान सरकार प्रत्यक्ष रूपमा पैसा नदिइने भएकोले स्वास्थ्यकर्मीहरूलाई तलब दिनका लागि मानवीय सहायता निकायहरू अघि सरेका छन्। घोरको जस्तै अस्पताललाई औषधि र खानेकुराको खर्च र तलब दिन त्यस्ता सहायता निकायहरू अग्रसर छन्।

अति नै अपर्याप्त रकम पनि थप खतरामा पर्नसक्छ। तालिबानले संयुक्त राष्ट्रसंघ र गैरसरकारी संस्थाहरूमा काम गर्न महिलालाई रोक लगाएपछि सहायता निकायहरूले दाताहरूले रकम कटौती गर्नसक्ने चेतावनी दिएका छन्।

अहिले पनि संयुक्त राष्ट्रसंघले अफगानिस्तानका लागि अपिल गरेको जम्मा पाँच प्रतिशतमात्रै दिइएको छ।

शव गाडिएको क्षेत्र
तस्बिरको क्याप्शन, पहाडस्थित शव गाडिएको क्षेत्र

घोर अस्पताल नजिकै शव गाड्ने पहाडमा हामी पुग्यौँ। त्यहाँ मृत्यु हुनेहरूको कुनै तथ्याङ्क वा विवरण राखिएको छैन। कुन ठाउँमा कसलाई गाडिएको भन्ने पत्ता लगाउन सम्भव छैन तर गाडिएको ठाउँमा ठूलो मानिस हो वा सानो भन्ने छुट्टाउन सजिलै सकिन्थ्यो। हामीले देखे अनुसार त्यसरी गाडिएका शवहरू कम्तीमा आधा बालबालिकाको थियो जुन हालसालै गाडिएका थिए। नजिकै एउटा घरमा बस्ने पुरुषले पनि हालसालै गाडिएका शवहरू धेरै बालबालिकाकै भएको बताए।

कति बालबालिकाहरूले ज्यान गुमाए भन्ने गन्ने कुनै उपाय छैन तर सङ्कट कुन स्तरमा छ भन्ने प्रमाण जताततै देख्न सकिन्छ।

थप सहयोग इमोजेन एन्डरसन र सञ्जय गांगुलीबाट