के बिटक्वाइनको ऊर्जा खपतले यसलाई ओरालो झार्छ

तस्बिर स्रोत, EPA
हामीले धेरै बिटक्वाइन अर्बपतिको कथा सुनेका छौँ।
त्यसमा सबैभन्दा नयाँ इलोन मस्क हुन्।
मस्कको विद्युतीय कार कम्पनी टेस्लाले फेब्रुअरीको सुरुमा डेढ खर्ब डलरको बिटक्वाइन खरिद गरेयता त्यो कारोबारबाट कागजमा उनले झन्डै ९० करोड डलर नाफा गरेको देखिएको छ।
उनको कारोबारको कारण एउटा बिटक्वाइनको मूल्य ५८,००० डलरभन्दा धेरै भयो।
तर क्रिप्टोकरेन्सी भनिने विद्युतीय मुद्राको मूल्य मात्रै माथि गएको होइन, यसको ऊर्जा खपत पनि उत्तिकै बढेको छ।
बिटक्वाइनको ऊर्जा खपत र त्यसको वातावरणीय असरहरूको विवरण आउन थालेपछि मस्कको आलोचना पनि बढेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनका आर्थिक सल्लाहकारले बिटक्वाइनलाई 'कारोबारका लागि असाध्यै अप्ठेरो तरिका' भन्दै 'बिटक्वाइन चल्तीका लागि आवश्यक ऊर्जाको मात्रा अत्यधिक' भएको बताएका छन्।
बिटक्वाइनले कति ऊर्जा खपत गर्छ भन्ने स्पष्ट छैन। तर बिटक्वाइनको प्रविधि एकदमै ऊर्जा खर्चालु भएको कुरामा दुई मत छैन।
केम्ब्रिज विश्वविद्यालयको एउटा अध्ययनले बिटक्वाइनले वार्षिक ४० देखि ४४५ टेरावाट ऊर्जा खपत गर्ने अनुमान गरेको छ। सो अध्ययनले सामान्यतया यसले वार्षिक १३० टेरावाट ऊर्जा खर्च गर्ने देखाएको छ।
यूकेले वार्षिक ३०० टेरावाट ऊर्जा खर्च गर्छ भने आर्जेन्टिनाले लगभग १३० टेरावाट खर्च गर्छ।

