पोल्यान्डका प्रधानमन्त्रीले औँल्याए युद्धको ‘वास्तविक’ खतरा

तस्बिर स्रोत, HANNIBAL HANSCHKE/EPA-EFE
पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कले युरोप ‘युद्ध सुरु हुनु भन्दा अघि’ को युगमा रहेको भन्दै उक्त महादेशको भलाइका लागि युक्रेनले रुसलाई पराजित गर्नैपर्ने बताएका छन्।
सन् १९४५ यता युरोपले यस्तो अनिश्चितता कहिल्यै नभोगेको उनले बताए।
टुस्कको चेतावनी रुसले युक्रेनमाथि तीव्र बनाएको क्षेप्यास्त्र आक्रमण र युद्धबाट आफूहरूलाई पार्नसक्ने प्रभावबारे छिमेकी बाल्टिक राज्यहरूले चिन्ता व्यक्त गरिरहँदा आएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो देशलाई हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताएका छन्।
युद्ध 'वास्तविक' खतरा
पोलिस प्रधानमन्त्रीले युद्ध 'यतिबेला विगतको अवधारणा’ नरहेकोमा जोड दिँदै भने, “यो वास्तविक हो र दुई वर्षअघि नै सुरु भइसक्यो।”
रुसले युक्रेनको ऊर्जा प्रणालीमाथि बिहीबार भीषण हमला गरेपछि उनको यस्तो भनाई आएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हप्ता नेटो देशहरूप्रति मस्कोको ‘आक्रामक उद्देश्य’ नरहेको बताएका थिए।
विश्वको सबैभन्दा ठूलो मध्ये एक परमाणु अस्त्र भण्डार रहेको उनको देशले नेटो गठबन्धनमा आबद्ध पोल्यान्ड, बाल्टिक राज्यहरू र चेक गणतन्त्रलाई आक्रमण गर्छ भन्ने ठान्नु ‘पूर्ण वाहियात’ हुने उनको भनाई थियो।
तर उनले युक्रेनले पश्चिमा एफ-१६ युद्ध विमानहरूमार्फत् अन्य देशमा रहेका हवाई अड्डाहरू प्रयोग गरेर हमला गरेको खण्डमा ‘ती जहाँ भएपनि वैध निशाना बन्ने’ बताए।
रुसले सन् २०२२ को फेब्रुएरीमा युक्रेनमा पूर्ण स्तरको हमला गरेपछि पश्चिमा जगतसँगको सम्बन्ध शीतयुद्धका खराब दिनहरूयताकै सबैभन्दा चिसो बन्न पुगेको छ।
युक्रेनमाथि भीषण क्षेप्यास्त्र हमला
युक्रेनमाथिको पछिल्लो हमलामा लगभग १०० वटा क्षेप्यास्त्र र ड्रोनहरू प्रयोग गरिएका छन् जसका कारण कैयौँ क्षेत्रहरूमा बत्ती गएको छ।
यो साता गरिएको दोस्रो त्यस्तो ठूलो स्तरको हमलाका कारण सातवटा क्षेत्रमा मानिसहरू आपत्कालीन अवस्थामा अँध्यारोमा बस्न बाध्य भएका छन्।
ती हमलाले मध्य र पश्चिम युक्रेनमा रहेका थर्मल र जलविद्युत परियोजनालाई निशाना बनाएको थियो।

