एमालेको त्यो पूर्व-पश्चिम यात्रा र भर्खरै सम्पन्न यो पश्चिम-पूर्व यात्रा

एमालेको झुलाघाट चिवाभङ्ज्याङ यात्रा

तस्बिर स्रोत, KP Oli Secretariat

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कोशी प्रदेशको नामकरणपछि देखिएको विवादमाझ उक्त प्रदेशमा ठूला कार्यक्रम गर्न नसकेको नेकपा एमालेले लामो समयपछि हालै पूर्वी पहाडमा आफ्नो उपस्थिति देखायो।

एमालेले सुदूरपश्चिमको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित र्‍याली थालेको थियो। कोशी प्रदेशमा पहिचानपक्षधर केही समूहले एमालेको कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका थिए।

तर प्रमुख प्रतिपक्षी दलले आफ्नो ‘सङ्कल्प यात्रा’ सुरु गरेको १७ दिनपछि पूर्वको चिवाभङ्ज्याङमा पुगेर समापन गर्दासम्म ‘ठूलो अवरोध’ खेप्नुपरेन।

एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटामा हातपातको प्रयास भयो।

मध्यपहाडी राजमार्गका केही ठाउँमा रूख ढालेर एमालेको अभियानमा अवरोधको प्रयास भए पनि ती दुवै घटनाले एमालेको कार्यक्रम बिथोलिएन।

एमालेले अवरोध सामना नगर्नुको कारण

एमालेको झुलाघाट चिवाभङ्ज्याङ यात्रा

तस्बिर स्रोत, KP Oli Secretariat

नेकपा एमालेका सचिव योगेश भट्टराई पहिचानको आन्दोलनमा रहेको एक पक्षसँग आफूहरूले संवाद गरेर उनीहरूका मागबारे पनि सम्बोधन गरेका कारण अवरोध नभएको बताउँछन्।

उनले पहिचानको पक्षमा आन्दोलन गरिरहेको पक्ष राष्ट्रिय एकताविरुद्ध रहेको आरोप लगाए।

“केही ठाउँमा रूखहरू ढाले, केही ठाउँमा बाटोमा ढुङ्गाहरू राखेर अवरुद्ध गर्ने प्रयास गरे। त्यसलाई हामीले सामना गर्‍यौँ। अर्को पक्ष नेकपा एमालेजस्तो ठूलो पार्टीसँग सहकार्य गर्दै आफ्नो पहिचानलाई पनि स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्थ्यो, त्यो पक्षसँग हामीले संवाद र कुराकानी गर्‍यौँ," भट्टराईले भने।

"त्यसो हुँदा उहाँहरू आक्रोशित ढङ्गले सडकमा आउनुभएन र हाम्रो अध्यक्षले पनि उहाँहरूका कुरालाई सम्बोधन गर्नुभयो।”

गत महिना पार्टीको कार्यक्रममा ताप्लेजुङ पुगेर फर्कने क्रममा भट्टराई चढेको गाडी तोडफोड भएको थियो।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट रहेका पहिचान पक्षधर समूहले नामकरणपछि पहिलो पटक आफू जन्मिएको जिल्ला तेह्रथुम जाने क्रममा एमाले अध्यक्ष केपी ओलीलाई गत वैशाखमा विभिन्न ठाउँमा कालो झण्डा देखाउनुका साथै अवरोध गरेका थिए।

पहिचानपक्षधर समूहको अवरोधको चेतावनीका कारण पूर्वी पहाडमा एमालेले पछिल्लो एक वर्षदेखि उल्लेख्य कार्यक्रम आयोजना गर्न सकिरहेको थिएन।

पहिचानपक्षधर किन एमालेसँग असन्तुष्ट छन्

गत वर्ष फागुनमा कोशी प्रदेशको नामकरण भएपछि ऐतिहासिक र जातीय पहिचानको पृष्ठभूमिका आधारमा यो प्रदेशको नाम राखिनुपर्ने आवाज उठाइरहेका आदिवासी नेताहरू नेकपा एमालेको नेतृत्वसँग रुष्ट देखिएका हुन्।

