निर्वाचनमा विशाल मतले जितेको पुटिनको दाबी, अमेरिकी प्रजातन्त्रको आलोचना

पुटिन

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

रुसमा राष्ट्रपतिको पाँचौँ कार्यकालका लागि भ्लादिमिर पुटिनको जोडदार दाबेदारी रहँदै आएको थियो। राष्ट्रपतीय निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र थिए।

निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजामा उनले ८७ प्रतिशत मत पाएको देखिएपछि उनले रुसी लोकतन्त्र पश्चिमा विश्वका धेरैको भन्दा पारदर्शी रहेको बताए।

खासमा कुनै भरपर्दा विपक्षी नेतालाई उम्मेदवार बन्न दिइएन।

चुनावभन्दा झन्डै एक महिनाअघि मृत्यु भएका पुटिनका आलोचक एलेक्सी नभाल्नीका समर्थकहरूले साङ्केतिक प्रदर्शनहरू गरे।

अधिकारीहरूले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन्

तस्बिर स्रोत, Anadolu/Getty Images

तस्बिरको क्याप्शन, अधिकारीहरूले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन्

उनीहरूको पुटिन विरोधी अभियानका कारण मस्को र सेन्ट पिटर्सबर्ग सहितका रुसी सहर एवं विदेशमा रुसी दूतावासबाहिर लामो लाइन देखा परेको देखिन्थ्यो तर त्यसले चुनावमा कुनै प्रभाव पार्दैनथ्यो।

निगरानी समूह ओभीडी-इन्फोका अनुसार कम्तीमा ८० जना रुसीहरू पक्राउ परेका छन्।

शुक्रवार केही मतदान केन्द्रमा देखा परेका छिटपुट हमला दोहोरिएनन्।

कैयौँ पश्चिमा देशहरूले रुसको चुनाव न स्वतन्त्र, न निष्पक्ष भएको भन्दै आलोचना गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ?

वाशिङटनले 'स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको' जनाएको छ। अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरूलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ।

जर्मनीले त्यसलाई नियन्त्रण, दमन र हिंसाका भरमा एक अधिनायकवादी शासकले गराएको 'छद्म निर्वाचन' बताएको छ।

यूकेका विदेशमन्त्री डेभिड क्यामरनले "युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन"को निन्दा गरेका छन्।

रुस निर्वाचन

तस्बिर स्रोत, Reuters

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "रुसी शासकले थप एक चुनावको नाटक गरेको" टिप्पणी गरेका छन्।

उनले जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने बताए।

पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ।

सजगतापूर्ण ढङ्गले नियन्त्रित रहने रुसी सरकारी टेलिभिजन च्यानलहरूमा चुनावलाई विजयका रूपमा प्रस्तुत गरिएको थियो।

एकजना संवाददाताले उत्साही हुँदै भने: "यो भ्लादिमिर पुटिनप्रतिको विशाल समर्थन र एकताको प्रदर्शन हो र पश्चिमा देशको लागि एउटा सङ्केत पनि हो।"

पत्रकारका सवालको जबाफ दिने क्रममा पुटिन अलि हच्केका देखिन्थे तर उनले चुनावमा अनलाइन मतदानको उपयोग उल्लेख गर्दै रुसी राष्ट्रपतीय चुनाव अभियान अमेरिकाको भन्दा उन्नत प्रकारको रहेको बताए।

अधिकारीहरूका अनुसार अनलाइन्‌मार्फत् असी लाख रुसी नागरिकले मतदान गरेका थिए।

पुटिन के भन्छन्?

पुटिन

तस्बिर स्रोत, Reuters

पुटिनले सेनालाई बलियो बनाउने र 'युक्रेनमा रुसको विशेष सैन्य कारबाही'लाई प्राथमिकतामा राख्ने बताएका छन्।

आफूले चुनाव जितेको भनेपछि बोलेका पुटिनले प्राप्त नतिजाले रुसको हालको कदमप्रति जनताको विश्वास प्रस्तुत गरेको बताए।

उनले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताए।

रुसमा मतदानका लागि तीन दिन छुट्याइएको थियो भने रुसी-नियन्त्रित युक्रेनी भूभागमा मानिसहरूलाई सहभागी हुन मनाउनका लागि थप समय थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।