क्रिप्टोकरेन्सी: जसले करोडौँ डलर बराबरको बिटकोइन फोहोरमा फ्याँके

जेम्स होवेल्स

झन्डै १० वर्षअघि सरसफाइ गर्दा जेम्स हावल्सले आफ्नो हार्डडिस्कमा बिटकोइन भएको कुरा हेक्का राखेनन्। उनले त्यतिबेला हजारौँ बिटकोइन भएको हार्डडिस्क फोहोरमा फ्याँके।

अहिलेको बजारभाउअनुसार उक्त हार्डडिस्कमा १८ करोड ४० लाख अमेरिकी डलरजतिको बिटकोइन थियो।

उनी लाखौँ डलर खर्च गरेर यूकेको न्यूपोर्टस्थित ल्यान्डफिल साइटमा उक्त हार्डडिस्क खोज्न अघि सरेका छन्।

सो हार्डडिस्क फेला पर्‍यो भने ती बिटकोइनको १० प्रतिशत रकम न्यूपोर्टलाई क्रिप्टोकरेन्सी हब सहर बनाउन दान दिने उनले घोषणा गरेका छन्।

तर ल्यान्डफिल साइट खन्दा त्यसले पर्यावरणीय जोखिम निम्तिन सक्ने भन्दै नगर परिषद्ले त्यसो गर्न रुचि देखाएको छैन।

सूचना प्रविधि इन्जिनियर हावल्सले सन् २०१३ मा ८,००० वटा बिटकोइन रहेको हार्डडिस्क फ्याँकेका थिए।

त्यति बेला बिटकोइनको मूल्य कम थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, न सिक्का न नोटः बिटकोइन के हो?

बिटकोइनको मूल्य

बिटकोइनको मूल्य तलमाथि भइरहन्छ।

सन् २०२१ को ज्यानुअरीमा हावल्सको बिटकोइनको मूल्य साढे २५ करोड अमेरिकी डलर थियो तर यो वर्षको सुरुमा क्रिप्टोकरेन्सी बजार प्रभावित भएपछि त्यो अहिले कम छ।

न्यूपोर्ट परिषद्ले हावल्सको ल्यान्डफिल खन्ने अनुरोधलाई पटकपटक अस्वीकार गरेको छ।

हावल्सले त्यसपछि आफ्नो हार्डडिस्क भेटियो भने त्यसबाट प्राप्त हुने रकमको १० प्रतिशत क्रिप्टो परियोजनामा दिने बताएका हुन्।

जेम्स होवेल्स

त्यो ल्यान्डफिल खोतल्नु सहज भने छैन किनभने त्यसका लागि दशकौँदेखि जम्मा भएका हजारौँ टन फोहरमा एउटा हार्डडिस्क खोज्नुपर्छ।

के भन्छन् हावल्स

तर हावल्सले त्यो काम प्रभावकारी र पर्यावरणमैत्री हिसाबले गर्नका लागि आफूसँग पैसा र विज्ञता भएको दाबी गरेका छन्।

"ल्यान्डफिल खन्नु आफैँमा एउटा ठूलो काम हो," उनी भन्छन्।

"पैसा खोजेको छु। हामीले आर्टिफिआल इन्टेलिजन्सका विज्ञ पनि ल्याएका छौँ। यो प्रविधिले हार्डडिस्क खोज्न सहज बनाउँछ।"

"हामीले पर्यावरणको क्षेत्रमा काम गर्ने टोली पनि ल्याएका छौँ। हामीसँग विभिन्न विभिन्न विषयका विभिन्न विज्ञता भएका मानिसहरू छन् जो यो काम उच्चस्तरीय हिसाबले गर्न सक्षम छन्।"

बिटकोइन

तस्बिर स्रोत, Getty Images

हार्डडिस्क फेला पार्नु चुनौतीपूर्ण कामको एउटा अंश मात्र हो।

फेला पर्‍यो भने पनि हार्डडिस्कमा भएको डेटा प्राप्त गर्न सकिन्छ भन्ने निश्चित छैन।

सबै कार्य सफल भयो भने पनि त्यहाँबाट कति रकम आउँछ भन्ने कुरा क्रिप्टोकरेन्सी बजारको अवस्थामा भर पर्छ। तर जे भए पनि यसका लागि दशौँ लाख अमेरिकी डलर खर्च लाग्छ।

तर ३७ वर्षीय हावल्सले पैसा खोज्न ती बिटकोइनमा केही भाग लगानीकर्तालाई दिन सहमत भएका छन्।

'ठूलो पर्यावरणीय जोखिम'

हावल्सले सफा गरिएको स्थानमा वायु ऊर्जा उत्पादन गर्ने र त्यसबाट प्राप्त ऊर्जालाई सहरका लागि बिटकोइन माइनिङ गर्न लगाउने योजना अगाडि सारेका छन्।

उनले सहरका प्रत्येक व्यक्तिलाई ६१ डलर दिने र सबै पसलमा क्रिप्टोकरेन्सीको टर्मिनल जडान गरिदिने पनि प्रतिबद्धता जनाएका छन्।

न्यूपोर्ट परिषद्ले भने हावल्सको अनुरोधमा पटकपटक प्रतिक्रिया दिएको बताएको छ।

"ल्यान्डफिल साइटको व्यवस्थापन गर्नका लागि हामीसँग वैधानिक उत्तरदायित्व छ," एक प्रवक्ताले बताए।

"ती उत्तरदायित्वमध्ये साइट र वरपरका क्षेत्रको पर्यावरणीय जोखिम व्यवस्थापन पनि एक हो।"

"हावल्सको अनुरोधमा महत्त्वपूर्ण पर्यावरणीय जोखिम छ। त्यसैलेहामी त्यसलाई स्वीकार गर्न सक्दैनौँ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिटकोइन: किन क्रिप्टोकरेन्सीको मूल्य ओरालो लागिरहेको छ?