दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक सगरमाथाको शिखरमा, नयाँ विश्व कीर्तिमान

हरि बुढा मगर

तस्बिर स्रोत, Hari Budha Magar/Facebook

तस्बिरको क्याप्शन, सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका हरि सन् २०१० मा तालिबानको एम्बुसमा परेका थिए

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्।

यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्।

कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।

आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो।

“यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छन्,” मगरले आरोहणपछि अभिव्यक्त गरेको कुरा विष्टले उद्धृत गरे।

उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ।

‘साहसको प्रतिफल’

हरि बुढामगर

तस्बिर स्रोत, Hari Budha Magar/Facebook

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्।

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।

उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए।

सगरमाथातर्फ जानु अघि उनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘दुवै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो तर आँट गरे जस्तो सुकै कठिन काम पनि गर्न सकिँदो रहेछ।’

“यो मेरो सफलता विश्वभरका अपाङ्ग व्यक्तिको सफलता हो, नेपालको सपना हो। नेपाल आमाको काखमा हुर्केको मैले जवानी बेलायतको लागि व्यतीत गरेँ, अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ,” उनले आगामी योजनाबारे बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साहसिक खेलमा समेत रुचि राख्ने उनले हालसम्म मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसकेका छन्।

रेड लाइन
रेड लाइन

सपना साकार बनाउने बाटो यसरी खुलेको थियो

दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।

चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्।

बुढा मगरले भनेका थिए, "घुँडामाथिबाट नै खुट्टा नभएकामध्ये हालसम्म कसैले सगरमाथा चढ्ने प्रयास नै गरेका छैनन्। त्यसैले म पहिलो प्रयासकर्ता हो।"

विगतमा सरकारले लगाएको प्रतिबन्धका कारण आफ्नो तयारीमा केही ढिलाइ हुन गएको गुनासो गरेका उनले केही वर्षयता आरोहणबारे प्रशिक्षण लिँदै आएका थिए।

पाँच वर्षअघि नै उनले सगरमाथा चढ्ने योजना बनाएका थिए

तस्बिर स्रोत, Hari Budha Magar/Facebook

तस्बिरको क्याप्शन, पाँच वर्षअघि नै उनले सगरमाथा चढ्ने योजना बनाएका थिए

पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजना बनाएका मगरलाई कानुन बाधक बनेको थियो।

पर्वतारोहण सम्बन्धी तत्कालीन नियमावलीका अनुसार ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखा देख्न नसक्ने व्यक्तिले’ हिमाल आरोहण गर्न नपाउने व्यवस्था गरेको थियो।

तर पछि त्यो कानुनी वाधा हटेपछि उनलाई सगरमाथा आरोहणका लागि बाटो खुलेको थियो।

नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्ग प्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको हो।

सगरमाथा चढेपछि नेपालमा अपाङ्गता साक्षरतामा काम गर्ने उनको योजना रहेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपालतर्फबाट आरोहण गर्नका लागि ४७८ जनालाई अनुमति दिइएको नेपाली अधिकारीहरूले बताएका छन्।

अनुमति लिनेमध्ये सबैभन्दा बढी चीन र त्यसपछि अमेरिकाका पर्वतारोही छन्।