तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय सीमा क्षेत्रमा नेपालले गरिरहेको छ यी देशका नागरिकमाथि 'विशेष निगरानी'
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपाली सुरक्षा अधिकारीहरूले पहलगाम घटना र पछिल्लो भारत-पाकिस्तान तनावपछि दक्षिणी छिमेकी भारतसँगको खुला सीमा जोडिएका क्षेत्रमा केही देशका नागरिकलाई "विशेष निगरानी जारी राखेको" बताएका छन्।
त्यसका क्रममा नेपाल र भारतका सुरक्षा अधिकारीहरूले गुप्तचरसम्बन्धी सूचनाहरू आदानप्रदान बढाएको र संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती बढाएको उनीहरूको भनाइ छ।
सीमा सुरक्षाबारे स्थानीय संयुक्त संयन्त्रका बैठकहरूलाई नियमित गरिएकाले त्यस्ता बैठकहरूको सङ्ख्या पनि बढेको अधिकारीहरूको भनाइ छ।
भारतीय सञ्चारमाध्यमहरूले पनि दुई देशका सीमा सुरक्षाबलहरूले संयुक्त गस्ती गरिरहेको विवरणका खबरहरू प्रकाशित गरेका छन्।
त्यस्तै पछिल्ला दिनहरूमा नेपाल-भारत सीमा क्षेत्रमा ड्रोनहरू उडेको भन्ने अपुष्ट विवरणहरू केही नेपाली सञ्चारमाध्यमहरूमा आएका छन्। यद्यपि नेपाली अधिकारीहरूले सीमा क्षेत्रमा ड्रोन उडेको खबरलाई बीबीसीसँग पुष्टि गरेनन्।
नेपालका भूतपूर्व वरिष्ठ सुरक्षा अधिकारीहरू भारत र पाकिस्तानबीच तनाव बढ्दा जहिल्यै पनि नेपाल-भारत सीमा क्षेत्रलाई लिएर दबाव उत्पन्न हुने बताउँछन्।
त्यसका विभिन्न कारणहरू रहेको र त्यसमध्ये भारतमा भएका "कतिपय घटनामा नेपाली भूमिबाट तेस्रो मुलुकका नागरिक भारत प्रवेश गरेको घटनाहरूको पृष्ठभूमि" मुख्य भएको उनीहरूको भनाइ छ।
नेपाल-भारत संयुक्त गस्ती
कतिपय भारतीय सञ्चारमाध्यमहरूले नेपाली र भारतीय सुरक्षाकर्मीहरूले संयुक्त रूपमा सीमामा गस्ती बढाएको जनाइरहेका छन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरूलाई उद्धृत गर्दै ती सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपालमा 'सन्दिग्ध व्यक्तिहरू' रहेको गोप्य सूचना प्राप्त भएपछि त्यस्तो गस्ती गरिएको हो।
यद्यपि नेपाली अधिकारीहरू यस्तो गस्ती नियमित रूपमा नै हुने गरेको तर भारत-प्रशासित कश्मीरको पहलगाममा भएको घटना अनि भारत र पाकिस्तानबीच बढेको तनावपछि भने त्यस्ता गस्तीको सङ्ख्या बढाइएको बताउँछन्।
पहलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
नेपालमा सीमा सुक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालिदास धौबजीले बीबीसीसँग भने, "पछिल्लो परिस्थितिमा स्वाभाविक रूपमा सीमा क्षेत्रमा निगरानी बढाइएको छ। खुला सीमा भएकाले हामीले संवेदनशील भएर हेरका छौँ।"
उनले पहिलेको तुलनामा नेपाल-भारत सीमा क्षेत्रमा कडाइ धेरै गरिएको र दुवै देशका सीमा सुरक्षाको जिम्मा पाएका निकायबीच थप समन्वय विस्तार गरिएको बताए।
भारतको अनुरोधमा कडाइ गरिएको हो?