तस्बिर स्रोत, Reuters
बिटक्वाइनले खर्च गर्ने धेरै ऊर्जाको स्रोत भने प्रदूषक हुन्। सो अध्ययनले बिटक्वाइन नेटवर्क व्यवस्थापन गर्ने मानिसहरूको ऊर्जाको स्रोतबारे अध्ययन गर्दा दुई तिहाइको स्रोत खनिज इन्धन रहेको पाएको छ।
क्रिप्टोकरेन्सीले प्रयोग गर्ने ब्लकचेन प्रविधिका लागि ठूलो कम्प्युटर शक्ति आवश्यक पर्छ र त्यसको अर्थ ठूलो ऊर्जाको खपत हो।
यस प्रविधिमा धेरै कम्प्युटर जोडिएका हुन्छन्। ती प्रत्येक कम्प्युटर बिटक्वाइन माइनर हुन् जसले नयाँ बिटक्वाइन बनाउन सहयोग गर्ने मात्रै होइन, बिटक्वाइनको प्रत्येक कारोबारलाई प्रमाणित गर्ने र तथ्याङ्क राख्ने गर्छन्।
वास्तवमा माइनरले पाउने नयाँ बिटक्वाइन त्यो तथ्याङ्क राखिदिए एवम् प्रमाणित गरिदिए बापतको उपहार हो।
यो प्रत्येक १० मिनेटमा चल्ने चिट्ठाजस्तो भएको सिकागो विश्वविद्यालयकी गीना पिटर्स बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
संसारभरिका डेटा प्रशोधन केन्द्रहरू ती तथ्याङ्कहरू बिटक्वाइन प्रविधिलाई मान्य हुने अवस्थामा राख्न प्रशोधन ऊर्जा खर्च गरिरहेका हुन्छन्।
माइनरले रोजेको सङ्ख्या बिटक्वाइनको त्यो समयको सङ्ख्यासँग मिलेमा र नयाँ कारोबारको पहिलो तथ्याङ्क भएमा लगभग ५० हजार डलर बराबरको बिटक्वाइन उपहार दिइन्छ।
एउटा चिट्ठा पर्ने बित्तिकै नयाँ सङ्ख्या निकालिन्छ र फेरि यो प्रक्रिया सुरु हुन्छ।
प्राध्यापक पिटर्सका अनुसार जति धेरै बिटक्वाइनको मूल्य बढ्छ त्यति नै धेरै कम्प्युटरहरू यो प्रक्रियामा सहभागी हुन चाहन्छन्।
र बिटक्वाइनलाई धेरै ऊर्जा चाहिने अर्को कारण पनि छ।
यसको सफ्टवेयरले प्रति १० मिनेटमा नयाँ चिट्ठा खोल्छ। जति धेरै माइनरहरू भए त्यति नै त्यो चिट्ठा प्रक्रिया कठिन हुन्छ र त्यो समाधान गर्न प्रत्येक माइनरका कम्प्युटरको धेरै प्रशोधन ऊर्जा खर्च हुन्छ।
बिटक्वाइन कम्प्युटरको शक्तिलाई बढाउने गरी बनाइएको छ जसका लागि धेरै ऊर्जा आवश्यक पर्दै जान्छ।
बिटक्वाइन प्राप्त गर्न कम्प्युटरको कति प्रशोधन ऊर्जा खर्च भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ। अहिले प्रतिसेकेन्ड बिटक्वाइनसम्बन्धी १६०,०००,०००,०००,०००,०००,००० वटा कुल हिसाब संसारभरिका कम्प्युटरले गरिरहेका छन्।
ती सबै कम्प्युटरका काम बिटक्वाइनको खाता राख्नेबाहेक अरू कुनै उपयोगी काममा प्रयोग हुँदैनन्।
बिटक्वाइन विज्ञ एलेक्स डेभेरिस भन्छन्: "यदि बिटक्वाइनलाई विश्वभरि चलाउने हो भने प्रतिबिटक्वाइनको मूल्य दशौँ लाख हुन्छ र माइनरहरूसँग अमेरिकाले विद्युत्मा खर्च गर्नेभन्दा धेरै पैसा हुनेछ।"
"हामीले त्यसकै लागि अहिलेको ऊर्जा उत्पादनलाई दोबर बनाउनुपर्छ।"

तस्बिर स्रोत, Getty Images
यसले गर्दा बिटक्वाइन उपयोगी मुद्रा हुन नसक्ने उनको दाबी छ र त्यो दाबीलाई धेरै अर्थशास्त्रीहरूले सही मान्छन्।
हार्भर्ड विश्वविद्यालयका प्राध्यापक एवम् विश्व मुद्रा कोषका पूर्वप्रमुख अर्थशास्त्री केन रोग्अफ भन्छन्, मुद्रा सफल हुनका लागि चाहिने दुई आवश्यक कुरा सटहीको प्रभावकारी व्यवस्था र मूल्यको स्थिरता हो।
उनको विचारमा बिटक्वाइनमा यो दुवै विशेषता छैन।
उनको विचारमा अहिले बिटक्वाइन एक धनी व्यक्तिले अर्कोलाई बेच्ने मात्रै हो र त्यसको कुनै अन्तिम प्रयोग छैन।
त्यसो भए के बिटक्वाइन असफल हुन्छ त?
रोग्अफ भन्छन्: "मेरो कुरा त्यही हो। तर म कहिले त्यस्तो हुन्छ भन्न सक्दिनँ।"








