नदी प्रदूषित हुँदा प्यारिस ओलिम्पिक्सको ट्राइआथ्लोन अन्तर्गत पौडीको प्रशिक्षण रद्द

तस्बिर स्रोत, Getty Images
पानीमा प्रदूषण देखा परेपछि मध्यप्यारिसको सेन नदीमा आइतवारका लागि तय भएको ओलिम्पिक्सको ट्राइआथ्लोन अन्तर्गत प्रस्तावित पौडी प्रशिक्षण रद्द गर्नु परेको छ।
प्यारिस २०२४ र वर्ल्ड ट्राइआथ्लोनको संयुक्त विज्ञप्तिमा उक्त नदीको पानीलाई परीक्षण गर्दा त्यसको गुणस्तर स्वीकृत मापदण्डभन्दा न्यूनस्तरको पाइएको उल्लेख छ।
जुलाई महिनामै गरिएको परीक्षणमा उक्त नदीको पानी पौडी खेल्नका लागि पर्याप्त मात्रामा सफा मानिएको थियो तर फ्रान्सको राजधानीमा पछिल्ला ४८ घण्टामा भएको उच्च वर्षाले त्यसको गुणस्तर खस्केको पाइएको हो।
'खेलाडीको स्वास्थ्य प्राथमिक कुरा'

"खेलाडीहरूको स्वास्थ्य हाम्रो मुख्य प्राथमिकता हो," विज्ञप्तिमा भनिएको छ।
"सेनमा [शनिवार] गरिएका परीक्षणले पानीको गुणस्तरको स्तर जुन देखायो त्यसलाई यो खेलको विश्व महासङ्घ वर्ल्ड ट्राइआथ्लोनको दृष्टिमा कार्यक्रम गर्न अनुमति दिन मिल्ने खालको भएन," त्यसमा भनिएको छ।
"आगामी ४८ घण्टाका लागि जारी गरिएका मौसम पूर्वानुमानलाई हेर्दा प्यारिस २०२४ र वर्ल्ड ट्राइआथ्लोन जुलाई ३० मा यो खेलका प्रतिस्पर्धाहरू सुरु हुनुअघि पानीको गुणस्तर मापदण्ड अनुरूप हुनेमा विश्वस्त छन्।"
यदि पानीको गुणस्तर आवश्यक मापदण्डमा अनुसारको भएन भने ट्राइआथ्लोनका प्रतिस्पर्धाहरू केही दिनको लागि स्थगित गर्न सकिने ठानिएको छ।
त्यसो नगरिए ती प्रतिस्पर्धाहरूलाई प्यारिसको पूर्वमा पर्ने अर्को नदीमा सार्न पनि सकिनेछ।
ट्राइआथ्लोन अन्तर्गत एउटै खेलाडीले तीनवटा खेलहरू खेल्नु पर्छ। त्यसमा साइक्लिङ, दौड र पौडी पर्छन्।
पौडीको तालिम रद्द भए पनि खेलाडीहरूले साइक्लिङ र दौडको तालिम भने लिइरहेका छन्।
पानीमा कस्तो प्रदूषण पाइएको थियो?

तस्बिर स्रोत, Getty Images
मध्यजुनमा गरिएको परीक्षणमा उक्त नदीमा 'ई. कोली' ब्याक्टेरियाको मात्रा खेल सङ्गठनहरूले निर्धारण गरेको मात्राभन्दा १० गुना धेरै भएको देखिएको थियो।
प्यारिस ओलिम्पिक्स २०२४ का आयोजकहरूले जुलाईको घाम लाग्ने मौसममा ब्याक्टेरिया मर्नेमा आफू ढुक्क रहेको बताएका थिए।
उनीहरू प्रतियोगिता हुँदासम्म सेन नदी पौडी खेल्न उपयुक्त हुने गरी स्वच्छ हुने दाबी गरेका छन्।
जुलाई १७ मा प्यारिसकी नगरप्रमुखले सेन नदी स्वच्छ रहेको देखाउन उक्त नदीमा डुबुल्की मारेकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








