तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोप२७: राष्ट्रसंघीय सम्मेलनको आरम्भमा वातावरणीय विपद्को चेतावनी
- Author, इस्मे स्टालार्ड
- Role, बीबीसी न्यूज जलवायु र विज्ञान,
- Reporting from, शर्म अल-शेख
हाम्रो ग्रह पृथ्वीले "आफू विपद्मा परेको संकेत दिइरहेको छ" भन्ने चेतावनी सहित आइतवारबाट इजिप्टमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन आरम्भ भएको छ।
महासचिव एन्टोनियो गुटेरसले आइतवार नै सार्वजनिक गरिएको एक प्रतिवदेनको आधारमा त्यस्तो टिप्पणी गरेका हुन् जुन प्रतिवेदनले, अभिलेख अनुसार, गएको आठ वर्ष पृथ्वीमा हालसम्मकै सबैभन्दा बढी तापक्रम भएका वर्षहरूका रूपमा दरिने जनाएको थियो।
कोप२७ भनेर चिनिने इजिप्टको यो सम्मेलनमा १२० जनाभन्दा बढी विश्व नेताहरूले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनु पर्ने कदमहरूका बारे दुई हप्तासम्म विभिन्न छलफल र वार्ताहरूमा सहभागीता जनाउँदै छन्।
कोप २७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री सामेह शुक्रीले रूसले युक्रेनमा गरेको अतिक्रमणबाट सिर्जना भएको खाद्य तथा उर्जा संकटको अवस्थालाई जलवायु परिवर्तनसँग जुझ्ने कार्यको बाटोमा अवरोध बन्न नदिन नेताहरूलाई आग्रह गरेका थिए।
सम्मेलनमा भेला भएका विश्व नेताहरूलाई चेतावनी दिँदै राष्ट्रसङ्घका महासचिवले जलवायु परिवर्तनका कारण विश्व खराब अवस्थातर्फ उन्मुख भएको बताएका हुन्।
उनले "अवस्था थप खराब हुन दिन वा नदिने भन्ने विषय सबैको हातमा रहेको" पनि उल्लेख गरे।
सम्मेलनमा उनले भने, "विकसित र विकासशील अर्थतन्त्रभएका देशहरूबीच एउटा ऐतिहासिक समझदारी गर्न म आह्वान गर्छु। खासगरी उदाउँदा देशहरूलाई समझदारीमा ऐक्यबद्धता जनाउन आह्वान गर्छु।"
भिडिओ सन्देश
राष्ट्रसंघका महासचिव गुटेरसले सम्मेलनमा पठाएको एक भिडिओ सन्देशमा सन् २०२२ मा विश्वमा जलवायु परिवर्तनबाट परेको प्रभाव सम्बन्धी एक प्रतिवेदन, द स्टेट अफ ग्लोबल क्लाइमेट रिपोर्ट २०२२, लाई “जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट सिर्जित भद्रगोलपूर्ण अवस्थाको अभिलेख” भनेका छन्।
उक्त प्रतिवेदनमा वैज्ञानिकहरूले अनुमान गरे अनुसार विश्वको तापक्रम औद्योगिकिकरण युगभन्दा अघिको समयको दाँजोमा १.१५ डिग्री सेल्सिअस्ले वृद्धि भैसकेको छ र गत आठवटा वर्ष पृथ्वीमा सबैभन्दा तातो वर्षको रूपमा रहने बाटोमा छन्।
उक्त प्रतिवेदनले जलवायु परिवर्तनबाट पर्ने व्यापक असरहरूका बारेमा पनि चेतावनी दिएको छ जसमा समुद्रको सतह बढ्ने क्रम तीव्र हुने, हिमनदीहरूको आकारमा ठूलो ह्रास हुने र गर्मीका लहरहरू झन् चर्केर जाने अवस्थाहरू पनि पर्दछन्।
प्रतिबद्धता
महासचिव गुटेरसले भनेका छन् उक्त प्रतिवेदनले फेला पारेका तथ्यहरूका आधारमा कोप २७ अति जरूरी र विश्वसनीय कदमहरू चाल्ने निर्णय लिने स्थान हुनु पर्दछ।
विश्व नेताहरूले सोमवार र मङ्गलवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रमहरू छन्। नेताहरू सम्मेलनस्थलबाट गइसकेपछि सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलले वार्ता, मोलमोलाई र छलफललाई तीव्रता दिनेछन्।
गत वर्ष ग्लास्गोमा भएको शिखर सम्मेलनमा विभिन्न प्रतिबद्धताहरू व्यक्त भएका थिएः
- सबैभन्दा धेरै प्रदुषण फैलाउने मध्येको एक इन्धन- कोइलाको खपतलाई कम गर्दै लैजाने
- सन् २०३० सम्ममा वन विनाशलाई रोक्ने
- सन् २०३० सम्ममा मिथेन ग्यासको उत्सर्जनलाई ३० प्रतिशतले घटाउने
- राष्ट्रसंघमा नयाँ जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने कार्य योजना, क्लाइमेट् एक्शन प्लानहरू, बुझाउने
जलवायु परिवर्तनका नकारात्मक प्रभावको मारमा परिरहेका विकासशील देशहरूले आर्थिक सहयोग उपलब्ध गराइने भनेर विगतमा गरिएका प्रतिबद्धताहरू पालना हुनु पर्ने माग गरिरहेका छन्।
तिनीहरूले ‘लस एण्ड ड्यामेज’ भनिएको हानि तथा नोक्सानी सम्बन्धी आर्थिक परिपूरणका बारे पनि छलफल हुनु पर्ने माग गरेका छन्। त्यो भनेको जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने नोक्सानीबाट जोगिनका लागि मात्रै होइन हालको समयमा नै वेहोर्नु परिरहेको क्षतिसँग जुध्नका लागि आर्थिक सहयोगको व्यवस्था हुनुपर्छ भन्ने माग हो