प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई तेस्रोपटक विश्वासको मत, निरन्तर खस्कँदो समर्थन

प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा बनेको पाँच दलीय नयाँ गठबन्धन सरकारले विश्वासको मत प्राप्त गरेको छ।
विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे।
बुधवारको मतदानमा २६८ सांसद् सहभागी थिए। एकजनाले 'मत दिन्न' भन्ने पक्षमा आफ्नो मत जाहेर गरे।
२०७९ सालको आमनिर्वाचनपछि १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।
त्यसयता निरन्तर उनी नेतृत्वको सरकार रहे तापनि तेस्रोपटक गठबन्धन र मन्त्रीहरू फेरिएका छन् र सोही अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदै आएका छन्।
यस सरकारको नेतृत्व गरेपछि पहिलोपटक २०७९ सालको २६ पुसमा प्रचण्डले त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए।
दोस्रोपटक गत वर्षको ६ चैतमा संसदमा २६२ सांसद सहभागी मतदानमा १७२ प्रतिनिधिसभा सदस्यले उनलाई विश्वासको मत दिएका थिए।
समर्थनमा को-को?


प्रचण्ड सरकारलाई समर्थन जनाएकाहरू मध्ये नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी, नेपाल बाहेक नागरिक उन्मुक्ति पार्टी समेत छ।
नेपाली (कांग्रेस), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी लगायतले सरकारलाई विश्वासको मत दिएनन्।

तस्बिर स्रोत, Reuters
प्रतिनिधिसभामा एमालेको ७६, अनि माओवादीको ३२ सिट रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जसपा नेपालको १२, नेकपा समाजवादीको १०, र नागरिक उन्मुक्ति पार्टीका ४ सिट रहेको छ।
प्रतिनिधिसभामा एमालेका कुल सांसदको सङ्ख्या ७९ रहेकोमा टोपबहादुर रायमाझी निलम्बित छन् अनि सुवास नेम्वाङ् को निधन भएको छ। सभामुख देवराज घिमिरेले समेत विश्वासको मतमा सहभागी हुँदैनन्।
तल्लो सदनमा नेपाली कांग्रेसका ८८ जना सांसद छन् तर टेकबहादुर गुरुङ भने निलम्बनमा छन्।
त्यसैगरी राप्रपाका १४, जनमत पार्टीका ६, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना सांसद छन्।
तेस्रोपटक विश्वासको मत

तस्बिर स्रोत, RSS
पहिलोपटक विश्वासको मत लिँदा संसदका १२ मध्ये १० दल र सबै स्वतन्त्र सांसद्ले विश्वासको मत दिएका थिए।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने प्रचण्डलाई मत दिएका थिएनन्। तल्लो सदनमा ती दलका एक-एक सांसद् छन्।
दोस्रोपटक विश्वासको मत लिँदा एमाले र राप्रपाले विश्वासको मत दिएनन् भने नेमकिपाका एक सांसद् तटस्थ बसेका थिए।
चुनावअघि नै गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादीबीच प्रधानमन्त्री बन्ने विषयमा कुरा नमिलेपछि पुसमा एमालेसहित अन्य दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
पछि प्रचण्डले फेरि एमालेसँगको सहकार्य तोडेर कांग्रेससहित चुनाव अघिको गठबन्धनलाई ब्युँताएका थिए।
तर यही फागुनमा पुन: नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेका हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








