बिटकोइन व्यापारः यूकेमा सञ्चालित सबै क्रिप्टोकरेन्सी एटीएम अवैध, बन्द गर्न आदेश

बिटकोइन

तस्बिर स्रोत, Reuters

यूकेमा क्रिप्टोकरेन्सीका सबै एटीएमहरू अवैध रूपमा सञ्चालन भएको निष्कर्ष निकाल्दै एउटा सरकारी निकायले तिनलाई बन्द गर्न आदेश दिएको छ।

क्रिप्टो-एटीएमहरू पनि अरू एटीएमजस्तै देखिन्छन्। यद्यपि तिनबाट मानिसहरूले आफ्नो ब्याङ्कका कार्ड प्रयोग गरेर बिककोइनजस्ता क्रिप्टोकरेन्सी किन्न सक्छन्।

तर यूकेमा क्रिप्टोकरेन्सीसम्बन्धी सेवा प्रदान गर्ने कुनै पनि कम्पनीले यूकेमा क्रिप्टो-एटीएम सञ्चालन गर्न अनुमति लिएको छैन।

फाइनान्शल कन्डक्ट अथोरिटी (एफसीए) ले त्यस्ता उपकरणहरू बन्द गर्नुपर्ने नत्र कारबाही गरिने चेतावनी दिएको छ।

क्रिप्टो-एटीएमको सूची प्रकाशित गर्ने कोइन एटीम रेडारका अनुसार यूकेमा ८१ वटा क्रिप्टो-एटीएम चलिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, न सिक्का न नोटः बिटकोइन के हो?

"हामी उपभोक्ताहरूलाई क्रिप्टो-सम्पत्तिहरूको नियमन भएको छैन र ठूलो जोखिम छ अर्थात् यदि केही नराम्रो भयो भने मानिसहरूसँग सुरक्षाको सम्भावना हुँदैन भनेर नियमित रूपमा चेतावनी दिन्छौँ," एफसीएले भनेको छ।

"यदि तिनमा लगानी गर्न चाहने हो भने सर्वसाधारणहरूले आफ्नो सबै पैसा गुमाउन तयार हुनुपर्छ।"

एफसीएले क्रिप्टोकरेन्सीसम्बन्धी व्यापारमा संलग्न भएका तर सम्पत्ति शुद्धीकरण जाँच गर्न नियामक निकायमा आफ्नो व्यवसाय दर्ता नगरेका कम्पनीहरूको सूची प्रकाशित गरेको छ।

त्यस्तो सूची प्रकाशित गरेपछि ११० वटा त्यस्ता कम्पनीहरूले किनबेच रोकेको उसले जनाएको छ।