अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

अल्फ्रेड नोबेलको अर्धकदको मूर्ति

तस्बिर स्रोत, Reuters

अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागिएको हो।

"संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति" ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ।

यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्। त्यसले अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ।

यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्।

सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।

यसअघि कसले पाएका थिए?

२०२३: क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले

२०२२ः बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि

२०२१: डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि

२०२०: पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि

२०१९ः अभिजित बनर्जी, एस्टेर डुफ्लो र मिखाइल क्रेमरलाई “विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैलीका लागि

२०१८ः विलियम डी नोर्डहाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन बृहत् आर्थिक विश्लेषणमा एकीकृत गर्ने कार्यका लागि, तथा पोल रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणको एकीकृत प्राविधिक विकास गर्ने कार्यका लागि

२०१७ः रिचर्ड थ्यालरलाई व्यवहारवादी अर्थशास्त्रमा उनको योगदानको लागि

२०१६ः ओलिभर हार्ट र ब्याङ्ट थोलस्ट्रौमलाई करार सिद्धान्तमा उनीहरूले पुर्‍याएको योगदानका लागि

२०१५ः एङ्गस डीटनलाई खपत, गरिबी र कल्याणबारे उनको विश्लेषणका लागि

सन् २०२४ को नोबेल पुरस्कार ककसले पाए?

चिकित्साशास्त्र : भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन

भौतिकशास्त्र : जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन

रसायनशास्त्र : डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर

साहित्य : हान काङ

नोबेल शान्ति पुरस्कार : जापानी संस्था 'निहन हिडन्क्यो'

अर्थशास्त्र : डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रोविन्सन

अल्फ्रेड नोबेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ

कहाँ हुन्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।