यद्यपि उनी भारतले दिएको गोप्य सूचनाका आधारमा मात्र सीमामा कडाइ गरिएको भन्ने भनाइ सही नभएको बताउँछन्।
उनले भने, "हामीलाई पनि उत्तिकै सुरक्षा चुनौती छ। हाम्रो पनि संवेदनशीलता छ। यहाँ अवान्छित व्यक्तिहरू आउलान् भन्ने पिर छ। हतियार आउला भन्ने पनि छ।"
"ती सबै कुरालाई मध्यनजर गरेर एकअर्काको अनुरोधमा नै हामीले अहिले कडाइ गरिरहेका छौँ र मिलेर काम गरिरहेका छौँ। हामीले हाम्रो साधनस्रोतले भ्याएअनुसार काम गरिरहेका हौँ।"
बीबीसीले कुराकानी गरेका नेपाल-भारत सीमा जोडिएका कम्तीमा पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पनि पछिल्ला दिनमा दुवै देशका सुरक्षाकर्मी र अधिकारीहरूले सूचना आदानप्रदान सीमामा थप कडाइ गरेको बताए।
मुख्य निगरानी कसको?
नेपाली अधिकारीहरूका अनुसार विशेष गरी नेपालमा प्रवेश गर्ने वा गर्न सक्ने भनी पाकिस्तानी र बाङ्ग्लादेशी नागरिकहरू तथा म्यान्मारबाट आउन सक्ने रोहिन्ज्या शरणार्थीलाई विशेष निगरानी गरिएको छ।
नेपाल र भारतबीचको एउटा प्रमुख नाका वीरगन्जसमेत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने,"खास गरी हामीले संवेदनशील ढङ्गले हेरेको भनेको पाकिस्तानी नागरिकहरू, रोहिन्ज्या र अन्य पहिचानबाट पनि प्रवेश गर्न सक्ने मानिसहरू हुन्।"
उनले बाङ्ग्लादेशबाट पनि गलत कार्य गर्ने व्यक्तिहरू प्रवेश गर्ने सम्भावनालाई 'संवेदनशील ढङ्गले हेर्नू' भन्ने निर्देशनअनुसार काम गरिरहेको बताए।
यद्यपि अधिकारीहरू बाङ्ग्लादेशबाट आउन सक्ने त्यस्ता व्यक्तिहरू झापाबाट प्रवेश गर्ने सम्भावना बढी रहेकोमा जोड दिन्छन्।
प्रमुख जिल्ला अधिकारीहरूका अनुसार नेपाल र भारतका जिल्लास्तरीय सुरक्षा तथा प्रशासनका अधिकारीहरू सम्मिलित संयन्त्रका बैठकहरूलाई नियमित गर्ने र सूचना आदानप्रदानका आधारमा "सन्दिग्धहरूको खोजी" कार्यलाई थप तीव्र बनाइएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, "नेपाल र भारतबीच एकअर्काविरुद्ध हाम्रो भूमि प्रयोग नहोस् भन्ने स्पष्ट निर्देशन भएअनुसार हामीले सीमामा कडिकडाउ गरेका छौँ।"
"उताको असामाजिक व्यक्ति यता आउन सक्ने र यताको उता जान सक्ने सम्भावनालाई हेरेर ट्र्याक गर्ने गरी गतिविधि भएको छ। यो हाम्रोतिर र उता पनि सबै जिल्लामा भएको छ तर हालसम्म हाम्रोतिर त्यस्तो कसैलाई पक्राउ गरिएको छैन।"
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार उक्त क्षेत्रमा पनि भारतीय समकक्षीसँग छलफल गरेर नेपालभित्र पनि अवान्छित गतिविधि हुन नदिने गरी निगरानी अघि बढाइएको छ।
भिसा नभएकालाई कडाइ
सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरू र प्रहरीका अनुसार विशेष गरी पछिल्लो समयमा भिसा नभएका विदेशी नागरिकहरूलाई अध्यागमन कानुनअनुसार कारबाही अघि बढाउने र सीमामा विशेष निगरानी गर्ने गरिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, "नेपालको भिसा नभएकाहरूलाई हामीले प्रवेश गर्नै दिएका छैनौँ। [भारतीय सीमा अधिकारीहरूसँगको] बैठकमा पनि हामीले त्यस्तै कुरा कडाइसाथ राखेका छौँ।"
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेश थापाका अनुसार पहलगाम घटनालगत्तैदेखि नेपालले कतिपय सीमा नाकाहरूमा आवतजावत गर्नेहरूको तीनपुस्ते विवरण पनि मागेर राख्न थालेको छ।
"यस मामिलालाई लिएर हालसम्म हामीले कसैलाई पक्राउ गरेका छैनौँ तर सीमामा निकै कडाइ गरेका छौँ। सही मान्छे मात्र प्रवेश गरोस् भनेर सतर्क छौँ," उनले भने।
"कुनै सूचना आयो र घटनाक्रम भयो भने हामीले तुरुन्तै कदम चालिहाल्छौँ।"
मोरङका प्रमुख जिल्ला अधिकारी यादवले सीमामा कडाइ गरेपछि कतिपय सर्वसाधारणहरूले गुनासो गर्ने गरेको भए पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी त्यसलाई खुकुलो नबनाइएको बताए।
प्रहरी प्रवक्ता थापाले भने, "नेपाल ट्रान्जिट नबनोस् भनेर हामी संवेदनशील भएर काम गरिरहेका छौँ। हाम्रो भूमिबाट कुनै पनि अनधिकृत व्यक्ति गएर अर्को देशमा कुनै पनि आपराधिक गतिविधि नगरून् भनेर हामी सचेत छौँ।"
"सीमामा मात्र नभई अन्य क्षेत्रमा र राजधानीमा भएका मानिसहरू पनि हामीले निगरानी गरिरहेका छौँ। त्यो जारी छ।"
भारत-पाकिस्तान तनावले नेपाली सीमामा सधैँ किन दबाव?
