सोलर प्यानललाई ‘फोहोरको पहाड’ बन्न नदिन अनेक चुनौती

तस्बिर स्रोत, LAURENT JULLIAND
- Author, ड्यान्यल गोर्डन
- Role, द क्लाइमेट क्वेश्चन पडकास्ट, बीबीसी साउन्ड
सोलर अर्थात् सौर्य प्यानललाई स्वच्छ विद्युत उत्पादन गरेर कार्बन उत्सर्जन न्यूनीकरण गर्ने महत्त्वपूर्ण साधनका रूपमा विश्वभरि प्रवर्धन गरिँदै आएको छ।
तर समयक्रमसँगै ती साधनमा क्षय हुँदै जान्छ र ती कम प्रभावकारी बन्छन्। झन्डै २५-३० वर्ष प्रयोग गरेपछि नयाँ प्यानल जडान गर्नु नै खर्चका हिसाबले उपयुक्त हुन्छ।
विज्ञहरू भन्छन् त्यस्ता अर्बौँ सौर्य प्यानलहरू अन्ततः फाल्ने वा प्रतिस्थापन गरिनु पर्ने नै हुन्छ।
"विश्वले एक टेरावाट भन्दा बढी सौर्य विद्युत उत्पादन क्षमता जडान गरेको छ। साधारण सौर्य प्यानलहरूको क्षमता लगभग ४०० वाट हुन्छ। त्यसैले छतमा राखिने र सोलर फार्म दुवै किसिमका सौर्य पाताहरूको गणना गर्नुभयो भने २.५ अर्ब सौर्य प्यानलहरू हुन सक्छन्," अस्ट्रेलियास्थित यूनिभर्सिटी अफ न्यू साउथ वेल्समा सौर्य प्यानल पुनर्प्रयोग, रिसाइकलिङ, सम्बन्धी विज्ञ डा. रोङ देङ भन्छन्।
ब्रिटिश सरकारका अनुसार यूकेमा करोडौँ सौर्य प्यानलहरू छन्। तर तिनीहरूलाई नष्ट गर्ने वा पुनः प्रयोगमा ल्याउने विशिष्टीकृत पूर्वाधारको भने अभाव छ।
ऊर्जा विज्ञहरूले आसन्न विश्वव्यापी पर्यावरणीय प्रकोपलाई रोक्नका लागि तत्काल कदम चाल्न सरकार समक्ष आह्वान गरिरहेका छन्।
"अहिले नै पुनर्प्रयोगका उपायहरू (चेनहरू) सञ्चालनमा ल्याउन नसके सन् २०५० सम्म यो फोहोरको पहाड नै बन्ने छ," इन्टरन्याश्नल रिन्यूएबल एनर्जी एजेन्सीका उपनिर्देशक उटे कोलियर भन्छिन्।

तस्बिर स्रोत, ROSI
"हामी धेरै भन्दा धेरै सौर्य प्यानलहरू उत्पादन गरिरहेका छौँ। यो ठीक छ। तर, हामीले त्यसबाट निस्कने फोहोरको व्यवस्थापन कसरी गर्छौँ त?," उनी प्रश्न गर्छिन्।
फ्रान्समा सौर्य प्यानलहरू पूर्ण पुनर्प्रयोग गर्ने विश्वको पहिलो कारखाना आधिकारिक रूपमा खुलेपछि, यसै वर्ष जूनको अन्त्यसम्ममा कुनै निर्णायक कदम चालिने ठानिएको थियो।
ग्रेनोबल सहरमा अवस्थित, सौर्य पुनर्प्रयोग गर्ने विशिष्टीकृत कम्पनी रोसी (आरओएसआई)ले सौर्य प्लानलहरूको ९९ प्रतिशत अवयवहरू निकाल्ने र पुनः प्रयोग गर्ने ठानिन्छ।
यस नयाँ उद्योगले सिसाका पाताहरू र एल्युमिनिअमका फ्रेमहरूको पुनर्प्रयोगसँगै प्यानलको भित्री भागमा रहेका चाँदी र तामाजस्ता निकाल्न कठिन धातुहरू सहित लगभग सबै बहुमूल्य सामग्रीहरू पुनः प्राप्त गर्न सक्छ।


