इन्डोनेशियादेखि अमेरिकासम्मका नागरिक 'धर्मप्रचार'को आरोपमा नियन्त्रणमा, टर्कीको संस्थामाथि छानबिन

तस्बिर स्रोत, Handout
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
अघिल्लो साता "गैरकानुनी" ढङ्गले इस्लाम धर्म र टर्किश भाषा अध्यापनमा संलग्न रहेको आरोपमा चार जना इन्डोनेशियाली नागरिकलाई पक्राउ गरेको नेपालले सोमबार एक अमेरिकी इसाई धर्मप्रचारकलाई पक्राउ गरेको अधिकारीहरूले बताएका छन्।
अध्यागमन विभागका प्रवक्ताले इन्डोनेशियाली नागरिकको हकमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन तयार पारिएको र अमेरिकी धर्म प्रचारकबारे छानबिन टोली गठन गरिने बताएका छन्।
विभागले टर्की र यूकेमा अवस्थित संस्थाहरूको आर्थिक सहयोग लिएर ललितपुरमा इस्लाम धर्म र टर्किश भाषा अध्यापन गराउने गरेको पाइएको जनाएको छ। अमेरिकी धर्म प्रचारक चाहिँ सन् २०१९ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि अध्ययन र व्यापार भिसामा यहाँ रहँदै आएका बताइएको छ।
नेपालको संविधानको धारा २६ मा प्रत्येक नागरिकलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने व्यवस्था गरिएको छ।
तर संविधानले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्मलाई खलल पुर्याउने काम वा व्यवहार कानुनबमोजिम दण्डनीय हुने पनि उल्लेख गरेको छ।
पक्राउ परेका अमेरिकीबारे के हुन्छ?
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले ती अमेरिकी नागरिकले ललितपुरको भैसेँपाटीस्थित सानो खोकनामा एउटा बालगृहसमेत सञ्चालन गरिरहेको र त्यसमार्फत धर्मप्रचार गरिरहेको पाइएको बताए।
उनले भने, "उनले पछिल्लो समयमा नेपालमा एउटा प्रकाशन गृह पनि दर्ता गराएको देखिन्छ। बालगृहमा ३० जना जति बच्चाहरू राखेको र उनीहरूमाझ इसाई धर्म प्रचारप्रसार गरेको पाइएको छ। मङ्गलवार नै एउटा छानबिन टोली बनाएर हामी उनको बारेमा निर्णय लिन्छौँ।"
त्यसबाहेक उनले सार्वजनिक स्थलहरूमा पनि इसाई धर्मको खुल्ला रूपमा प्रचारप्रसार गर्दै आएको प्रमाण आफूहरूसँग रहेको ढकालले उल्लेख गरेका छन्।
ती अमेरिकी नागरिकले भिसाको उद्देश्य विपरीत काम गरेको भन्दै अनुसन्धान अघि बढाइने अधिकारीहरू बताउँछन्।
नेपालको अध्यागमन कानुनले त्यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई अध्यागमन विभागका महानिर्देशकले जरिवाना र नेपालबाट निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ।
यसअघि बिहीवार राजधानीका दुई वटा छात्रावासहरूमा अवैध ढङ्गले कुरान र टर्किश भाषा अध्यापन गराउने काममा संलग्न भएको आरोपमा इन्डोनेशियाली नागरिकहरूलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
ती शिक्षण संस्था र त्यहाँ कार्यरत विदेशी शिक्षकहरूबारे अनुसन्धान भइरहेको भन्दै विभागका महानिर्देशकले उनीहरूका बारेमा चाँडै निर्णय लिने अध्यागमन विभागका निर्देशकसमेत रहेका प्रवक्ता ढकाल बताउँछन्।
एक जना भूतपूर्व प्रहरी अधिकारीले पछिल्ला वर्षहरूमा धर्मिक मुद्दाहरूमा बढेको बाह्य चासो चुनौती बन्दै गएको भन्दै विदेशी सहयोगमा हुने गरेका धर्मप्रचारसहितका गतिविधिमाथि निगरानी बढाइनुपर्ने बीबीसीलाई बताए।
अधिकारीहरू के भन्छन्?