त्यसमा दुई वटा प्रमुख कारण थिए।

एमालेको झुलाघाट चिवाभङ्ज्याङ यात्रा

तस्बिर स्रोत, KP Oli Secretariat

प्रदेश नामकरणका लागि तत्कालीन नेकपा एमालेको सरकारका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सक्रियता देखाएका थिए। अनि प्रदेशको नाम पनि नेकपा एमालेले प्रस्ताव गरेको थियो।

प्रदेशसभामा कोशी नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरू एक ठाउँमा देखिएका थिए। तर नामकरणपछि कांग्रेस र माओवादीका स्थानीय नेताहरूले आफ्नो असहमति व्यक्त गरेका थिए।

कोशीको पक्षमा तत्कालीन मुख्यमन्त्री कार्की र एमाले नेतृत्वले लिएको अडान पनि पुनः नामकरणको पक्षमा आन्दोलनरत पक्षहरूलाई थप चिढ्याउने कारण बनेको थियो।

कोशी नामकरणविरुद्ध आन्दोलन चलाइरहेको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका संयोजक डेकेन्द्र सिंह थेगिम आफूहरू एमालेविरुद्ध मात्रै नलागेको बताउँछन्।

“हामीले कोशी नामकरणमा समर्थन जनाएका ८२ प्रदेश सांसदलाई अवरोध गरेका हौँ। त्यो कांग्रेस पनि एमाले पनि जो पनि हुनसक्छ। केपी ओली र योगेश भट्टराईले हामीलाई विभिन्न किसिमका गालीगलौज गर्ने गरेका कारण हामीले उहाँहरूको कार्यक्रममा अवरोध गरेका हौँ,” थेगिम भन्छन्।

“हामीले साझा पहिचानको आधारमा नाम हुनुपर्छ भन्ने कुरा न मागेका हौँ।”

यो समूहले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पनि पछिल्लो समय अवरोध पुर्‍याउँदै आएको छ।

कार्कीलाई यो समूहले मङ्सिरमा ओखलढुङ्गा र झापाको दमकमा अवरोध गरेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई पनि गत वर्ष चैत्रमा पहिचान पक्षधरहरूले ताप्लेजुङमा आक्रमणको प्रयास गरेका थिए।

एमाले सचिव भट्टराई नामकरणमा प्रमुख दल एक ठाउँमा भए पनि एमालेलाई मात्रै निसाना बनाएर विरोध गरिएको बताउँछन्।

“त्यो निर्णयको आधारमा एमालेमाथि मात्रै प्रहार गर्नु कहीँ न कहीँ नियोजित छ र पूर्वाग्रहपूर्ण छ भन्ने हाम्रो ठम्याइ छ,” उनले भने।

एमालेको झुलाघाट चिवाभङ्ज्याङ यात्रा

तस्बिर स्रोत, KP Oli Secretariat

एमालेको विश्लेषण

बैतडीबाट मध्यपहाडी यात्रा आरम्भ गरेर पाँचथरसम्म पुगेपछि एमालेले आफ्नो जनाधार कमजोर नभएको दाबी गरेको छ।

"यो अभियानको क्रममा हामीले के देख्यौँ भने, ओखलढुङ्गाको हर्कपुरदेखि पाँचथरको फिदिमसम्मको सभा हेर्दा एकपछि अर्को सभामा जनसमर्थन बढ्दै गएको देखियो र पाँचथरको फिदिममा ठूलो सहभागिता भएको सभा गर्‍यौँ," उनले भने।

भट्टराई यो सभाले आफ्नो कुरा राख्ने र नामकरणपछि एमालेबारे “फैलाइएका भ्रमबारे” स्पष्ट गर्ने अवसर दिएको बताउँछन्।

“यसले गर्दा आगामी दिन पूर्वी पहाडमा एमालेलाई थप सहज हुन्छ,” भट्टराई भन्छन्।

एमालेको झुलाघाट चिवाभङ्ज्याङ यात्रा

तस्बिर स्रोत, KP Oli Secretariat

त्यो मधेशयात्रा र यो पहाड यात्रा

पूर्वी पहाडमा नेकपा एमालेको पुरानो वर्चस्व भएको ठानिन्छ।

कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमालेको प्रदेशसभामा बहुमतका लागि आठ सांसद मात्रै अपुग छ। एमालेका नेताहरू मदन भण्डारीदेखि अहिलेका अध्यक्ष केपी ओलीसम्म पूर्वी पहाडमै जन्मिएका हुन्।

