तालिबानद्वारा अफगान विश्वविद्यालयमा महिलाहरूले लेखेका पुस्तक प्रतिबन्ध

तस्बिर स्रोत, AFP via Getty Images
- Author, अली हुसैनी
- Role, बीबीसी अफगान
तालिबान सरकारले अफगानिस्तानको विश्वविद्यालय शिक्षा प्रणालीमा महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ। त्यसले मानव अधिकार र यौन उत्पीडनसम्बन्धी शिक्षणलाई समेत गैरकानूनी बनाएको छ।
तालिबानले "शरियाविरोधी र तालिबान नीति" का कारण भन्दै ६८० पुस्तकहरूलाई "चिन्ताजनक" ठहर्याएको छ। जसमध्ये "सेफ्टी इन केमिकल ल्याब्रोट्री" जस्ता शीर्षकसहित महिलाहरूले लेखेका झण्डै १४० पुस्तकहरू पनि समावेश छन्।
विश्वविद्यालयहरूलाई अब विभिन्न १८ विषयहरू पढाउन अनुमति नरहेको समेत भनिएको छ। ती विषय "शरिया सिद्धान्त र प्रणालीका नीतिसँग बाझिने" भएकाले त्यसो भनिएको एक तालिबान अधिकारीले बताए।
चार वर्षअघि सत्तामा फर्केयता तालिबानले ल्याएका कैयौँ प्रतिबन्धहरूको शृङ्खलामा आएको यो पछिल्लो आदेश हो।
यसै साता मात्र तालिबानको सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तहरूमा 'फाइबर-अप्टिक' इन्टरनेट प्रतिबन्ध लगाइएको थियो। अधिकारीहरूले त्यसलाई अनैतिकता रोक्नको लागि कदम चालिएको बताएका थिए।
महिलाहरूलाई थप मार
यी नियमहरूले दैनिक जीवनका विभिन्न पक्षहरूमा असर पारे तापनि विशेषगरी महिला र युवतीहरूलाई अप्ठ्यारोमा पारेको छ। अफगानिस्तानमा उनीहरूलाई विद्यालयमा कक्षा छभन्दा माथि पढ्न वञ्चित गरिएको छ।
सन् २०२४ को अन्त्यमा 'मिडवाइफरी' पाठ्यक्रमसमेत एकाएक बन्द हुँदा थप तालिमको लागि उनीहरूसँग रहेका अन्तिम विकल्पहरू समेत अवरुद्ध भएका थिए।
यतिखेर महिलासम्बन्धी विश्वविद्यालयका विषयसमेत निशानामा परेका छन्।
प्रतिबन्धित १८ विषयमध्ये छवटा विशेष गरी महिलासम्बन्धी छन्। त्यसमा लैङ्गिकता र विकास, सञ्चारमा महिलाको भूमिका र महिला समाजशास्त्र समावेश छन्।
तालिबान सरकारले अफगान संस्कृति र इस्लामिक कानुनको व्याख्या अनुसार महिला अधिकारको सम्मान गर्ने जनाएको छ।
तालिबानको 'स्वाभाविक कदम'

तस्बिर स्रोत, Reuters
पुस्तकहरूको समीक्षा गर्ने समितिका एक सदस्यले महिलाहरूले लेखेका पुस्तकमा प्रतिबन्ध लगाइएको पुष्टि गर्दै बीबीसी अफगानलाई "महिलाहरूले लेखेका सबै पुस्तकहरू पढाउन अनुमति नहुने" बताए।
तालिबानको पुनरागमन हुनुभन्दा अघि न्याय उपमन्त्री रहेकी जाकिया अदेलीका पुस्तकहरू समेत प्रतिबन्धित सूचीमा छन्। यस कदमबाट आफू अचम्ममा परेको उनले बताइन्।
"विगत चार वर्षमा तालिबानले गरेका कामहरूलाई विचार गर्दा उनीहरूले पाठ्यक्रममा परिवर्तनहरू लागू गर्ने अपेक्षा गर्नु अस्वाभाविक थिएन," उनले भनिन्।
"तालिबानको महिलाविरोधी मानसिकता र नीतिहरूलाई ध्यानमा राख्दा यो स्वाभाविक हो जहाँ महिलाहरू स्वयंलाई अध्ययन गर्ने अनुमति छैन, उनीहरूको विचार, दृष्टिकोण र लेखनलाई पनि दबाइन्छ।"
बीबीसी अफगानले हेरेका नयाँ दिशानिर्देशनहरू अगस्ट महिनाको अन्त्यमा जारी गरिएका थिए।
तालिबान सरकारको उच्च शिक्षा मन्त्रालयका उप-शैक्षिक निर्देशक जियाउर रहमान आर्युबीले विश्वविद्यालयहरूलाई लेखेको पत्रमा ती निर्णयहरू "धार्मिक विद्वान र विज्ञहरू" को समितिले गरेको जनाएका छन्।
किन यसो गरियो?
महिलाका पुस्तकका साथै यस प्रतिबन्धले इरानी लेखक वा प्रकाशकका पुस्तकहरूलाई लक्षित गरेको देखिन्छ।
पुस्तक समीक्षा गर्ने समितिका एक सदस्यले बीबीसीलाई बताए अनुसार यस अफगान पाठ्यक्रममा "इरानी सामग्रीको घुसपैठ रोक्न" तय गरिएको थियो।
अफगानिस्तानका सबै विश्वविद्यालयहरूलाई पठाइएका ५० पृष्ठको सूचीमा ६७९ नामहरू छन्। तीमध्ये ३१० इरानी लेखकहरूद्वारा लिखित वा इरानमा प्रकाशित छन्।
तर नाम उल्लेख नगर्ने सर्तमा बोलेका एक संस्थाका प्राध्यापकले उक्त खाडल पूर्ति गर्ने काम लगभग असम्भव रहने भन्दै चिन्ता व्यक्त गरेका छन्
"इरानी लेखक तथा अनुवादकका पुस्तकहरू अफगानिस्तानका विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीचको आधारभूत कडीको रूपमा काम गर्छन्। तिनलाई हटाउनाले उच्च शिक्षामा ठूलो शून्यता सिर्जना हुन्छ," उनले भने।
काबुल विश्वविद्यालयका एक प्राध्यापकले बीबीसीलाई बताए अनुसार यस्तो परिस्थितिमा उनीहरू तालिबान सरकारले अनुमति दिने-नदिने कुराको हेक्का राख्दै स्वयं पाठ्यपुस्तकका पाठ तयार पार्न बाध्य हुने बताए।
तर ती अध्यायहरू विश्वव्यापी मापदण्ड अनुसार तयार गर्न सकिन्छ वा सकिँदैन भन्ने प्रश्न यतिखेर अहम् छ।
बीबीसीले प्रतिक्रियाका लागि तालिबानको शिक्षा मन्त्रालयलाई सम्पर्क गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