तस्बिर स्रोत, Department of Immigration
अध्यागमन विभागका अधिकारीहरूका अनुसार पर्यटक भिसामा आएका व्यक्तिहरूले त्यसलाई दुरुपयोग गरेको र टर्की तथा यूकेमा रहेको भनिएको एक संस्थाबाट आर्थिक सहयोग लिएर नेपालका विभिन्न जिल्लाका बालबालिकाहरूलाई कुरान र टर्किश भाषा अध्यापन गराइरहेको अहिलेसम्मको जाँचले देखाएको छ।
बालिका छात्रवासमा विभिन्न जिल्लाका करिब ५० जना बालिकाहरू रहेको बताइएको छ।
अध्यागमन विभागका प्रवक्ता ढकाल भन्छन्, "धोबीघाटमा बालिकाको र ज्वागलमा बालकहरूको छात्रावास सञ्चालन गरिएको रहेछ। त्यहाँ कपिलवस्तु, रौतहट, सर्लाही, बाँकेलगायतका विभिन्न जिल्लाहरूबाट कति बुवाआमा नभएका, कति आर्थिक रूपमा पछि परेका बालबालिकाहरू ल्याएर त्यहाँ टर्किश र कुरान पढाउने गरेको पाइएको छ। हामी एकदुई दिनमा नै यसबारे निर्णय लिन्छौँ।"
उनले अध्यागमन विभागको हालसम्मको अनुसन्धानले टर्की र यूकेमा आधारित भएको धर्मप्रचारक संस्थाले वार्षिक रूपमा रकम पठाउने गरेको देखाएको बताए।
उनले भने, "त्यहीअनुसार इन्डोनेशियाका तीन जना महिलाहरू र एक जना पुरुषलाई चाहिँ पर्यटक भिसामा ल्याएर विश्वभाषा क्याम्पसमा अध्ययन गर्ने एउटा भिसा लिने गरिएको थियो। त्यो भएपछि नेपालमा एक वर्ष बस्न पाइने भयो। अनी उनीहरू भिसाको उद्देश् विपरीत विभिन्न जिल्लाबाट बटुलेर ल्याएका नानीबाबुहरूलाई कुरान र टर्किश भाषा अध्यापन गराउन संलग्न भएको पाइयो।"
ढकालले उनीहरूका विषयमा अधिकारीहरूले एउटा अनुसन्धान प्रतिवेदन तयार गरेको बताए।
उनले थपे, "त्यो हेर्दा मदरसाजस्तो पनि देखिएन किनभने मदरसाहरूमा सामुदायिक विद्यालयहरूजस्तै निश्चित कोर्स पनि पढाएको देखिन्छ। उहाँहरूले कुरान र टर्किश भाषामात्रै पढाएको देखिन्छ। ती बच्चाहरू बाहिर निस्कन पाएको जस्तो पनि हामीलाई लागेन।"
उनले शिक्षकहरूको पृष्ठभूमि पनि आफूहरूले अनुसन्धान गरेको उल्लेख गर्दै भने,"पर्यटक भिसामा आएर छात्रावासमा पढाउने एक जनाले बयानमा 'म टर्कीमा आएर चार वर्ष भाषा पढेको हुँ। त्यहाँको एउटा मुस्लिम लगानीकर्ताले मलाई तिमी नेपालमा गएर यसरी पढाऊ, यति पारिश्रमिक हुन्छ, बस्ने व्यवस्था यस्तो हुन्छ भनेर सिफारिस गरेर पठाएको हो' भनेका छन्। बालक छात्रावासमा एक जना र बालिका छात्रावासमा तीन जनाले पढाउने गरेको देखियो।"
तर ती शिक्षकहरू स्वयंसेवी रहेको छात्रावास सञ्चालन गरिरहेको संस्थाले बताएको उल्लेख गर्दै उनले पारिश्रमिक लिए पनि, नलिए पनि काम गरेर बस्ने व्यक्तिहरूले अध्यागमन विभागबाट 'कार्यसहमति लिनुपर्ने' उल्लेख गरे। त्यसपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएको पनि नपाइएको उनले बताए।

तस्बिर स्रोत, EPA
उनले यो मामिलामा अब अध्यागमन विभागका महानिर्देशकले निर्णय लिने उल्लेख गर्दै कानुनले अध्यागमन ऐन उल्लङ्घन गर्नेलाई जरिवाना र निष्काशनसम्म गर्न सकिने व्यवस्था गरेको सुनाए।
प्रवक्ता ढकाल भन्छन्, "विदेशी नागरिक नेपालमा भिसाको उद्देश्यविपरीत काम गरेको देखिएकोले हामीले नियन्त्रणमा लिएका छौँ। हाम्रो अध्यागमन नियमावलीले पर्यटक भिसामा बसेको व्यक्तिले वा त्यसको परिवारले कुनै उद्योग, व्यापार व्यवसाय गर्न पाइँदैन भन्ने व्यवस्था गरेको छ। जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको छ, त्यही गर्नुपर्छ, अरू गर्न पाइदैँन भनेको छ। महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना र अवधि तोकेर नेपाल पुन: प्रवेश गर्न नपाउने गरी रोक लगाउन सक्ने भन्ने कानुनी व्यवस्था छ। हामी त्यसमा काम गरिरहेका छौँ।"
ती छात्रावास सञ्चालन गरेको भनिएको संस्थाका अध्यक्षसँग पनि बीबीसीले अध्यागमन अधिकारीहरूको आरोपबारे प्रतिक्रिया मागेको थियो। उनले त्यो समाचार "गलत" भएको भन्दै आफ्नो भन्नु केही नरहेको बताए।
थपिएको सुरक्षा चुनौती?