गृह मन्त्रालय, सुरक्षा तथा गुप्तचर निकायका अवकाशप्राप्त वरिष्ठ अधिकारीहरूका अनुसार भारत र पाकिस्तानबीच तनाव बढ्दा नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा दबाव पर्ने विभिन्न कारणहरू रहेका छन्।
त्यसको एउटा कारण यी दुई देशबीच खुला सिमाना हुनु पनि रहेको पूर्वगृहसचिव मोहनकृष्ण सापकोटा बताउँछन्। उनी भन्छन्, "जुन बेला सीमा प्रशासन कमजोर हुन्छ, त्यस बेला राष्ट्रिय सुरक्षा लडखडाउन सक्छ। हाम्रो खुला सीमा भएकाले घुसपेठ हुने समस्या ठूलो छ।"
"पाकिस्तानी, बाङ्ग्लादेशी मात्र होइन, रोहिन्ज्या पनि आइरहेका छन्। हाम्रो सीमा खुला भएकाले हामीले ख्याल राख्नैपर्ने हुन्छ।"
नेपाल र भारतबीच झन्डै १,८०० किलोमिटर खुला सीमा रहेको छ भने नेपालको तीनतिर भारतीय सीमा पर्छ।
सापकोटाका भनाइमा भारतसँग लामो र तीनतिरबाट सिमाना जोडिएकाले "अन्तर्राष्ट्रिय चासो हुने हुँदा छिमेकीको सुरक्षा चासोलाई पनि नेपालले हेरिदिनुपर्ने" हुन्छ।
आतङ्कवादबारे अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्यूरोमा लामो समय काम गरेका भूतपूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी भारत र पाकिस्ताबीच तनाव हुनेबित्तिकै नेपालको सीमा क्षेत्रमा दबाव पर्नुको मुख्य कारण कश्मीर भएको बताउँछन्।
उनले बीबीसीसँग भने, "यो विषय चाहिँ कश्मीरको विषयसँग जोडिन्छ। भारत र पाकिस्तानबीच तनाव हुँदा कश्मीरको मामिला बढेर जान्छ। त्यहाँको उग्रवादी सशस्त्र गतिविधि बढेर जान्छ।"
"त्यस्तो अवस्थामा भारतको गुप्तचरले भनेको र विगतमा हाम्रो नेपालको अनुसन्धानले पनि कतिपय पुष्टि गरेको कुरा के हो भने पाकिस्तान-नियन्त्रित कश्मीरबाट नेपाल आएर कतिपय त्यस्ता व्यक्ति भारत पुगेको देखिएको थियो।"
उनका अनुसार खुला सीमा भएका कारण त्यस्ता गतिविधि नेपालबाट भारततर्फ मात्र नभई भारतबाट नेपालतर्फ पनि हुने गरेका छन्।
"विगतमा यस्ता थुप्रै घटना भएकाले दुवैतर्फ विशेष चासो रहन्छ र हामीले सतर्कता अपनाउनु अवस्था बन्छ," उनले भने।
भारतको सुरक्षालाई चुनौती दिने तेस्रो देशका मानिसहरू नेपाल आएका र नेपालको सुरक्षालाई चुनौती दिने व्यक्ति भारतमा लुकेर बसेका घटना धेरै भएको उनको भनाइ छ।
तर नेपाल र भारतबीच सुपुर्दगी सन्धि भए पनि त्यसको प्रक्रिया पूरा गर्दा समय लाग्ने भएकाले दुवै देशका सुरक्षा अधिकारीहरूले गुपचुप रूपमा त्यस्ता व्यक्तिलाई पक्रेर बुझाउने गरेको उनी बताउँछन्।