यी दुर्लभ सामग्रीहरू पछि पुनः प्रयोग गरेर नयाँ, थप शक्तिशाली सौर्य एकाइहरू बनाउन सकिन्छ।
सौर्य प्यानलहरू पुनर्प्रयोग गर्ने परम्परागत विधिहरूले प्रायः एल्युमिनिअम र काँच मात्र निकाल्छन्। तर, आरओएसआईले भने तिनमा प्रयोग हुने काँच तुलनात्मक रूपमा कम गुणस्तरको हुने बताउँछ।
ती विधिहरू प्रयोग गरेर लिइएका काँच टाइलहरू बनाउन वा स्यान्डब्लास्टिङ (केही सामग्रीको सतह सफा गर्न) प्रयोग गर्न सकिन्छ। त्यसलाई अलकत्रा बनाउन अन्य सामग्रीहरूसँग पनि मिसाउन सकिन्छ। यद्यपि नयाँ सौर्य प्यानलहरू उत्पादन गर्नेजस्ता उच्च गुणस्तरको काँच आवश्यक पर्ने कार्यमा प्रयोग गर्न सकिँदैन।
तीव्र विकासको अवधि

तस्बिर स्रोत, LAURENT JULLIAND
नयाँ आरओएसआई संयन्त्र, सौर्य प्यानल स्थापनाको गति तीव्र भैरहेको समय खुल्दैछ।
सन् २०२१ मा विश्वको सौर्य ऊर्जा उत्पादन क्षमता २२ प्रतिशतले वृद्धि भयो। यूकेमा हरेक महिना करिब १३,००० फोटोभोल्टिक (पीभी) सौर्य प्यानलहरू जडान गरिन्छन्। तीमध्ये अधिकांश निजी घरको छतमा हुन्छन्।
धेरै अवस्थाहरूमा सौर्य उर्जा एकाइहरूको अपेक्षित आयु सकिनु अघि नै ती तुलनात्मक रूपमा कम प्रभावकारी बन्दै जान्छन्।
नियमित अन्तरालहरूमा नयाँ र अधिक क्षमता भएका प्यानलहरू विकसित हुन्छन्, अर्थात् करिब १० देखि १५ वर्ष पुराना सौर्य प्यानलहरूलाई अद्यावधिक गरिएका संस्करणहरूले प्रतिस्थापन गर्नु सस्तो पर्छ।
यसको अहिलेको वृद्धि दरको प्रवृत्ति कायम रहेको खण्डमा फ्याँकिएका सौर्य प्यानलहरूको मात्रा एकदम ठूलो हुन जाने कोलियर बताउँछिन्।
"हामीलाई लाग्छ सन् २०३० सम्ममा हामीसँग ४ मिलियन टन त्यस्ता अनावश्यक प्यानलहरू हुन्छन् जस्तो लाग्छ जुन अहिलेसम्म व्यवस्थापन गरिएको छ। तर सन् २०५० सम्ममा त्यस्ता सामग्री विश्वव्यापी रूपमा २० करोड टनभन्दा बढी हुन्छन् जस्तो लाग्छ।“
त्यस अर्थमा विश्वले अहिले प्रत्येक वर्ष कुल ४० करोड टन प्लास्टिक उत्पादन गर्छ।
पुनर्प्रयोगका चुनौतीहरू
सौर्य प्यानलहरू पुनर्प्रयोग गर्ने संयन्त्रहरू निकै कम हुनुको कारण हालसम्म प्रशोधन वा फेरि प्रयोग गर्नका लागि पर्याप्त फोहोर उपलब्ध नहुनु हो।
घरेलु प्रयोजनका सौर्य प्यानलहरूको पहिलो उत्पादन अब प्रयोगयोग्य अवधिको अन्त्यमा आउँदै छन्। ती एकाइहरू प्रयोगहीन अवस्थाको निकट आउँदा तिनको व्यवस्थापनका लागि तत्काल काम गर्नु पर्ने विज्ञहरू बताउँछन्।
"अब यसबारेमा सोच्ने समय हो," कोलियर भन्छिन्।
फोटोभोल्टिक फोहोर प्रशोधन गर्ने सम्बन्धमा फ्रान्स युरोपेली राष्ट्रहरूमध्ये अग्र स्थानमा रहेको बताउँछन् निकोलस डेफ्रेन। उनको संस्था सोरेन, आरओएसआई र अन्य संस्थाहरूले फ्रान्समा सौर्य प्यानलहरू हटाउने कार्यमा सहकार्य गर्दै आएका छन्।
"सबैभन्दा ठूलो [हामीले निकालेको] का लागि तीन महिना लाग्यो," डेफ्रेन सम्झन्छन्।
सोरेनको उनको समूहले सङ्कलित सामग्रीलाई पुनः प्रयोगमा ल्याउने विभिन्न उपायहरू अपनाउँदै आएको छ। "हामी अहिले जे सक्छौँ त्यो सबथोक गरिरहेका छौँ त्यसपछि यो कार्यका लागि कुन कुरा ज्यादा प्रभावकारी हुन्छ त्यो खोज्ने प्रयास गर्दैछौँ।"
ग्रेनोबलमा रहेको आरओएसआईको उच्च-प्रविधियुक्त संयन्त्रमा तामा, सिलिकन र चाँदी जस्ता बहुमूल्य सामग्रीहरूलाई सौर्य प्यानलहरूबाट कडा मेहनत गरेर निकालिन्छ।
प्रत्येक सौर्य प्यानलमा यी बहुमूल्य सामग्रीका स-साना अंशहरू मात्र प्रयोग भएका हुन्छन्। ती टुक्राहरू अन्य अवयवहरूसँग यसरी टाँसिएका हुन्छन् कि अहिलेसम्म तिनीहरूलाई छुट्टाउने प्रक्रिया आर्थिक रूपमा फाइदाजनक भइसकेको छैन।

