आँखा स्क्यान गराउँदै नयाँ क्रिप्टो कोइन हात पार्दै

वर्ल्डकोइन अर्ब

तस्बिर स्रोत, Worldcoin

आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा लगानी गरेका व्यवसायी स्याम अल्ट्मनले एउटा नयाँ क्रिप्टोकरेन्सी परियोजना घोषणा गरेका छन्। त्यसलाई 'डिस्टोपिअन’ को सङ्ज्ञा दिइएको छ।

मानिसहरूलाई आफ्नो आँखा स्क्यान गरेबापत वर्ल्डकोइनले डिजिटल कोइन उपलब्ध गराउँछ।

यो परियोजना सार्वजनिक गरिएको पहिलो दिन विश्वका विभिन्न स्थानमा मानिसहरू वर्ल्डकोइनको 'ओर्ब' अर्थात् गोलाकार उपकरणमा आफ्नो आँखा स्क्यान गराउन लाम लागेका थिए।

बीबीसीले लन्डनस्थित एउटा स्क्यानिङ स्थलको अवलोकन गरेको थियो। त्यहाँ उक्त प्रक्रियामा सहभागी मानिसहरूलाई नि:शुल्क क्रिप्टो टोकन प्रदान गरिएको थियो।

च्याटजीपीटी विकास गरेको ओपन एआई कम्पनीका प्रमुख कार्यकारी अल्ट्मनले आफ्नो परियोजनाबाट मानव र रोबट छुट्ट्याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन्।

''वर्ल्डकोइनले व्यापक रूपमा आर्थिक अवसर बढाउन सक्छ, गोपनीयता कायम गर्दै अनलाइन आर्टिफिशल इन्टेलिजन्स (एआई)बाट मानिसहरूलाई छुट्ट्याउने कुरामा भरपर्दो उपाय बन्न सक्छ,'' कम्पनीको वेबसाइटमा राखिएको एउटा विज्ञप्तिमा उनले दाबी गरेका छन्।

वर्ल्डकोइनले आफ्नो प्रणालीबाट विश्वभरि ''एआईमा आधारित'' आधारभूत आम्दानी गर्ने बाटो खोलिदिन सक्ने दाबी गरेको छ।

तर त्यो कसरी भन्ने कुरा अझै स्पष्ट छैन।

स्याम अल्ट्मन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्याम अल्ट्मन

विश्वव्यापी आधारभूत आम्दानीको अवधारणामा सबै नागरिकलाई निश्चित तलब दिइन्छ।

वर्ल्डकोइनले 'क्रिप्टो यूटोपिआ' का लागि चालेको कदम यद्यपि करोडौँ वा अर्बौँ मानिसहरूले आँखा स्क्यान गराएर आफू मानव भएको पुष्टि गर्नुमा निर्भर हुने छ।

दुई वर्षअघि स्क्यानरको परीक्षण सुरु भएयता वर्ल्डकोइनका अनुसार ३३ देशमा २० लाख जनाभन्दा बढी मानिसहरू क्रिप्टो डेटाबेसमा समाविष्ट भएका छन्।

कम्पनीका अनुसार युरोप, भारत र दक्षिणी अफ्रिकाका धेरै मानिस उक्त परियोजनामा सहभागी भएका छन्।

red line
red line

वर्ल्डकोइन अमेरिकी कम्पनी हो। तर नियमनसम्बन्धी चिन्ताका कारण अमेरिकी नागरिकहरूलाई भने क्रिप्टो कोइन उपलब्ध गराइएको छैन।

परियोजना पूर्ण रूपमा सार्वजनिक भइसकेको र क्रिप्टो टोकन कारोबारमा आइसकेका कारण उक्त कम्पनीले झन् ख्याति कमाउने अपेक्षा गरिएको छ।

वर्ल्डकोइनले अनलाइनमा सार्वजनिक गरेको एउटा तस्बिरमा मानिसहरू जापानस्थित एउटा स्थानमा पङ्क्तिबद्ध भएको देखिन्छ। उक्त कम्पनीले विश्वभरि आँखा स्क्यान गराउन १,५०० वटा ओर्ब सञ्चालनमा ल्याउने योजना बनाएको छ।

बीबीसी पूर्वी लन्डनस्थित एउटा स्थानमा पुग्दा मानिसहरू त्यहाँ क्रमिक रूपमा भेला भइरहेका थिए।

जो टाइडी
तस्बिरको क्याप्शन, 'वर्ल्डकोइन ओर्ब' हेर्दै बीबीसी संवाददाता जो टाइडी

अनुहार र आँखाको नानी स्क्यान गरेर सुरु हुने प्रक्रियाले तपाईँ मानव रहेको प्रमाणित गर्छ। त्यसका लागि ओर्बमा जडित क्यामराको लेन्समा १० सेकेन्डजति हेर्नुपर्ने हुन्छ। अनि काम सफल भएको पुष्टि गर्न उक्त उपकरणबाट एउटा ध्वनिसङ्केत आउँछ।

उपकरण सञ्चालन गर्ने एक जनाका अनुसार पहिले ओर्बले मानिसहरूसँग कुरा गर्थ्यो। तर मानिसहरूले त्यो फीचर नरुचाएकाले आवाजलाई पछि हटाइयो।