तस्बिर स्रोत, EPA-EFE/Jakub Szymczuk/KPRP
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई ‘क्षेप्यास्त्र आतङ्क’ को सङ्ज्ञा दिँदै यस्तो हमलाले वातावरणीय प्रकोप निम्त्याउनसक्ने चेतावनी दिएका छन्।
उनले युक्रेनका साझेदारहरूलाई थप हवाई प्रतिरक्षा प्रणाली र क्षेप्यास्त्रहरू युक्रेनलाई उपलब्ध गराउन अपिल गरेका छन्।
बीबीसीसँगकुरा गर्दै खार्किभका मेयरले साना व्यवसायीहरू जेनेरेटरमा निर्भर भइरहेको र उद्योगहरू सङ्घर्षरत रहेको जनाएका छन्। उनले ग्रीडमा ‘एकदमै गम्भीर’ प्रकृतिको क्षति पुगेको भन्दै त्यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन दुई महिना लाग्नसक्ने बताए।
रुसले किएभमाथि पहिलोपटक दिउँसै हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको उल्लेख गर्दै टुस्कले युक्रेनलाई आपत्कालीन सैनिक सहायता उपलब्ध गराइनुपर्ने बताए।
अबको दुई वर्ष निर्णायक हुने चेतावनी दिँदै उनले भने, “हामी दोस्रो विश्वयुद्धयताकै सबैभन्दा संवेदनशील घडीमा बाँचिरहेका छौँ।”
मस्कोस्थित क्रोकस सिटि हलमा केही दिन पहिले भएको जिहादी हमलामा युक्रेनलाई आरोप लगाउने राष्ट्रपति पुटिनको प्रयासले ‘युक्रेनी गैरसैनिक निशानाहरूमा थप हिंसात्मक हमलाको औचित्य साबित गर्ने आवश्यकता महसुस गरेको’ देखाएको पोल्यान्डका प्रधानमन्त्रीको भनाइ छ।
पोल्यान्डले अहिले आफ्नो अर्थतन्त्रको ४ प्रतिशत प्रतिरक्षामा खर्च गर्छ। अन्य युरोपेली देशहरूले उत्तर एन्टलान्टिक सन्धि सङ्गठन नेटोले निश्चित गरेको २ प्रतिशतको सीमा समेत भेट्टाउन सकेका छैनन्।
विगतमा युरोपेली परिषद्का अध्यक्ष समेत रहेका उनले युरोप पहिलाबाटै युद्धका लागि तयार हुनुपर्ने बताए।
उनले भने, “मलाई थाहा छ त्यो भयानक सुनिन्छ विशेष गरी नयाँ पुस्ताका मानिसहरूका लागि तर हामीले मानसिक रूपमा नयाँ युगमा प्रवेश गरेको ठान्नैपर्छ। युद्धअघिको समयमा हामी छौँ।”
पछिल्लो चेतावनीको अर्थ के हो?

तस्बिर स्रोत, Omar Marques/Anadolu
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन् पोल्यान्डका प्रधानमन्त्रीको पछिल्लो चेतावनी छिमेकी बाल्टिक देशका नेताहरूले केही समययता औँल्याउँदै आएको खतरासँग मेल खान्छ।
यदि रुसले युक्रेनमाथि आक्रमण गरिरह्यो, र उसको सम्पूर्ण भूभागलाई कब्जा वा नियन्त्रणमा लियो भने आफ्नो भविष्य कहिले सम्म सुरक्षित हुन्छ भनेर उनीहरू चिन्तित छन्। विगतमा मस्कोको प्रभाव क्षेत्रमा रहेका ती देशमाथि पुटिनले त्यस्तै आक्रमण गर्न सक्ने चिन्ता ती राज्यहरूमा पाइन्छ।
रुससँग सीमा जोडिएका नेटोआवद्ध देशहरूमा प्रतिव्यक्ति रक्षा खर्च पश्चिम युरोप भन्दा उच्च छ।
आलोचकहरूका भनाइमा एउटा ‘देखावटी निर्वाचन’मार्फत आफूलाई पाँचौँ कार्यकालका लागि हालै ‘राष्ट्रपतिमा पुनर्नियुक्त’ गरेका पुटिनले नेटो देशलाई आक्रमण गर्ने उद्देश्य नरहेको बताउने गरेका छन्।
तर इस्टोनियाकी प्रधानमन्त्री काया कालासले मस्कोको भनाइलाई विश्वास गर्न नसकिने बताएकी छन्। अन्य कतिपय बाल्टिक नेताहरू पनि यस्तै बताउँछन्।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गर्नुअघि रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युद्धबारे पश्चिमा विश्वले दिएको चेतावनीलाई ‘प्रोपगान्डा’ र ‘पश्चिमा अतिशयोक्ति’ भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








