सरकारको भविष्यलाई लिएर प्रचण्डले गर्ने टिप्पणीको कारण कांग्रेस की अरू नै?

प्रधानमन्त्री प्रचण्ड र देउवा

तस्बिर स्रोत, RSS

जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रबाट काठमाण्डू आइपुगे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका सत्ता साझेदार नेपाली कांग्रेसका दुई जना महामन्त्रीहरूले शनिवार बालुवाटारमा कुराकानीको आरम्भ नै प्रचण्डले आफ्नो कार्यकालबारे व्यक्त गरेको ‘चिन्ता’बाट गरे।

“हामीसँग भेट्ने बित्तिकै कुराकानी नै त्यही प्रसङ्गबाट सुरु भयो। उहाँले त्यस्तो बोल्नुभएको कुरा थाहा पाएपछि हामी आफैँले नै सोध्यौँ,” कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने। प्रधानमन्त्रीलाई भेट्न पुगेका महामन्त्री गगन थापा, शर्मा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानको कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारको सरकारको स्थायित्वबारे अभिव्यक्ति दिएका थिए।

“कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छ, त्यो मुख्य कुरा होइन। मुख्य कुरा सुशासन सामाजिक न्याय र समृद्धिका पक्षमा हामीले कति राम्रो काम सुरु गर्छौँ त्यो मुख्य कुरा हो,” आफू सरकारको नेतृत्वमा रहँदा राम्रो कामको सुरुआत गर्न चाहेको दाबी गर्दै प्रचण्डले भनेका छन्।

त्यसअघि उनले माओवादी शान्ति प्रक्रियामा आएपछि आफूले चुनाव लडेका दुवै निर्वाचन क्षेत्रमा आफू दुई दिनको अन्तरालमा पुगेको भन्दै आगामी विसं २०८४ सालको निर्वाचनमा पार्टीको अवस्था सुधार्न नेता र कार्यकर्तालाई आग्रह गरे।

शुक्रवार रोल्पाको लिवाङमा पार्टीको सभालाई सम्बोधन गरेका प्रचण्ड शनिवार तत्कालीन काठमाण्डू निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्ने कीर्तिपुर पुगेका हुन्। प्रचण्डले विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन कीर्तिपुर समेत समेटिएको काठमाण्डू-१० र रोल्पा-२ दुवै स्थानबाट निर्वाचित भएका थिए।

कांग्रेस नेताहरूलाई प्रचण्डले के जवाफ दिए?

प्रधानमन्त्री प्रचण्ड

तस्बिर स्रोत, PM Press

शर्माका अनुसार प्रचण्डले आफूलाई सरकारबाट हट्न दवाब आएर त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरेका थिए।

“विगतमा पनि पाँच वर्ष कोही टिकेको छैन। मैले पनि पाँच वर्ष सरकार चलाउने होइन,” प्रचण्डको भनाई उद्धृत गर्दै शर्माले भने।

“तर अहिले कुनै खतरा आयो भनेर त्यसो भनेको होइन भन्ने कुरा उहाँले हामीसँग गर्नुभयो।”

प्रचण्डले सरकारमा पछिसम्म रहने कुरा सोचेर काममा ढिलो गर्न नहुने सन्दर्भमा आफूले त्यस्तो अभिव्यक्ति दिएको प्रस्टीकरण आफूहरूलाई दिएको कांग्रेस नेताको भनाई छ।

“गठबन्धनमा कुनै गम्भीर परिस्थिति वा असमझदारी आएर उहाँले त्यसो भनेको जस्तो हामीलाई पनि लाग्दैन। अहिले गठबन्धनमा त्यस्तो स्थिति पनि छैन,” शर्माले बीबीसी न्यूज नेपालीसँग भने।

प्रचण्डका प्रमुख सल्लाहकार हरिबोल गजुरेल पनि प्रचण्डको अभिव्यक्तिका पछाडि कुनै कुनै राजनीतिक घटनाक्रम नरहेको दाबी गर्छन्।

“काम गरिहाल्नुपर्छ भन्ने सन्दर्भमा त्यस्तो कुरा आएको होला। अहिले त्यस्तो परिस्थिति भएर बोल्नुभएको होला,” उनले भने।

‘सहज स्थिति छैन’

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मङ्गलवार कांग्रेस नेताहरूले भूकम्प पीडितका लागि पार्टीले दिएको राहात रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए

यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा उनको प्रमुख राजनीतिक सल्लाहकार रहेर काम गरिसकेका पूर्व मन्त्री चक्रपाणि खनाल प्रचण्डको यस्तो अभिव्यक्ति पछाडि प्रमुख तीन कारण रहेको बताउँछन्।

