थप्पड विवादमा भारतमा विद्यालय बन्द

शिक्षिका

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, शिक्षिकालाई मुस्लिमविरोधी टिप्पणी गरेको र सहपाठीबाटै अर्का विद्यार्थीलाई पिट्न लगाएको आरोप छ

भारतको उत्तर प्रदेश राज्यका अधिकारीहरूले त्यहाँको एउटा निजी विद्यालयकी शिक्षिकाले एक मुस्लिम विद्यार्थीलाई थप्पड हान्न भनेर उनका सहपाठीहरूलाई उक्साएको भन्ने विवादका माझ उक्त विद्यालय सिलबन्दी गरेका छन्।

अधिकारीहरूका अनुसार नेहा पब्लिक स्कूलले “शिक्षा विभागका मापदण्डहरू पालना नगरेका कारण” उक्त विद्यालय बन्द गरिएको हो।

सो विद्यालयका विद्यार्थीहरूलाई अर्को सरकारी विद्यालय वा नजिकका अन्य विद्यालयहरूमा सारिने अधिकारीहरूले बताएका छन्।

यो विवादको केन्द्रमा रहेकी शिक्षिका तृप्ति त्यागीले भारतीय समाचार च्यानल एनडीटीभीसँग कुरा गर्दै उनी आफ्नो गतिविधिबाट “लज्जित नभएको” बताएकी छन्।

पीडित बालकको परिवारले गणित विषयको गुणन तालिकामा गल्ती गरेका कारण उनीमाथि कुटपिट भएको बताएको छ।

घटना के थियो?

मुजफ्फरनगर जिल्लाको एउटा सानो निजी विद्यालयकी एक शिक्षिका त्यागीले विद्यार्थीहरूलाई तिनका सात वर्षीय मुस्लिम सहपाठीलाई थप्पड हान्न भनिरहेको देखिने एउटा भिडिओ गत सप्ताहन्तमा सामाजिक सञ्जालमा अत्यधिक हेरिएको भिडिओ मध्येको एक बन्न पुगेको थियो।

“उसलाई किन बिस्तारै हिर्काएको? अझ बेस्सरी हिर्काऊ,” ती बालक उभिएर रोइरहँदा ती शिक्षिकाले छात्रहरूलाई भनिरहेको भिडिओमा सुनिन्छ।

“उसलाई अब ढाडमा हिर्काऊ… उसको गाला रातो भयो, अब ढाडमा हिर्काऊ,” उनी भन्छिन्।

पिटाइ खाएका बालकका पिताले सो घटनाका सम्बन्धमा प्रहरीमा उजुरी गरेर आफ्नो बच्चालाई विद्यालयबाट निकालेका छन्। तर उनले अभियोग भने लगाएका छैनन्।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाप्रति आक्रोश व्यक्त भएको छ र धेरैले ती शिक्षिकामाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

प्रहरीले तृप्ति त्यागीविरुद्ध अभियोग दर्ता गरेकोछ तर जमानत हुन सक्ने प्रकृतिको भएकाले उनलाई गिरफ्तार भने गरिएको छैन।

आइतवार एक शिक्षा अधिकारी शुभम शुक्लाले यो घटनाका सम्बन्धमा अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए।

एनडीटीभी समाचार च्यानलसँगको कुराकानीमा ती शिक्षिकाले आफ्नो क्रियाकलापको बचाउ गर्दै विद्यालयमा विद्यार्थीहरूलाई “नियन्त्रण गर्न” र “अनुशासनमा राख्न” त्यो आवश्यक रहेको बताएकी छन्।

प्रतिक्रिया

उक्त घटनाले भारतभरबाट विभिन्न प्रतिक्रिया निम्त्याएको छ र कतिपय विपक्षी राजनीतिज्ञहरूले त्यसलाई “घृणाको अपराध” भनेका छन्। उत्तर प्रदेश राज्यमा सन् २०१७ देखि हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले सरकार चलाउँदै आएको छ।

भारतको विपक्षी कांग्रेस पार्टीका नेता तथा सांसद राहुल गान्धीले भारतभरि अनुभव हुने गरी धार्मिक तनाव सिर्जना गर्नमा योगदान दिइरहेको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत जुन महिनामा संयुक्त राज्य अमेरिकाको भ्रमणका बेला पत्रकारहरूसँग कुरा गर्दै भारतमा “भेदभावका लागि कुनै पनि स्थान नरहेको” बताएका थिए।