त्यसैले गर्दा कतिपय अवस्थामा अर्को देशमा पक्राउ परेका व्यक्ति पनि आफ्नै भूमिमा पक्राउ गरेको भनेर सुरक्षा निकायहरूले भन्ने गरेको जानकारहरूको भनाइ छ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भारत र पाकिस्तानबीच तनाव बढेका बेलामा नेपालको सीमामा सधैँ दबाव पर्ने र नेपालको सुरक्षा चिन्ता बढ्ने बताउँछन्।
उनले भने, "उदाहरणका लागि, पहलगाम घटनापछि भारतमा रहेका पाकिस्तानीलाई तत्काल भारत छाड्न भनियो। त्यस्तो अवस्थामा अब कतिपय व्यक्ति खुला सीमा भएकाले नेपाल प्रवेश गर्ने अवस्था पनि बन्न सक्छ।"
"कति मानिसहरू कुनै त्यस्ता गतिविधिका लागि निष्क्रियजस्तो भएर बसेका पनि हुन सक्छन्। विगतमा त्यस्ता घटना भएकाले भारतीयहरूले पाकिस्तानसँग सम्बन्ध बिग्रिएका बेला हामीलाई भन्ने मौका पनि पाउँछन्।"
उनले सन् १९९९ डिसेम्बर २४ मा कश्मीरी पृथक्तावादीहरूले काठमाण्डूबाट दिल्लीका लागि उडेको इन्डिअन एअरलाइन्सको अपहरण गरेको घटनादेखि भारतले आतङ्कवादी भनेका कैयौँ व्यक्तिहरू नेपालमा पक्राउ परेका विगतका उदाहरणहरू पनि दिए।
उग्रवादीहरूले काठमाण्डूबाट उडेको आईसी-८१४ विमानलाई अपहरण गरेर भारतको अमृतसर, पाकिस्तानको लाहोर, संयुक्त अरब इमिरेट्सको दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्याएका थिए।
तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहार पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए।
उनले भने, "विगतमा त्यस्ता उदाहरण भएकाले भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएका बेला हाम्रो सीमामा कडाइ गर्नुपर्ने हुन्छ, त्यो भारतका लागि मात्र नभइ हाम्रो लागि पनि हो।"
नेपालले गर्नुपर्ने काम
भूतपूर्व वरिष्ठ सुरक्षा अधिकारीहरू नेपालले खुला सीमा भएकाले नेपाल र भारतबीचको सीमामा थप सतर्कता अपनाउन जरुरी रहेको र त्यसका लागि नेपालले कतिपय कुरा सुधार गर्नुपर्ने सुझाव दिन्छन्।
देवीराम शर्मा भन्छन्, "यस्ता कुरा सुधार गर्न एकै दिन काम गरेर हुँदैन। त्यसका लागि हामीले निरन्तर काम गर्नुपर्छ। मुख्यतः खटिने कर्मचारीहरूमा आर्थिक प्रलोभन हुनुभएन। सुरक्षाका लागि दत्तचित्त भएर लाग्नु पर्यो।"
"अनि, देशभित्रको र बाहिर दुवैतिरको गुप्तचरसम्बन्धी सूचनालाई गम्भीर रूपमा लिने र आवश्यक सबै निकायले समन्वय गर्नुपर्ने हुन्छ।"
पूर्वएआईजी भण्डारी नेपालले "क्षेत्रीय आतङ्कवाद फैलन सक्नेतर्फ" ध्यान दिनुपर्नेमा पनि जोड दिन्छन्।
उनी नेपाललाई त्यस्ता गतिविधिको छायामा पर्न नदिनका लागि सीमा क्षेत्र र अन्तर्राष्ट्रिय विमानस्थलमा पनि निगरानी बढाउनुपर्ने बताउँछन्।
"त्यस्तै नेपालकै निकायहरू अनि भारतीय निकायहरूसँग पनि समन्वय र आपसी सहयोग हुनुपर्ने हुन्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।