मन्त्रालय बाँडफाँटपछि नयाँ मन्त्रीहरूको शपथग्रहण, नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा

शपथग्रहण समारोह

तस्बिर स्रोत, Office of the President

यसै साता नेकपा एमालेसँग गठबन्धन गर्दै नयाँ सत्ता समीकरण निर्माण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्का थप १६ सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

यसअघि ३ जना मन्त्रीहरूको शपथग्रहण सोमबार भएको थियो। थप मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएसँगै सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सहभागी भएका छन्।

नयाँ गठबन्धन निर्माण गर्ने क्रममा भएको ८ बुँदे सहमतिमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी भने मन्त्रीमण्डलमा सहभागी भइसकेको छैन।

कुन कुन दल सरकारमा सहभागी भए

सपथग्रहण समारोह

तस्बिर स्रोत, Office of the President

सत्तारूढ गठबन्धनका मुख्य दलहरूले सरकारमा पठाउने आफ्ना मन्त्रीहरूको टुङ्गो बुधवार लगाएका थिए।

सहमति अनुसार एमालेलाई आठ, माओवादी केन्द्रलाई पाँच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चार र जनता समाजवादी पार्टी- नेपाललाई दुई सीट दिने भनिएको थियो।

प्रधानमन्त्रीसँगको छलफलपछि नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी भएको छ।

सरकारमा आफ्ना दलको नेतृत्व गर्न लागेकामा नेकपा (एमाले)बाट पार्टी सचिव रघुवीर महासेठ छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीका तर्फबाट सभापति रवि लामिछाने छन्।

प्रधानमन्त्रीको दल माओवादी केन्द्रबाट पछिल्लो पटक उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठसहित केही नयाँ पुराना मन्त्रीहरू थपिएका छन्।

जसपा-नेपालले बुधवार पार्टी बैठक गरे तापनि मन्त्रीहरूको बारेमा टुङ्गो लगाइसकेको छैन। 

शपथग्रहण

तस्बिर स्रोत, Office of the President

अरू को-को बन्दैछन् मन्त्री?

नेकपा (माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाइएको छ। उपमहासचिव वर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार तथा सूचना प्रविधि), शक्तिबहादुर बस्नेत (ऊर्जा, जलश्रोत तथा सिँचाइ), हितबहादुर तामाङ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) मन्त्री बनेका छन्।

एमालेबाट महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्।

उक्त दलबाट पदम गिरी (कानून, न्याय तथा संसदीय मामिला), राजेन्द्रकुमार राई (खानेपानी), ज्वालाकुमारी शाह (कृषि तथा पशुपन्छी विकास), हरि उप्रेती (रक्षा), दामोदार भण्डारी (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री), भगवती चौधरी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक), बलराम अधिकारी (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण) मन्त्री बनेका छन्।

एमालेका महासेठ र अधिकारीबाहेक अन्य यसअघिको एमाले-माओवादी गठबन्धनमा पनि मन्त्री थिए।

शपथग्रहण नेपाल

तस्बिर स्रोत, Office of the President

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघिको एमाले-माओवादी समिकरणमा झैँ लामिछानेले उपप्रधान तथा गृह मन्त्रालय सम्हालेका छन्। उपसभापति डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्दै छन्।

उक्त दलबाट नयाँ अनुहारका रूपमा पहिलो पटक मन्त्री बनेका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नेकपा एकीकृत समाजवादीले भानुभक्त जोशीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएको छ।

२० सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अहिलेलाई आफैसँग राखेका छन्।

प्रचण्डको प्रस्तावमा एकीकृत समाजवादी 'सकारात्मक'

एकीकृत समाजवादी बैठक

तस्बिर स्रोत, CPN (US)

बुधवार सचिवालय बैठक गरेर नेकपा (एकीकृत समाजवादी) प्रचण्ड नेतृत्वको सरकारमा जान 'सकारात्मक' रहेको जनाएको थियो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री ‘सरकारको गठन, सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)को समान सहभागिता र भूमिका रहने प्रस्ताव गरेको’ बताउँदै त्यसलाई बैठकमा सकारात्मक रूपमा लिएको' बताएका थिए।

गण्डकी, बागमती प्रदेशमा सरकार बनाउन उक्त दलको भूमिका निर्णायक हुने र अन्य प्रदेशमा समेत बहुमत पुर्‍याउन सो दलको साथ चाहिने भएकाले प्रचण्ड-केपी ओलीले एकीकृत समाजवादीसँग बारम्बार वार्ता गरेका थिए।

सो छलफलमा एकीकृत समाजवादीलाई सङ्घमा दुई वटा मन्त्रालय दिइने कुरा भएको विवरणहरूमा जनाइएको छ।

एकीकृत समाजवादीले एउटा मुख्यमन्त्रीको समेत दाबी गरिरहेको बताइएको छ।

प्रदेशहरूमा समीकरण फेरिँदै

नयाँ गठबन्धन

तस्बिर स्रोत, PM Secretariat

बुधवार गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि त्यहाँ मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सरकार अल्पमतमा परेको छ।

एक दिन अघि त्यहाँ पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदबाट हटाएका थिए।

लुम्बिनी प्रदेशमा पनि बुधवार मुख्यमन्त्री डिल्ली चौधरीले माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिएसँगै दुई जना मन्त्रीलाई पदबाट हटाएका छन्।

सुदूरपश्चिम सरकारमा पनि माओवादीका मन्त्री हटाउने र उनीहरूले समर्थन फिर्ता लिने क्रम देखा परे तापनि लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सरकार अल्पमतमा परिसकेको छैन।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ। 

बुधवार थप के-के भए?

'वैकल्पिक समीकरणको प्रयास'मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधवार माधवकुमार नेपाललाई उनकै निवासमा भेटेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग बुधवार नै संयुक्त रूपमा देउवासँग छलफल गर्न लागेको बताइएको छ।

त्यसअघि रिपोटर्स क्लबमा पत्रकारहरूसँग बोल्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले संसदलाई आफूहरू प्रतिपक्षको बेञ्चमा बस्ने जानकारी दिएको बताएका छन्।

उनले सरकारबारे 'पर्ख र हेर' को नीति लिइएको बताउँदै भने: “हामीले भित्रभित्र बुझिरहेका छौँ... मदानी मच्चिरहेको छ, कसैका पनि मदानीबाट घ्यु निस्किरहेको अवस्था छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।