सेन्ट्रल अफ्रिकन रिपब्लिकः एउटा अफ्रिकी देश जहाँ बिटकोइन औपचारिक मुद्रा बनेको छ

तस्बिर स्रोत, Getty Images
सेन्ट्रल अफ्रिकन रिपब्लिक सीएआरले बिटकोइनलाई औपचारिक मुद्राका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिएको छ। त्यसो गर्ने ऊ विश्वकै दोस्रो राष्ट्र हो।
हीरा, सुन र युरेनीअम खानी भए पनि सीएआर संसारकै अतिविपन्न देशमध्ये पर्छ।
मध्य अफ्रिकास्थित उक्त देश दशकौँ द्वन्द्वबाट आक्रान्त थियो। ऊ रुसको नजिकैको साझेदार हो।
व्याग्नर ग्रूपले भर्ती गरेका भाडाका सैनिकहरूले त्यहाँ विद्रोहीहरूसँग लडाइँ गर्न सघाउँदै आएका छन्।
बिटकोइनलाई कानुनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको सीएआरको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त निर्णयले सीएआरलाई संसारको "सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा" पुर्याएको विज्ञप्तिमा लेखिएको छ।
गत वर्ष सेप्टेम्बर महिनामा बिटकोइनलाई कानुनी मान्यता दिने एल् साल्भाडोर विश्वकै पहिलो देश बनेको थियो।
यद्यपि अन्तर्राष्ट्रिय मुद्रा कोष तथा धेरै अर्थशास्त्रीले उक्त निर्णयको आलोचना गरेका थिए। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार उक्त निर्णयबाट आर्थिक अस्थिरता उत्पन्न हुन सक्ने जोखिम बढाएको थियो।
बिटकोइनका चुनौती
बिटकोइनजस्ता क्रिप्टोकरेन्सीबाट अपराधीहरूलाई सम्पत्ति शुद्धीकरण गर्न सजिलो हुने आशङ्का पनि गरिएको छ भने क्रिप्टोकरेन्सी उत्पादन गर्न धेरै बिजुली चाहिने भएकाले त्यो पर्यावरणलाई प्रतिकूल हुने बताइन्छ।
क्रिप्टोकरेन्सी प्रयोग गर्दा इन्टरनेट आवश्यक हुन्छ।
तर सन् २०१९ मा सीएआरमा केवल चार प्रतिशत मानिसको पहुँच इन्टरनेटमा भएको वर्ल्डडेटा वेबसाइटको तथ्याङ्कले देखाउँछ।
प्रभावका लागि प्रतिस्पर्धा
सीएआरमा अहिले फ्रान्सका पुराना उपनिवेशहरूमा जस्तै फ्रान्सले समर्थन गरेको सीएफए फ्र्याङ्क प्रचलित छ।
केही विश्लेषकहरूले बिटकोइन अङ्गीकार गर्ने निर्णय सीएफएलाई तिरस्कार गर्ने प्रयासस्वरूप भएको ठानेका छन्।
खनिजहरूमा धनी मानिएको उक्त देशमा प्रभाव जमाउन रुस र फ्रान्सबीच प्रतिस्पर्धा चलिरहेको बेला यस्तो निर्णय आएको हो।
"प्रणालीगत भ्रष्टाचार रहेको र एक साझेदारले अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्नुपरेको परिप्रेक्ष्यमा यो आशङ्का अझ बलियो बन्छ," फ्रान्सेली विश्लेषक थिएरी भ्यार्कूलाँले समाचारसंस्था एफएफपीलाई भने।
आशा
देशको राजधानी बाङ्गीमा मिश्रित प्रतिक्रिया देखिएको छ।
अर्थशास्त्री यान दावोरोका अनुसार स्मार्टफोनबाट भुक्तानी गर्न मिल्ने र बिटकोइन अन्य मुद्रासँग साट्न मिल्ने भएकाले उक्त कदमबाट जनजीवन र कारोबार सरल हुने छ।
"व्यापारीहरूले विदेशमा केही किन्न जाँदा डलर वा अन्य मुद्रा साट्न सीएफए फ्र्याङ्क भरिएका सुटकेस बोकेर हिँड्नुपर्ने छैन," बीबीसीसँग कुरा गर्दै उनले भने।
सीएफएको प्रयोगबाट अफ्रिकालाई लाभ नभएको उनको दाबी छ।
विभिन्न देशमा औपनिवेशिक कालको अवशेषका रूपमा रहेको उक्त मुद्रा प्रचलनबाट हटाइनुपर्ने माग बढिरहेको छ।
उक्त मुद्राको प्रयोगबाट फ्रान्सलाई ती स्थानमा आर्थिक नियन्त्रण कायम गर्न सहयोग पुगेको आलोचकहरूको दाबी छ।
'अनुत्तरदायी'
कम्युटर वैज्ञानिक सिड्नी टिकायाले क्रिप्टोकरेन्सी प्रचलनमा ल्याउने सेन्ट्रल अफ्रिकन रिपब्लिकको निर्णयलाई "अपरिपक्व" र "अनुत्तरदायी" को सङ्ज्ञा दिएका छन्।
"उक्त देशमा इन्टरनेटको पहुँच अझै कम छ यद्यपि बिटकोइन पूर्णतः इन्टरनेटमा आश्रित छ," उनले भने।
उनका अनुसार सीएआरमा सुरक्षा, शिक्षा र खानेपानीजस्ता महत्त्वपूर्ण विषयमा अझ बढी ध्यान दिन आवश्यक छ।

तस्बिर स्रोत, AFP
यस्तो छ देशको इतिहास
सेन्ट्रल अफ्रिकन रिपब्लिक सन् १९६० मा स्वतन्त्र भएको हो।
तर त्यतिबेलादेखि नै उक्त देश द्वन्द्वमा फस्यो।
इसाईहरूको बाहुल्य भए पनि सन् २०१३ मा मुस्लिम विद्रोहीहरूले उक्त देशमा कब्जा जमाए।
प्रतिकार गर्ने उद्देश्यले आत्मरक्षक लडाकु समूहहरू बने।
त्यसपछि धार्मिक आस्थाका आधारमा धेरैतिर हत्याहरू भए।
सन् २०१६ मा फुस्ता-आर्कँज तोइदेहा राष्ट्रपति बनेपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक फ्रान्सको प्रभावबाट बिस्तारै रणनीतिक रूपमा रुसतिर ढल्किन थाल्यो।