तस्बिर स्रोत, LAURENT JULLIAND
तर ती वस्तु निकै मूल्यवान् हुन्छन् र तिनलाई कुशलतापूर्वक निकाल्ने कार्य ठूलो उपलब्धि हुन सक्ने डेफ्रेन बताउँछन्।
“सोलर प्यानलको ६० प्रतिशतभन्दा बढी मूल्य त्यसको तौलको ३ प्रतिशत अंशमा समेटिएर रहेको हुन्छ,” उनले भने।
भविष्यमा नयाँ सौर्य प्यानलहरू बनाउन आवश्यक पर्ने चाँदीसहित अन्य सामग्रीको लगभग तीन-चौथाई प्रयोगहीन बनेका पीभी एकाइहरूबाट पाउन सकिने र त्यसले नयाँ संयन्त्रहरूको उत्पादनलाई गति दिन मद्दत गर्ने विषयमा सोरेनको टोली आशावादी छ।
जीवाश्म इन्धनबाट सौर्य ऊर्जामा रूपान्तरण गर्नको लागि सौर्य प्यानल बनाउन यथेष्ट मात्रामा चाहिने चाँदी छैन, डिफ्रेनले भने। "हामीसँग उत्पादनको निम्ति अवरोध छ, जुन चाँदी हो।"
यसैबीच ब्रिटिश वैज्ञानिकहरूले आरओएसआई जस्तै प्रविधि विकास गर्न खोजिरहेका छन्।


गत वर्ष यूनिभर्सिटी अफ लेस्टरका अनुसन्धाताहरूले एक प्रकारको सलाइनको प्रयोग गरेर पीभी एकाइहरूबाट चाँदी कसरी निकाल्ने भन्ने विषयमा काम गरेको बताएका थिए।
तर हालसम्म आरओएसआई यस क्षेत्रमा आफ्नो कार्यलाई औद्योगिक स्तरमा लैजाने एक मात्र कम्पनी हो।
यससँगै प्रविधि महँगो छ। यूरोपमा सौर्य प्यानलका आयातकर्ता वा उत्पादकहरूले प्रायः त्यसलाई जिम्मेवारीपूर्वक विसर्जन गर्छन्। साथै धेरैले फोहोरलाई टुक्राटुक्रा पार्छन् जुन तुलनात्मक रूपमा सस्तो छ।
डेफ्रेन सोलर प्यानलहरूको वृहत् पुनर्प्रयोग अझै पनि प्रारम्भिक चरणमा रहेको स्वीकार गर्छन्। सोरेन र यसका साझेदारहरूले गत वर्ष मात्र ४,००० टन फ्रान्सेली सौर्य प्यानलहरू पुनः प्रयोग गरे।
तर अझै धेरै गर्न सक्ने सम्भावना छ र उनले यसलाई आफ्नो उद्देश्य बनाएका छन्।









