अमेरिकी विदेशमन्त्रीको भाषणपछि युरोपेलीहरूले किन फेरे राहतको सास

पढ्ने समय: ३ मिनेट

म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी विदेशमन्त्रीले जलवायु परिवर्तन, आप्रवासन तथा स्वतन्त्र व्यापार नीतिहरूलाई लिएर पुन: युरोपेली देशहरूको तीखो आलोचना गरेका छन्।

तथापि यसपालि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युरोपको एक महत्त्वपूर्ण सुरक्षा सम्मेलनमा आएर गरेको भाषणपश्चात् सम्मेलनस्थलमा 'राहतको सास' फेरिएको बीबीसीका सुरक्षा मामिला संवाददाता फ्र्याङ्क गार्डनरले उल्लेख गरेका छन्।

पोहोरकै त्रास

गत वर्षको म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी राष्ट्रपति जेडी भान्सले गरेको सम्बोधनलाई युरोपेली नेताहरूले अझै बिर्सिएका छैनन्।

त्यतिखेर भान्सले युरोपलाई गरेको तीखो आलोचनाको पृष्ठभूमिमा यसपटक अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेशमन्त्री मार्को रुबियोले के भन्लान् भनेर निकै व्यग्रताका साथ हेरिएको थियो।

गार्डनर भन्छन्, "यसपालि चाहिँ रुबियोको भाषणको मुख्य सन्देश भनेको अमेरिका अझै पनि युरोपको साझेदार बन्न चाहन्छ भन्ने नै रह्यो।"

वाशिङ्टनले युरोपेली देशहरूसँगको साझेदारीलाई 'पुनर्ताजगी' गर्न खोजेको रुबियोले बताए।

अमेरिकाले युरोपसँगको सम्बन्ध कायम राख्न चाहेको नभइ अन्त्य गर्न खोजेको पनि उनले भने।

"अझै पनि युरोप र अमेरिकाबीच धेरै विमतिहरू छन् तर आधारभूत रूपमा मलाई लाग्छ रुबियोले गत वर्ष जेडी भान्सले पुर्‍याएका केही चोटलाई निको पार्न खोजे," गार्डनरले उल्लेख गरेका छन्।

आप्रवासन बारे अमेरिकाको तीखो टिप्पणी

शनिवारको सम्मेलनलाई सम्बोधन गर्दे रुबिओले, उनकै शब्दमा, 'आम आप्रवासन' को चर्को आलोचना गरे र त्यसका कारण पश्चिमा देशहरूले 'धेरै मूल्य चुकाउनु परेको' बताए।

पश्चिमा देशहरूले 'अभूतपूर्व आम आप्रवासन' खुला गरेको र त्यसले उनीहरूको भविष्य खतरामा पारेको रुबिओले बताए।

सन् १९८९मा बर्लिन पर्खाल भत्किएपछि सीमारहित विश्व बनाइएको उनले औँल्याए। तर त्यसलाई 'मूर्खतापूर्ण विचार' भन्दै त्यस्तो विचार मानिसको स्वभाव र इतिहास विपरीत रहेको उनले बताए।

"यो गल्ती हामीले सँगसँगै गर्‍यौँ," उनले भने। अब अगाडि बढ्नका निम्ति 'नविकरण तथा पुनर्निर्माण' कार्य गर्ने अमेरिकी योजना रहेको उनले बताए।

"यो कार्य एक्लै गर्नु परे पनि गर्न हामी तयार छौँ। तर हामी चाहन्छौँ कि यो काम सँगसँगै होस्," उनले भने।

आफूहरू एकै सभ्यता-पश्चिमा सभ्यता-को अंश रहेको भन्दै उनले युरोप र अमेरिका आर्थिक एवं सांस्कृतिक रूपले जोडिएको बताए।

रुबियोले जलवायु परिवर्तन तथा स्वतन्त्र व्यापारका विषयमा पनि पश्चिमा जगतले गलत नीति अङ्गिकार गरेको बताएका छन्।

अरू देशहरूले तिनको अर्थतन्त्रमा लगानी गर्दै गर्दा पश्चिमा जगतले चाहिँ आफ्नो 'सार्वभौमसत्ता' नै अन्यत्र दाउमा राखेको उनले भने।

त्यस्तै जलवायुको क्षेत्रमा पनि प्रतिस्पर्धीहरूले तेलमा लगानी गरिरहँदा पश्चिमा देशहरूले आफ्नै मानिसहरू गरिब हुने नीतिमा लगानी गरेको उनले भने।

स्टार्मरले के भने?

रुबिओ पछि बोल्दै यूकेका प्रधानमन्त्री किअर स्टार्मरले यूकेले युरोपेली युनियनसँग अझ गहिरो सम्बन्ध चाहेको भनेका छन्।

युरोप 'लड्नका निम्ति' पनि तयार हुनु पर्ने भन्दै उनले उत्तरी एटलान्टिक तथा हाइ नर्थ क्षेत्रमा यसै वर्ष यूकेले क्यारिअर स्ट्राइक ग्रुप अर्थात् युद्धपोतसहितका नौसैनिक लडाकू पानीजहाज परिचालन गर्न लागेको बताए।

उनले युरोप 'आफ्नै दुई खुट्टामा' उभिनु पर्ने बताए।

'स-साना चिन्ता' पन्छाएर अनि 'अझ गहिरा सम्बन्ध'को जगमा 'थप युरोपेली नेटो' निर्माण गरेर यसो गर्न सकिने उनले बताए।

"भिन्न मानिसहरू सँगसँगै शान्तिपूर्ण बाँच्न सक्छन्," भन्ने देखाएर यसको आधार निर्माण गर्न सकिने स्टार्मरले बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले युरोपसँगको सैन्य सन्धि नेटोका बारेमा अपनाउँदै आएको नीतिको प्रतिक्रिया स्वरूप उनले त्यसो भनेको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।