नियन्त्रित चुनावबाट पाँचौँ पटक निर्वाचित हुने पुटिनको दाउ

रुस निर्वाचन

तस्बिर स्रोत, ANATOLY MALTSEV/EPA-EFE/REX/Shutterstock

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि निर्वाचित हुने तयारी गरिरहँदा रुसमा अन्तिम चरणको मतदान भइरहेको छ।

मतदान सकिनुभन्दा केही समयअघि रुसी राष्ट्रपतीय निर्वाचनमा ६७.५४ प्रतिशत मत खसेको रुसी समाचार एजेन्सी तासले जनाएको छ।

यो अघिल्लो निर्वाचनमा खसेको मतभन्दा धेरै हो। सन् २०१८ को मतदानमा ६७.५ प्रतिशत मत खसेको थियो।

उनका अधिकांश आलोचकहरू निर्वासनमा वा जेलमा रहँदा ७१ वर्षीय पुटिन पुनः निर्वाचित हुने करिब निश्चित देखिएको विश्लेषण गरिएका छन्।

प्रतिपक्षी दलका नेता एलेक्सी नभाल्नीको गत महिना आर्कटिक सर्कलको एक जेलमा अचानक मृत्यु भएको थियो।

उनकी विधवा श्रीमती युलिआ नभाल्न्याले रुसी नागरिकहरूलाई मतदान केन्द्रमा लामो लाइन लागेर विरोध जनाउन आह्वान गरेकी थिइन्।

मौन विरोध

रुस मतदान

तस्बिर स्रोत, ANATOLY MALTSEV/EPA-EFE/REX/Shutterstock

बीबीसीका रुस सम्पादक स्टीभ रोजेनबर्गले दिनको मध्याह्नतिर मस्कोका मतदान केन्द्रहरूमा अचानक मानिसहरूको लाइन देखिएको उल्लेख गरेका छन्।

कुनै नाराबाजी र पर्चाहरू बिनै मौन विरोध प्रदर्शन देखिएको उनले जनाएका छन्।

तीन दिन अघिबाट सुरु भएको मतदानको आइतवार अन्तिम दिन हो।

अघिल्ला दुई दिन सयौँ मतदान केन्द्रहरूमा तोडफोड हुनुका साथै कैयौँ मानिसहरू पक्राउ परेका थिए।

रुस बाहिरका कतिपय देशहरूमा पनि पुटिनविरुद्ध प्रदर्शनहरू भएका छन्।

रुसी नियन्त्रणका युक्रेनी भू-भागमा पनि मतदान

रुस मतदान

तस्बिर स्रोत, Reuters

रुसले नियन्त्रणमा लिएका युक्रेनी भूमिहरू जपोरिज्या, खेअरसन, डोनेट्स्क र लुहान्स्क क्षेत्रमा पनि रुसले मतदान गराएको छ।

कतिपय विश्लेषकहरूले सन् २०३६ सम्म पुटिन सत्तामा बसिरहन सक्ने आकलन गर्दै आएका छन्।

यसअघि सन् २०१८ मा भएको चुनावमा उनले ७६ प्रतिशत मत पाएका थिए।

रुसी फेडेरेशनका राष्ट्रपति बोरिस येल्त्सिनले सन् १९९९ मा पुटिनलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

पुटिन सन् २००० देखि २००८ सम्म राष्ट्रपति र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए।

सन् २०१२ मा पुन: राष्ट्रपति भएयता उनी निरन्तर राष्ट्रपति छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।