पछिल्ला वर्षहरूमा धर्म प्रचार र धर्मान्तरण नेपालमा एउटा नयाँ चुनौतीका रूपमा देखा परिरहेको भन्दै विज्ञहरू आपरदर्शी ढङ्गले निश्चित धर्मको प्रवर्द्धनका लागि विदेशबाट पैसा भित्रनु उपयुक्त नभएको बताउँछन्।
यसै वर्ष मात्रै भारतीय सञ्चारमाध्यमहरूले भारतको राष्ट्रिय मानवअधिकार आयोगले नेपाल-भारत सीमा क्षेत्रमा स्थापित मदरसाहरूमा छानबिन गरिरहेको उल्लेख गरेका थिए।
कतिपय खबरहरूमा भारतीय गुप्तचर निकायहरूलाई उद्धृत गर्दै पाकिस्तान र पाकिस्तानसँग निकट सम्बन्ध रहेको टर्कीले कतिपय सीमावर्ती जिल्लाहरूमा मस्जिद र मदरसाहरू निर्माणमा सघाएको अनि त्यो भारतको सुरक्षाका लागि चुनौती रहेको उल्लेख गरिएका छन्।
नेपाल प्रहरीका भूतपूर्व अतिरिक्त महानिरिक्षक बमबहादुर भण्डारी नेपालमा कतिपय यस्ता पूर्वाधार निर्माण र कतिपय स्वास्थ्य, शिक्षाका कार्यक्रममा विश्वका कतिपय देशहरू संलग्न भइरहेको उल्लेख गर्दै यसबारे गहिरो अध्ययन र विश्लेषण हुनुपर्ने बताउँछन्।
"विगतमा हेर्दा इस्लाम धर्मावलम्बीहरूलाई सहयोग गर्ने उद्देश्यले नै कतिपय आएका थिए। कतिले प्रत्यक्षपरोक्ष रूपमा अतिवादतर्फ अग्रसर गराउन प्रयास गरेको पनि देखिन्थ्यो। विभिन्न धर्मावलम्बीहरूबीच परम्परादेखि नै नेपालमा एक किसिमको सौहार्द रहँदै आएको छ। कुनै पनि किसिमको उग्रवादी सोच नेपालका लागि हितकर हुँदैन किनकि उग्रवादी सोच बढ्दै गएर त्यो अतिवाद हुँदै या त आतङ्कवाद या विद्रोह बन्ने हो।"
उनले दक्षिण छिमेकी भारतले पनि इस्लाम धर्मसँग जोडिएका गतिविधिबारे विशेष चासो प्रकट गर्ने गरेका उल्लेख गर्दै थपे, "कतिपय गतिविधिहरू बढेजस्तो पनि देखिन्छ। सरकारले तिनलाई नजिकबाट नियाल्नुपर्छ।"

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
उनले धर्मप्रचार वा धार्मिक विद्यालयहरूका लागि विदेशबाट आउने गरेको रकमलाई लिएर समाज कल्याण परिषद र कानुन कार्यान्वयन गर्ने निकायहरूले अनुसन्धान र अनुगमन गर्नुपर्ने बताए।
उनी भन्छन्, "कुनै शङ्कास्पद गतिविधि देखियो भने सरकारका निकायहरूले अनुसन्धान गर्ने परिपाटी नबनाएसम्म अपारदर्शी हिसाबले संस्थाहरू बन्ने, पैसा आउने भइरहन्छ। त्यो खतरनाक हो। कतिपय पैसा ल्याउने व्यक्तिले नै खाने गरेका र कतिपय उग्रवादी किसिमको सोच विस्तार गराउन पनि खर्च गरेको विगतमा देखिएको थियो।"
विगतमा अमेरिकी विदेश मन्त्रालयले नेपालमा हिन्दू धर्म प्रवर्द्धनसँग सम्बन्धित कतिपय गतिविधिमा भारतका दक्षिणपन्थी समूहहरूले नेपालका प्रभावशाली नेताहरूलाई हिन्दू राष्ट्रको पक्षमा वकालत गर्न पैसा दिइरहेको आरोप लगाएको थियो।
सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजलाई उद्धृत गर्दै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपा र अन्य समूहहरूले नेपालका नेताहरूलाई 'हिन्दू राज्यमा फर्किने' विषयमा समर्थन गर्न दबाव दिइरहेको जनाइएको छ।
नेपालले उक्त धारणाको प्रतिवाद गर्दै काठमाण्डूस्थित अमेरिकी दूतावासमा कूटनीतिक नोट पठाएको थियो।
बीबीसीले सन् २०२३ मा प्रकाशित गरेको एउटा अनुसन्धानात्मक रिपोर्टमा नेपालमा तीव्र दरमा इसाई जनसङ्ख्या वृद्धि भइरहेको पाइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