उनका अनुसार संसद्‌मा कम सिट सङ्ख्या भएको माओवादीलाई सरकारको नेतृत्व गुम्ने आशङ्का सधैँ भइरहन्छ।

“हामी कम सिट भएको तेस्रो पार्टी सरकारको नेतृत्वमा छौँ। ठूला पार्टीहरूलाई यो मन पर्ने कुरै भएन,” उनले भने।

तर अहिले प्रचण्डले व्यक्त गरेको चिन्ताको पहिलो कारण कांग्रेसभित्र देखिएको खटपट रहेको उनी बताउँछन्।

“अहिले कांग्रेसभित्र त्यति राम्रो स्थिति छैन। पार्टी तीन वटा गुटमा बाँडिएको छ,” उनले भने।

“हामीले कांग्रेससँग आलोपालोको कुरा गरेका छौँ। तर अहिले त्यसको सहमति गर्ने (शेरबहादुर) देउवाजी आफैँ पार्टीभित्र सहज अवस्थामा नभएको पनि स्थिति हो।,”

खनालका अनुसार दोस्रो कारण माओवादीले अघि सारेको सुशासन र भ्रष्ट्राचार विरोधी अभियानका हो। त्यसमा मुछिका अन्य पार्टीका प्रभावशाली नेताहरू कारण आफ्नो सरकारको स्थायित्वबारे प्रचण्डले पार्टी पङ्क्तिभित्र चिन्ता व्यक्त गर्ने गरेका छन्।

“उहाँले भ्रष्टाचार हटाउने र सुशासन कायम गर्ने अभियानको सुरुआत त गर्नुभयो। तर अलि कमजोर पार्टीले यो कुरा उठाउने अनि अरू ठूला दुई वटा पार्टी सरकारमा रहेका समयका विषय बाहिर आउने हुँदा उहाँलाई दवाब महसुस भएको छ,” खनालले थपे।

खनाल भ्रष्टाचारमा आरोपित भएका कतिपय व्यक्तिहरूको समर्थनमा प्रतिपक्षी नेकपा एमालेका नेताहरूले पनि सार्वजनिक रूपमै अभिव्यक्ति दिएको बताउँछन्। कतिपय माओवादी नेताहरूका अनुसार यसअघि कांग्रेस सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले पक्राउ गरेपछि कांग्रेसका केही नेताहरू पनि सरकारको नेतृत्वसँग असन्तुष्ट छन्।

उनीहरू त्यसलाई कोशी प्रदेशको राजनीतिसँग पनि जोडेर व्याख्या गर्छन्। जानकारहरूका अनुसार शर्मासँग निकट ठानिएका कांग्रेस नेता शेखर कोइरालाले कोशीमा माओवादीलाई सरकार बनाउन सहयोग नगरी एमालेको साथ लिएर आफ्नै क्षेत्रका नेतालाई मुख्यमन्त्री बनाएका थिए।

“तर उहाँहरूले कोशीको कुरालाई लिएर चिन्ता नगर्नुस्। हामी मिलाउँछौँ। गठबन्धन टुट्न दिँदैनौँ चाहिँ भन्नुभएको छ,” कांग्रेसका नेताहरूको भनाइबारे खनालले भने।

प्रधानमन्त्री प्रचण्ड

तस्बिर स्रोत, RSS

खनालका अनुसार तेस्रो चिन्ता अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने पक्षमा उभिएपछि प्रचण्डले आफूमाथि भू-राजनीतिक दवाव बढेको महसुस गरेका छन्।

प्रचण्डको चीन भ्रमणमा भएका सहमतिबारे थप छलफलका लागि चीनले उच्च पदस्थ नेताहरूको सट्टा तिब्बत हेर्ने सेक्रेटरीलाई पठाएको विषयलाई कतिपय कूटनीतिका जानकारहरूले उनलाई चीनले कम महत्त्व दिएको विषयमा रूपमा अर्थ्याएका थिए।

“ठूलो चासोका बीच हामीले जसरी एमसीसी पारित गर्‍यौँ त्यसले उत्तरलाई झस्काएको छ। दक्षिण पनि अमेरिकासँग त्यस्तो धेरै निकट होइन नि। त्यसैले उ पनि यसमा खुसी छैन जस्तो लागिरहेको छ,” उनले भने।

तर गत बिहीवार प्रधानमन्त्रीलाई भेटेका चिनियाँ नेता वाङ जुङजेङले त्यसबारेमा चासो राखे वा नराखेको बारेमा अधिकारीहरूले केही बताएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।