तर प्रदेश नामकरणपछि पूर्वी पहाडमा यो दलले आलोचना र अवरोध खेपिरहेको छ।

एमालेले यस्तै अवरोध विसं २०७२ सालमा नयाँ संविधान जारी भएपछि अहिलेको मधेश प्रदेशमा खेपेको थियो। संविधानमा आफ्नो माग समावेश नभएको भन्दै असन्तुष्ट रहेको शक्तिले मधेशमा एमालेका नेता र उनीहरूका घरमा समेत आक्रमण गरेको थियो।

मधेशमा पार्टीविरुद्ध देखिएको परिस्थितिमा सुधार गर्न विसं २०७३ फागुनमा एमालेले मेची-महाकाली पूर्व-पश्चिम यात्रा गर्ने निर्णय गर्‍यो।

झापाबाट महेन्द्र राजमार्गका विभिन्न ठाउँमा कार्यक्रम गर्दै अघि बढेको एमालेको अभियान रोक्न अघि बढेका मधेशी मोर्चाका कार्यकर्ताहरू र प्रहरीबीच झडप हुँदा सप्तरीको मलेठमा पाँच जना मारिएका थिए।

सप्तरी घटनाको फाइल तस्बिर

तस्बिर स्रोत, NHRC via APF Nepal

तस्बिरको क्याप्शन, फाइल तस्बिर

त्यसपछि अहिलेको मधेश प्रदेशका बाँकी जिल्लामा कार्यक्रम नगरी एमाले पश्चिमतर्फ लागेको थियो

त्यसपछिको निर्वाचनमा माओवादीसँग मिलेर प्रतिस्पर्धा गरे पनि एमालेले मधेशमा उत्साहजनक परिणाम ल्याउन सकेन। प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये एमालेले दुई स्थानमा मात्रै जित हासिल गरेको थियो।

अहिले पश्चिमबाट सुरु भएर पूर्वमा टुङ्गिएको एमालेको यात्रालाई पनि कतिपयले २०७३ सालको मधेश यात्रासँग तुलना गरेका छन्।

पूर्वबाट सुरु गर्दा अवरोधको सन्देश जाने भएकै कारण यस पटकको यात्रा पश्चिमबाट सुरु गरिएको तर्क पनि कतिपयले गरेका छन्।

तर एमाले सचिव भट्टराई पूर्वी पहाड र कोशी प्रदेशमा एमालेको पकड मधेशको भन्दा फरक रहेको बताउँछन्।

“कोशीमा एमालेको जनाधार कायमै छ। नामकरणले एमाले यो प्रदेशमा अझै बलियो भयो भन्ने मलाई लागेको छ। तर मधेशको स्थिति फरक हो मधेशमा हामी अलिकति कमजोर नै थियौँ र हामीविरुद्ध लगातार प्रहार भइरहेको थियो,” उनले भने।

विसं २०७४ सालको चुनावमा नराम्रो नतिजा बेहोरेको एमाले विसं २०७९ मा भएको पछिल्लो निर्वाचनमा भने प्रदेशको पहिलो दल बन्न सफल भयो। कांग्रेस र माओवादीको गठबन्धनका बावजुद एमालेले यो प्रदेशका ३२ मध्ये नौ क्षेत्रमा चुनाव जितेको छ।

“मधेशमा जुन अभियान चलायौँ र हामीले एमालेविरुद्धका भ्रम चिर्दै जनतासँग एकाकार हुँदै मधेशमा पहिलो पार्टी भएका छौँ। कोशी प्रदेशमा पनि यो अवधिमा बाँकी रहेका भ्रमहरू चिर्छौँ र सकारात्मक शक्तिहरूसँग सहकार्य पनि गर्छौँ,” भट्टराईले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।