त्यसपछि उक्त परियोजनामा सहाभागी हुने व्यक्तिको आँखाको स्क्यानलाई एउटा विशिष्ट नम्बर दिइन्छ। उक्त नम्बर पूरै डेटाबेसमा राखेर तपाईँको आँखाको स्क्यान पहिलो पटक गरिएको हो कि होइन निर्क्योल गरिन्छ।

यो लेख तयार पार्दासम्म उक्त परियोजनामा झन्डै २६ लाख मानिस सहभागी भइसकेका थिए।

red line
red line

उक्त प्रक्रिया सकिएपछि आँखा स्क्यान गराउने व्यक्तिलाई २५ वटा कोइन दिइन्छ। अहिले एउटा कोइनको मूल्य झन्डै दुई अमेरिकी डलर छ।

बीबीसीले ती कोइन प्राप्त गरेपछि बिक्री गरी बालबालिकाको क्षेत्रमा काम गर्ने परोपकारी संस्था 'चिल्ड्रन इन नीड' लाई दिने छ।

बीबीसी उक्त स्थानबाट बाहिरिँदासम्म १३ जना दर्ता हुने प्रक्रिया सम्पन्न भइसकेको थियो। सबै २० देखि ४० वर्ष उमेर समूहका थिए।

''स्याम अल्ट्मनले यो परियोजना सुरु गर्ने विषयमा ट्वीट गरेकाले म आएको हुँ,’’ ३७ वर्षका मोसेस सेरुमागाले भने।

मोसेस सेरुमागा
तस्बिरको क्याप्शन, मोसेस सेरुमागा

''केही डलर पाउने भएपछि किन नगर्ने भन्ने मलाई लाग्यो। यो पनि अन्य क्रिप्टो परियोजनाजस्तै काम नलाग्ने वा पछि गएर ठूलो कुरा हुने वा त्यसको मूल्य बढ्न सक्ने हुनसक्छ। तर मलाई छुट्न मन लागेन,’’ उनले भने।

तेइस वर्षका टमले पनि आफ्ना आँखा स्क्यान गराए। तर आफूले पैसाका सहभागी नभएको उनको भनाइ छ। उक्त क्रिप्टोको मूल्य बढ्छ भन्ने उनलाई लाग्दैन।

"यदि तपाईँ कम विकसित राष्ट्रहरूमा बाहेक अन्यत्र बस्नुहुन्छ भने त्यति कोइन प्रोत्साहनको लागि पर्याप्त छ जस्तो मलाई लाग्दैन। अनि यसको मूल्य बढ्ने सम्भावना छ भन्ने पनि मलाई लाग्दैन," उनले भने।

स्क्यानिङ प्रक्रिया विवादित पनि बनेको छ।

कमिशन प्राप्त गर्ने अपरेटरहरूको रणनीतिबारे पनि प्रश्न उठेको छ। विशेषगरी तुलनात्मक रूपमा गरिब राष्ट्रका मानिसहरूलाई दर्ता गराउने विषय विवादित बनेको छ।

गोपनीयतासम्बन्धी विषयका विज्ञहरूले संवेदनशील डेटा दुरुपयोग हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर वर्ल्डकोइनले भने ती डेटा भण्डारण नगरिएको दाबी गरेको छ।

भिटालिक बुटेरिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भिटालिक बुटेरिनले वर्ल्डकोइनबारे आफ्नो चासो व्यक्त गर्दै तथा सकारात्मक प्रतिक्रिया गर्दै एउटा लामो ब्लग लेखेका छन्

वर्ल्डकोइन सञ्चालनमा आएपछि क्रिप्टोकरेन्सी नेटवर्क 'इथिरिअम'का सहसंस्थापक भिटालिक बुटेरिन उत्साहित देखिएका छन्। तर उनले सम्भावित जोखिमहरूबारे सचेत पनि गराएका छन्।

"समग्रमा ओर्बमा हेरेर यसलाई गहिरो रूपमा तपाईँको आँखा स्क्यान गर्न दिने "डिस्टोपिअन अनुभूतिका"बीच विशेष हार्डवेअर प्रणालीहरूले गोपनीयता रक्षाका लागि एकदम राम्रो काम गर्न सक्छ जस्तो देखिन्छ," उनले भने।

यद्यपि विशिष्ट ओर्बमा भर परेर स्क्यान गराउँदा वर्ल्डकोइन निकै बलियो हुने भएकाले बाँकी विश्व त्यसमा सहमत हुन नसक्ने सम्भावना पनि उनले औँल्याएका छन्।

red line
red line

ट्विटरका संस्थापक ज्याक डोर्सी क्रिप्टोबारे पनि जानकारी राख्छन्। उनले यो परियोजनाप्रति कटाक्ष गर्दै ट्वीट गरेका छन्।

यो परियोजनालाई "आकर्षक" को सङ्ज्ञा दिँदै उनले लेखेका छन्ः "ओर्ब भएको ठाउँमा जानुहोस् वा ओर्ब आफैँ तपाईँकहाँ आउने छ…।’’

अल्ट्मनले आलोचनालाई स्वागत गर्दै अनलाइनमार्फत् "घृणा गर्नेहरूबाट"’ आफूहरूलाई ऊर्जा प्राप्त हुने बताए। तर आफ्नो परियोजना महत्त्वाकाङ्क्षी रहेको उनले स्वीकार गरे।

"यसले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर यस्ता प्रयोग गरेर नै उन्नति हुन्छ," उनले ट्वीटमा भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।